ईसापूर्व पाँचौँ शताब्दीको उत्तरार्द्धतिर बज्जीसंघ र मगधबीच भएको झगडाले युद्धको रूप लिएपछि लिच्छविहरूको काठमाडौँ खाल्डोमा आगमन भएको मानिँदै आएको छ । नेपालको प्रामाणिक इतिहासको सुरुआत पनि लिच्छविहरूको शासनकालदेखि भएको देखिन्छ । त्यसैले लिच्छवि काल नेपालको इतिहासमा महत्त्वपूर्ण मानिन्छ । उनीहरू दक्षिणतिरबाट कुनै ठुलो दलबलका साथ उपत्यका आएको भन्ने ठोस प्रमाण अहिलेसम्म भेटिएको छैन । त्यसैले उनीहरू एकै पटक नभएर भिन्न भिन्न समयमा विभिन्न समूहमा आए कि जस्तो देखिन्छ । उपत्यकाको पारम्परिक संस्कृतिमा उनीहरूको अन्तरघुलनले पनि यसैतर्फ सङ्केत गर्दछ ।
अपेक्षाकृत रूपले वैशाली जस्तो वैभवशाली गणसंघबाट आएका हुनाले उनीहरू सुसंस्कृत थिए भन्ने अनुमान गर्न सकिन्छ । यहाँ आएर बसोबास गरेको केही वर्षपछि मात्र उनीहरूले राज्यमाथि हस्तक्षेप गरेको जस्तो देखिन्छ । भौगोलिक हिसाबले उनीहरू विदेहतिर कमला नदीको वरपरबाट उपत्यकामा आएको अनुमान गर्न सकिन्छ । विदेहमा पनि अन्तिम राजा करालजनकपछि पौराणिक राज्य छिन्नभिन्न भएकोले त्यहाँका मानिसहरू पनि बिस्तारै उपत्यकातिर आएको भन्ने अनुमान गर्न पनि गर्न सकिन्छ । विदेह पनि पछि बज्जीसंघ र मगधमा रहेको उल्लेख इतिहासमा भेटिन्छ । यस अगावै सम्भवतः जनकका भाइ कुशध्वजले उपत्यकामा मिथिलाबाट आएर आफ्नो राज्य विस्तार गरेको भन्ने पौराणिक कथन पनि भेटिन्छ ।
बलियो मानिएको लिच्छवि गणराज्यलाई हत्याउन अजातशत्रुले मगधको विद्रोही बनाएर वर्षाकारलाई वैशालीमा शरण लिन पठाएको थियो । वर्षाकारले वैशालीका सबै भेदहरू गोप्य रूपले गुप्तचरहरूमार्फत मगध दरबारमा पुर्याउँथ्यो । शत्रु राज्य मगधबाट विद्रोह गरेर बज्जी गणसंघमा शरण लिन वैशाली आएको मगधको पूर्व मन्त्रीलाई लिच्छविहरूले कुनै शङ्का गरेनन्, बरु सम्मानजनक स्थान दिएर राखे । वैशालीको विश्वासपात्र बनेर उसले बज्जी गणराज्यभित्रका गणहरूमा समेत अन्तर्विरोध सिर्जना गर्न सफल भएको थियो । उसकै योजना र समय चयन अनुसार वैशालीमाथि मगधको आक्रमण भएको थियो । बज्जी गणतन्त्रको सबलता र सम्पन्नताको रहस्य बुझ्न उसले बुद्धसँग भेटघाट गरेको थियो । राजतन्त्रभन्दा गणराज्यका पृष्ठपोषक बुद्धले सामूहिक निर्णय, आपसी एकता र सामाजिक सद्भावका कारण बज्जी सङ्घ अजेय रहने बताएका थिए । वर्षाकारले गणसंघका तिनै आधारहरू कमजोर पार्न षड्यन्त्र ग¥यो र सफल पनि भयो ।
बज्जी गणराज्य र मगधबीच ई.पू.४८४ देखि ४६८ सम्म १६ वर्ष लामो युद्ध भएको थियो । अन्तिम १० दिन निर्णायक युद्ध भएको थियो । कतिपय इतिहासकार अजात शत्रुको मृत्यु ई.पू ४७५मा भएर उसको छोरा उदयिन राजा भएको मान्दछन् । यो मितिले मगधमा उदयिन राजा भएपछि लिच्छवि—मगध युद्ध समाप्त भएको देखिन्छ । धेरैले अजात शत्रुका पालमा यो युद्ध सकिएको मान्दछन् । हारको अपमान सहन नसकेर राजा चेतकले इनारमा कुदेर आत्महत्या गरेको उल्लेख पाइन्छ । यो आक्रमण देखेर लिच्छवि गण वरपरका मानिसहरू पनि अशान्तिको भयले उत्तरतिर बसाई सर्न थालेका थिए भन्ने अनुमान हुन्छ । उत्तर बाहेकका अरू दिशाहरूमा मगधको वर्चस्व रहेकाले पनि उनीहरूका लागि उत्तरतिरको पहाडी भ–भूभाग सुरक्षित थियो । यदि लिच्छविहरूले युद्ध जितेको भए भारतीय प्रायद्वीपमा एकात्मक राजतन्त्रीय शासन प्रणाली कमजोर हुने निश्चित भयो । त्यसो नहुँदा पूर्वीय स्वरूपको गणतन्त्रको अस्तिव नै सकियो ।
डा.जगदीशचन्द्र रेग्मीले प्राचीन नेपालको राजनीतिक इतिहासमा गोपाल वंशावली उद्धृत गर्दै नेपालमा शासन गर्ने पहिलो राजखलक भनेर गोपाल वंशको उल्लेख गरेका छन् । यो वंशका आठ राजाहरूले ५०५ वर्ष राज्य गरेका थिए । त्यसपछि महिषपाल वंशका तीन राजाले १६१ वर्ष, तीस जना किरात राजाहरूले १७०१ वर्ष नेपाल उपत्यकामा राज्य गरेका थिए । त्यसपछि लिच्छवि शासन सुरु भएको थियो । नेपालका विभिन्न वंशावलीहरू र पौराणिक आख्यानहरूमा मतैक्यता भने देखिँदैन ।
पशुपतिको जयदेव द्वितीयको शिलालेखमा जयदेव प्रथमभन्दा तेइस पुस्ताअघि लिच्छवि राजा सुपुष्प थिए र उनी पुष्पपुरमा जन्मेका थिए भन्ने उल्लेख छ । यो पुष्पपुर अहिलेको भारत भूमि तिरै थियो भन्ने धेरैको अनुमान छ । नेपालमा लिच्छवि शासनको सुरुआत कसले गरे भन्ने अनेक मतहरू देखिन्छन् । किरात वंशावलीमा किरात राजा योकोहोङ (गस्ती)लाई परास्त गरेर भूमिवर्माले लिच्छवि राज्यको जग बसालेको भनेको छ भने गोलराज वंशावलीले निमिषले योकोहाङलाई हराएको उल्लेख गरेको छ । केहीले यिनै सुपुष्पदेवले भारतमा नभई नेपालमा राज्य गरेका थिए भन्दछन् । यिनले नै पशुपतिनाथको मन्दिर बनाएको भन्ने उल्लेख पनि भेटिन्छ । यो मत बाझिँदा कतै सुपुष्प भन्ने लिच्छवि वंशमा दुई राजा पो थिए कि भन्ने शङ्का उत्पन्न हुन्छ । नेपालमा लिच्छविका पहिला राजा यिनै हुन् कि भन्ने पनि देखिन्छ । यसपछि तेइसौं पुस्तामा जयदेव प्रथमको नाम देखिन्छ । जयदेव प्रथम र सुपुष्प बीचका राजाहरूको नाम कतै देखिँदैन । इतिहास अन्वेषक धनबज्र बज्राचार्यले मानदेव प्रथमभन्दा बाह्र पुस्ता अगाडिका जयदेव प्रथम भएको अनुमान गरेका छन् ।
काठमाडौँ उपत्यकामा बुद्ध धर्मको प्रभावलाई विस्तार गर्न लिच्छविहरूको योगदान महत्त्वपूर्ण रहेको थियो भन्ने देखिन्छ । त्यस बेलाको शक्तिशाली बज्जी गणतन्त्रमा बुद्धप्रति मानिसहरूको अपार श्रद्धा थियो । मगधका राजा अजातशत्रुले भीषण आक्रमण गरेपछि बज्जी सङ्घको प्रमुख गण लिच्छविका मानिसहरू उत्तरतिर भागेका थिए । जैन ग्रन्थ निरयावलीका अनुसार मगध नरेश तथा अजात शत्रुका पिता बिम्बिसारले लिच्छवी राजा चेटककी बहिनी चेल्लनासँग बिहे गरेका थिए । भारतको हालको विहार राज्यको उत्तरी भागतिर बज्जी सङ्घ अवस्थित थियो र वैशाली गणसंघको राजधानी थियो । त्यसभित्र लिच्छवि, विदेह, जातुक जस्ता अन्य ८ वटा लोकतन्त्रात्मक राज्यहरू थिए । लिच्छविहरूले आफूसँगै वैशालीबाट बौद्धप्रतिको श्रद्धा पनि लिएर नेपाल उपत्यका आएका थिए । लिच्छवि शासनकालमा बौद्ध र हिन्दु मठ मन्दिरहरूको निर्माण गरिएको थियो । लिच्छविहरूले नै उपत्यकामा हिन्दु र बौद्ध संस्कृतिबीच समन्वयात्मक संस्कृतिको विकास गर्न महत्त्वपूर्ण योगदान गरे ।
काठमाडौँ उपत्यकामा ईसाको पहिलो शताब्दीभन्दा अगाडि नै गोपाल, महिषपाल, किरात, लिच्छवि र अन्य स्थानीय समूहहरूको मिश्रित संस्कृतिको विकास भइसकेको थियो भन्न सकिन्छ, जसले नेवारी संस्कृतिका रूपमा विकास गर्दै आयो ।
धार्मिक विविधताका हिसाबले गोपालहरूको वैष्णव पन्थ, किरातहरूको प्रकृति पूजन, शैवपंथ, लिच्छविहरूको बौद्ध र हिन्दु आस्थाले उपत्यकाको धार्मिक परिपाटीमा सहिष्णुतापूर्वक एकीकृत हुने मौका पायो । जैन ग्रन्थहरूमा ईसापूर्व ३०० तिर जैनमुनि भद्रबाहु र बुद्धको जीवनकालमा भन्ते आनन्द पनि उपत्यका आएको बौद्ध साहित्यमा उल्लेख गरिएको पाइन्छ । यसले त्यसबेला ती सम्प्रदायका अनुयायीहरू यहाँ रहेको देखिन्छ । पछि आएर गोर्खा साम्राज्यले समेत युद्ध जितेर पनि उपत्यकाको संस्कृतिलाई आत्मसात गर्दै आफ्नो सांस्कृतिक राजनीतिक पहिचानलाई नेपालमा रूपान्तरण गर्यो ।
प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार १० : ४९ बजे
प्रतिक्रिया