गण्डक नहर सिँचाइ प्रणालीको तेस्रो ढोका खोलाउँदै योजना प्रमुख

नवलपरासी । गण्डक परियोजनाकै इतिहासमा भारतीय नहरभन्दा पहिले नेपाली नहरमा पानी छुटाउन सफल परियोजना प्रमुख रनधिर शाह नेपाली नहरको तेस्रो ढोका खोल्न लागि पर्नुभएको छ । 

नेपाली किसानलाई पर्याप्त पानी प्रवाह गर्नका लागि उहाँ नहरको तेस्रो ढोका खोलाउन लाग्नुभएको हो । यो तेस्रो ढोका नहर बनेदेखि नै बन्द अवस्थामा रहेको छ ।

विगत वर्षमा नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली अन्तरगत मुहानमा तीन वटा ढोका रहेको थियो । नहरमा एउटा ढोकाबाट मात्र पानी प्रवाह हुँदै आएको थियो । दोस्रो ढोका केही वर्षपछि उपभोक्ताहरूले जबरजस्ती फुटालेको भए पनि तेस्रो ढोका अहिलेसम्म पनि पक्की पर्खाल लगाई बन्द अवस्थामा रहेको थियो । 

भारतीय पक्षले भारतीय नहरमा पानी लैजान थालेपछि मात्र नेपाली नहरमा पानी छाड्ने परम्परालाई तोड्दै यो वर्ष आयोजना प्रमुख शाहले नेपालीलाई आवश्यक पर्दा जतिबेला पनि पानी पाउनुपर्ने भन्दै भारतीय पक्षसँग संवाद अघि बढाउनुभयो । 

“कुनै वर्ष भारतलाई पानी नै चाहिँदैन भने नेपाललाई पनि पानी चाहिँदैन भन्ने हुँदैन’ उहाँले भन्नुभयो, “नेपाली किसानलाई जतिखेर पानी आवश्यक पर्छ, त्यतिखेर भारतीय पक्षले नेपाली नहरमा पानी छाड्नुपर्छ ।”

दुई पक्षीय हितका लागि बनेको गण्डक बाँध परियोजना पानीका लागि भारतको भर किन पर्ने ? भारतीय किसानलाई आवश्यक परेको बेला भारतले पानी लैजाओस्, नेपाली किसानलाई आवश्यक परेको बेला नेपाली किसानले पानी पाउन भन्ने मान्यता स्थापित गर्नुपर्छ भनेर उहाँले भारतीय पक्षसँग संवाद गर्न थालेपछि भारतीय पक्षले यो कुरा स्वीकार गर्न बाध्य भएर पानी छाडेको उहाँको भनाइ थियो । 

“हिउँदे बालीका लागि भारतीय किसानभन्दा एक महिना पहिला नेपाली किसानलाई पानीको आवश्यकता पर्दछ । तर, भारतले नेपालकै लागि भनेर रेगुलेटर सञ्चालन गर्ने कार्य गरेको थिएन’ उहाँ थप्नुभयो, ‘तर यो वर्ष महिना दिन अगाडि नै नेपाली नहरमा पानी प्रवाह गराउन सफल भएका छौँ ।”

दुई वटा ढोकाले मात्र नेपाली नहरमा पानी पर्याप्त नभएकोले अहिले तेस्रो ढोका फुटालेर सञ्चालनमा ल्याउनका लागि ढोका फुटाल्ने र रेगुलेटर जडान कार्य हुने प्रमुख शाहले बताउनुभयो । 

मूल नहरको ढोकासँगै सिँचाइ प्रणालीका अन्य स्थानका शाखा—प्रशाखामा पनि ढोका रेगुलेटर जडानका लागि तीन करोडमा ठेक्का भइसकेको छ । मूल ढोकामा रेगुलेटर जडानका लागि सामग्री खसालिसकिएको छ । अब तीन वटै ढोकाबाट पानी प्रवाह गरिने छ । यसो गर्दा नेपाली किसानलाई पानी प्रवाहमा समस्या कम हुँदै जानेछ । तीन वटै ढोकाबाट पानी प्रवाह गर्दा पानीसँगै बालुवा(सिल्ट) समेत आउने हुँदा सिल्ट रिजेक्टरका लागि पनि पानी जम्मा गर्ने पोखरी निर्माण तथा उपकरण जडानका लागि योजना बनाई सिँचाइ मन्त्रालयमा पठाइसकिएको छ ।

सिँचाइ, विद्युत् तथा नदी नियन्त्रण गरी डुबान कटान रोक्ने उद्देश्यले वि.सं.२०१६ सालमा नेपाल र भारतबीच दुई पक्षीय गण्डक सम्झौता भएको थियो । 

नेपालका लागि असमान सम्झौता भए पनि सम्झौता अनुसार पनि भारतीय पक्षबाट विद्युत् तथा सिँचाइका लागि पानीमा नियन्त्रण रहँदै आएको छ । डुबान कटानका विषयमा पनि चासो लिएर भारतीय पक्षसँग काम हुन नसकेको नेपाली किसानहरूले गुनासो गर्दै आएका छन् । 

गण्डक बाँधबाट भारतले १२ – १५ हजार क्युसेक पानी प्रवाह हुने पूर्वी र पश्चिमी नहर सिँचाइ प्रणाली बनेको छ । 

नेपालका लागि नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणालीमा तीन सय क्युसेक पानी प्रवाह हुने खालको नहर संरचना तथा ढोका बनाइएको छ । त्यसमा पनि अहिलेसम्म दुई वटा ढोका मात्र सञ्चालन हुँदै आएका थिए । विद्युतका लागि १५ मेगावाट क्षमताको गण्डक जलविद्युत केन्द्र बनेको छ । तर, त्यसमा पनि पानीको नियन्त्रण भारतीय पक्षमै निहित भएका कारण क्षमता अनुसारको विद्युत् उत्पादन हुन सकेको छैन ।

पीडित नेपाली किसानहरूले बेला बेलामा गण्डक परियोजना विरुद्ध आन्दोलन तथा सङ्घर्षका कार्यक्रम पनि गर्दै आएका छन् । 

भारतीय पक्षले विभिन्न समयमा सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तर पालना नगर्ने प्रवृत्ति कायम रहेको छ भने नेपाली पक्षबाट पनि गण्डक परियोजना प्रमुखका रूपमा आउने अधिकृतलाई सरुवा गर्ने, आवश्यकता अनुसार बजेट उपलब्ध नगराउने जस्ता कारणले पनि नेपाली किसान पीडित बनेका छन् । 

नेपाली किसानको समस्याका लागि परियोजनाभित्रै भू आर्जन तथा सम्पर्क अधिकृत सहितको कार्यालय पनि खोलिएको छ । 

सम्पर्क अधिकृत नेपाल सरकारले नियुक्ति गर्ने तर तलब सुविधा भारतले दिने हुँदा नियुक्त भएर आउने कर्मचारी पनि नेपाली किसानको हितभन्दा भारतीय अधिकृतलाई खुसी पारेर आफ्नो सुविधा लिनैमा व्यस्त देखिन्छन् । लाखौँका कर्मचारी नेपाल सरकारले पाल्न सक्ने तर डेढ दर्जन लाईजन कर्मचारीलाई भारतीय पक्षमा निर्भर हुने नीति हटाउनु पर्ने स्थानीयले माग गर्दै आएका छन् । 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : ३७ बजे