सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमसीसीमा पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा, आज निकास निस्केला त ?

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा पाँच वटा धारणा देखा परेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनमा एमसीसी बिना सर्त पारित गर्ने, एमसीसी टेबुल गर्न दिने तर संशोधन बिना अनुमोदन नगर्ने, एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिने लगायतका धारणा निर्माण भएका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले जे निर्णय लिए, त्यसै अनुसार निर्णयमा पुग्ने र एमसीसीका विषयमा चरणबद्ध आन्दोलनलाई निरन्तरता राख्नेसहित पाँच वटा धारणा देखा परेका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली काँग्रेस बिना सर्त एमसीसी संसद्मा टेबुल गरेर अनुमोदन गराउने पक्षमा उभिएको छ । गत साता सम्पन्न काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार सरकारको नेतृत्वकर्ता काँग्रेस १६ फागुन भित्र एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट देखिएको छ ।

“गठबन्धन टुटे टुटोस् तर एमसीसी पारित गराउने पक्षमा काँग्रेस छ”, गठबन्धन बैठकमा सहभागी काँग्रेस महामन्त्री गगन थापाले पार्टी धारणा सार्वजनिक गर्दै आउनुभएको छ । त्यसका लागि सत्तारुढ गठबन्धनसँग यसअघि दुई पटक घनिभूत छलफल गरेको काँग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि सहयोगको आग्रह गरेको अवस्थामा पुनः आज पाँच दलीय गठबन्धनको बैठक आव्हान गरेको छ ।

यसअघि एमसीसीका बारेमा ‘हार्डलाइनर’ को रूपमा देखा परेको नेकपा (एस) शनिवारको स्थायी कमिटी बैठक पछि भने केही हदमा लचिलो भएको छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसीसीलाई संघीय संसद्मा बिना अवरोध टेबुल गर्न दिने तर संशोधन बिना अनुमोदन भने नगराउने पक्षमा स्थायी कमिटीले निर्णय लिएको जानकारी गराइसकेका छन् ।

“एमसीसीलाई संसदीय प्रक्रिया अघि बढाउन टेबुल गर्न दिने पक्षमा नेकपा सले निर्णय गरेको छ”,  प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो, “तर, बिना संशोधन एमसीसी अनुमोदन गराउने पक्षमा पार्टी भने रहेको छैन ।” उहाँका अनुसार सम्झौताको संशोधन भएपछि मात्रै एमसिसी अनुमोदन हुने नेकपा (एस)को बटमलाइन कायमै छ ।

नेकपा माओवादी केन्द्रले एमसीसीलाई ‘जर्वजस्ती’ टेबुल गरिएमा सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । गत साता सम्पन्न माओवादी संसदीय दलको बैठकले गरेको निर्णय प्रधानमन्त्री देउवालाई अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जानकारी समेत गराइसक्नुभएको छ । “एमसीसी टेबुल गरिए माओवादी गठबन्धन सरकारबाट बाहिरिन्छ, यो हामीलाई मान्य हुन्न”, प्रमुख  सचेतक देवप्रसाद गुरुङले पार्टीको औपचारिक निर्णय यसअघि नै सुनाई सक्नुभएको छ  । जुन निर्णयबाट माओवादी पछि हटेको अझैसम्म सार्वजनिक भएको छैन, यद्यपि माओवादी प्रधानमन्त्री देउवाले बोलाउनुभएको बैठकमा भने आज सहभागी हुदैँछ ।  

उता, तराई मधेस केन्द्रित जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भने माओवादी केन्द्र र नेकपा (एस)ले गर्ने निर्णयका आधारमा एमसीसीका पक्ष वा विपक्षमा उभिने निष्कर्षसहित गठबन्धनको बैठकमा सहभागी भइरहेको छ ।

“माओवादी र नेकपा (एस)ले जे निर्णयमा पुग्छन्, हामी त्यसै आधारमा निर्णय लिनेछौ”,  जसपाका नेता मोहम्मद इस्तियाक राईले भन्नुभयो, “हामी अझै पनि गठबन्धनमा एकमत होस भन्नेमा प्रतीक्षारत छौँ ।” माओवादी र नेकपा (एस)को निर्णय अनुसार पार्टी निर्णय हुने भन्दै जसपा नेपालले जस÷अपजसको भारी गठबन्धन सँगसँगै बोक्ने निष्कर्षसहित धारणा सार्वजनिक गरिरहेको छ ।

उता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने गठबन्धन छाडेर एमसीसीको विरोधमा सडक आन्दोलनमा होमिएको छ ।“‘खसी देखाएर फर्सी खुवाउन लागेको” भन्दै असन्तुष्ट जनमोर्चा मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत ६ साना वामपन्थी दलसँग मिलेर सडक आन्दोलनमा होमिएको छ । साना वामपन्थी दलसँग कार्यगत एकता गरेर सडक आन्दोलनमा होमिएको जनमोर्चा गठबन्धनका पछिल्ला बैठकहरूमा अनुपस्थित हुँदै आएको छ ।

प्रधानमन्त्री देउवाले आज १०ः०० बजेका लागि बोलाउनुभएको बैठकपछि एमसीसीका कारण गठबन्धनको भविष्य के हुने ? भन्ने सम्मका टीकाटिप्पणीका राजनीतिक विश्लेषकहरूले गरिरहेका छन् । 

 

  

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ४७ बजे