सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट

बनियानी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । 

आर्थिक वर्ष २०७८/७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । 

ती विद्यालयका लागि कूल रू १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ । छनोटमा परेका विद्यालयमध्ये तीन विद्यालयमा प्रयोगशाला, ३० मा चार कोठे कक्षाकोठा निर्माण, २१ मा दुई कोठे कक्षाकोठा निर्माण र ३४  आइसिटी कक्षा सञ्चालनका लागि बजेट छुट्याइएको हो । ती विद्यालयमा आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय रु छ लाख ५० हजार, ल्याबका लागि प्रतिविद्यालय रु १० लाख, दुई कोठे कक्षाकोठा निर्माण गर्न प्रतिविद्यालयका लागि रु १८ लाख र चार कोठे कक्षाकोठाका लागि प्रतिविद्यालय रु ३६ लाख बजेट विनियोजन गरिएको छ ।

छनोटमा परेको मेचीनगरका सात विद्यालयमध्ये कक्षाकोठा निर्माणका लागि तीन वटा, ल्याब एक र आइसिटीका लागि तीन विद्यालय छनोटमा परेका छन् । 

त्यस्तै बिर्तामोडका पाँचमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, झापा गाउँपालिका र गौरीगञ्जका चार–चारमध्ये कक्षाकोठा र आइसिटी दुई–दुई, बाह्रदशीका पाँचमध्ये कक्षाकोठा र आइसिटीका लागि दुई–दुई तथा ल्याबका लागि एक विद्यालय छनोटमा परेका छन् । 

यस्तै शिवसताक्षीका नौ विद्यालयमध्ये कक्षाकोठाका लागि पाँच, आइसिटी चार, हल्दिबारीका दुई विद्यालयलाई कक्षाकोठा निर्माणका लागि बजेट विनियोजन गरिएको छ । 

गौरादहमा नौ विद्यालयमध्ये कक्षा कोठाका लागि पाँच र आइसिटीका लागि चार, कचनकवलका तीन विद्यालयमध्ये कक्षा कोठाका लागि दुई र आइसिटीका लागि एक, कमलका १० विद्यालयमध्ये कक्षा कोठाका लागि सात र आइसिटीका लागि तीन विद्यालयलाई बजेट उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

यस्तै अर्जुनधाराका आठ विद्यालयमध्ये कक्षा कोठाका लागि चार, आइसिटीका लागि तीन र ल्याब सञ्चालनका लागि एक विद्यालय छनोटमा परेका छन् भने बुद्ध शान्तिका पाँच विद्यालयमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई विद्यालय छनोटमा परेका छन् ।

भद्रपुरका पाँच विद्यालयमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, दमकका सात विद्यालयमध्ये कक्षा कोठाका लागि पाँच र आइसिटीका लागि दुई र कनकाईका पाँच विद्यालयमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई विद्यालय छनोटमा परेको कार्यालयले जनाएको छ ।

बुद्धशान्ति–५ होक्सेस्थित त्रिभुवन मावि बुद्ध शान्तिका प्रधानाध्यापक कुमार आचार्यले चार कोठे कक्षाकोठा निर्माणका लागि विद्यालय छनोटमा परेको बताउनुभयो । उहाँले यसबाट विद्यार्थीको पठनपाठन आउने बताउँदै भन्नुभयो, “विद्यालयमा कक्षा कोठाको अभाव हट्नुका साथै सामुदायिक विद्यालयप्रतिको आकर्षण पनि बढ्छ ।”

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख राजकुमार विकले यहाँका विद्यालयमा कक्षाकोठा अभावको समस्यालाई हटाउन कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । “स्थानीय तहले पनि सामुदायिक विद्यालयमा कक्षाकोठा बनाइरहेका छन्”, उहाँले भन्नुभयो, “भवन अभावमै खुला आकाशमा बसेर पढ्नुपर्ने अवस्था छैन ।” रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : १० बजे