दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

जुम्ला । जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । 

चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेच्नुभएको छ । उहाँले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेच्नुभएको हो । 

सृजनशील फलफूल नर्सरी चलाउँदै आउनुभएका उहाँले भन्नुभयो “हुम्लाको  सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ ।  मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।”

उहाँको स्याउ नर्सरीबाट वार्षिक चार लाखसम्मको आम्दानी हुने गरेको छ । रोकायाको स्याउका बिरुवा गुणस्तरीय रहेको भन्दै विभिन्न ठाउँबाट माग आएको उहाँ दाबी गर्नुहुन्छ । जुम्लाबाट हवाई जहाजमार्फत स्याउका बिरुवा हुम्लामा पुर्‍याउने गरिएको छ । 

जुम्लाबाट नेपालगञ्ज र नेपालगन्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा हुम्ला जाने गरेको रोकायाले बताउनुभयो। उहाँले भन्नुभयो, “स्याउका प्रतिबिरुवा ७७ रुपैयाँसम्म पर्ने गरेको छ ।” रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा  बेच्ने गरेको उहाँले बताउनुभयो ।

४९ हजार बिरुवा निर्यात 
​​​​​​​जुम्लाको स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाम ,अर्घाखाँची, हुम्ला, कालिकोट र जाजरकोटसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

जुम्लाबाट बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भन्नका लागि  कृषि विकास कार्यालयले सिफारिस दिने गरेको बागवानी शाखाका प्रमुख सुष्मा बुढाले बताउनुभयो। उहाँका अनुसार यस वर्ष मात्र ४९ हजार स्याउ र ओखरका बिरुवा जुम्लाबाट निर्यात भएका छन् ।  

 

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : २९ बजे