दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

सिड्नी । अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । 

कोरोना भाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रा सम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो । 

अष्ट्रेलियालीहरू र अरू केहीलाई गत वर्षको अन्त्यबाट फर्कन अनुमति दिइएको थियो । तर, अधिकांश विदेशी फर्किन पाएका थिएनन् ।

सयौँ मानिस उडानमार्फत आउन थालेपछि सिड्नी विमानस्थलमा आज मानिसहरूको भावपूर्ण पुनर्मिलन भएको थियो । आज साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ । 

“सरकारले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ”, सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ व्यवस्था अनुसार खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नुपर्ने छैन । तर, खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ । उनीहरू वेस्टर्न अस्ट्रेलिया बाहेक सबै राज्यमा आवतजावत गर्न पाउनेछन् । 

अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेशको अनुमतिसँगै पर्यटकहरूको प्रवाह बढ्ने विश्वास गरिएको छ । सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटकले अस्ट्रेलियाको भ्रमण गरेका थिए ।

अस्ट्रेलियामा कोभिडका कारण अहिलेसम्म करिब ४,९०० जनाको मृत्यु भएको छ । एजेन्सी

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : ०८ बजे