सत्ता गठबन्धनले एमसीसीको विरोध गर्नेलाई बैठकमा बोलाउनै छाड्यो  

काठमाडौं – सत्तारुढ गठबन्धन दलका शिर्ष नेताले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णयले ती दलहरुबीच आन्तरिक किचलो बढाएको छ । 

सत्तारुढ दलका शिर्ष नेताहरुले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरी बाहिरिए लगत्तै दलका अन्य नेताहरु निर्णयको विरोधमा उत्रेका छन् । 

शुक्रबार विहान बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको बैठकले एमसीसी आज संसदमा टेबुल गर्ने निर्णय गरेको थियो । 

आजको बैठकमा सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय जनमोर्चालाई बोलाएन । त्यस्तै एमसीसीको कडा विरोध गर्दै आएका गठबन्धन दलका केही नेताहरुलाई पनि बोलाइएको थिएन । शिर्ष नेताहरुले पार्टी भित्र छलफल नै नगरी संसदमा टेबुल गर्ने निर्णय गरेका थिए । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताए ।  

‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ,’ न्युज कारखानासँग श्रेष्ठले भने ।

एमसीसी टेबुल गर्ने गठबन्धनको निर्णयप्रति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि आपत्ति जनाएका छन् । उनले विदेशीको दबाबमा पार्टीहरु झुकेर एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको बताए ।  

उनले संविधान विपरित गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको आरोप लगाए । 

‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेबुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले न्युज कारखानासँग भने । 
शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उनले स्मरण गरे । 

‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबुल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भने । 

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार विहान बसेको बैठकमा आफूलाई नबोलाइएको उनले जनाए । 

पाँच दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन् । 

एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले न्युज कारखानालाई जानकारी दिए । 

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’ 

केसी एमसीसीको विपक्षमा छन् । उनको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १२ : ३७ बजे