एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

नलेखिएको इतिहास पढेपछि : केही जानकारी, केही शंका र केही प्रश्न !

भैरहवा जेलमै ‘बन्दी चेतना पुस्तकालय’खोलेर आफूलाई अध्ययनशील प्रमाणित गर्ने नेता हुन् राधाकृष्ण मैनाली । २०७३ सालमा प्रकाशन भएको उनको पछिल्लो पुस्तक हो नलेखिएको इतिहास । सो पुस्तकमा उनले झापा विद्रोह,जेल जीवनका १४ वर्ष ८ महिना र राजनीतिमा क–कसले केके गरे आफू समीपका सबै ब्यक्तिका नालीबेली लेखेका छन् ।

‘लुटिएका दुई थुँगा फूल’र‘बन्दी रहर,मेरो अतीत मेरो सपना नामक संस्मरणात्मक पुस्तकहरू प्रकाशन भइसकेका छन् । लुटिएका दुई थुँगा फूलमा  पञ्चायती शासकले हत्या गरेका नेपाली काङ्ग्रेसका कर्मठ कार्यकर्ता क्याप्टेन यज्ञबहादुर थापा र ४१ वर्षमा सहादत प्राप्त भीमनारायण श्रेष्ठको जीवनी, उनीहरूका साहस र त्यागका कथा लेखेका छन् भन्ने कुरा यही पुस्तकमा हल्का जानकारी गराएका छन् । 

आफू नै झापा काण्डका नाइके भएको प्रमाणित गर्न उनले हजारौँ दलिल पेस गर्दै त्यसको श्रेय लिने प्रयास गरेको पुस्तक पढेपछि सजिलै थाहा हुन्छ । हुन त उनले पुस्तकको भूमिकामा नै भनेका छन्–यसमा जति मेरा नराम्रा कुराहरू छन् ती सबै मेरा कमजोरी हुन् । यसले के प्रमाणित गर्दछ भने पुस्तकमा सबै राम्रा कुराहरू मात्र छैनन् । उनकै स्वीकारोक्तिका कमजोरी के हुन् ? जान्ने बुझ्नले प्रकाश पारिदिनु पर्ने काम हो । 

राणाकालीन समयमा जन्मिएका उनले वामपन्थी राजनीतिमा हात हाल्दा पाएका दुःखका कुरा र झापा विद्रोह सुरु गर्दाका कठिन, दर्दनात्मक अवस्थाहरूलाई नजिकबाट केलाएका छन् । माटोले मलिलो तर कर्तव्यले कठोर भूमि रहेछ झापा भन्ने कुरा उनीहरूले २०४८ सालको संसदीय निर्वाचनमा प्राप्त उपलब्धिलाई केलाएर प्रमाणित गर्न खोजेका छन् । झापालाई कम्युनिष्टको किल्ला हो भन्ने प्रमाण जुटाएका छन् ।  ​​​​​​​

२०२८ को जेठबाट सुरु गरेर २०३० सालको कार्तिक महिनासम्म हतियारसहित उठेको झापा विद्रोहमा उनीहरूले सातजना सामन्त जमिनदारमाथि एक्सन गरेका छन् भने आफूतिरका ११ जना योद्धाहरूलाई तत्कालीन पञ्चायती शासकहरूले हत्या गरेका कुरा लेखेका छन् । त्यति बेला उनीहरूलाई न कम्युनिष्ट सिद्धान्त,ज्ञान र व्यवहार बारेमा थाहा थियो न उनीहरूसँग कुनै हतियार चलाउने ज्ञान,कला,सीप थिए । उनीहरू भारतको नक्सबारीका क्रान्तिकारीहरूसँग सङ्गत गर्न पुगेको र कहिले उनीहरूलाई नै आतङ्ककारी रहेको भनेर ठहर गर्थे । उनीहरूका बीचमा सोही विषयलाई लिएर अन्तरद्वन्द्व चल्थ्यो । 

त्यति बेला नै उनीहरूले भारतीय कम्युनिष्ट पार्टीका नेता चारु मजुरदारलाई भेट्न लुकिलुकी भारततिर गएको तर भेट्न नसकेको कुरा समेत उल्लेख गरेका छन् । सन् १९७२ को जुलाई १६ मा चारुलाई तत्कालीन भारतीय सरकारले सुराकीको भरमा पक्रेर जेलमा राखेको,सोही जुलाई २८ मा उनले जेलमा नै आत्महत्या गरे भन्ने भारतीय सरकारले  प्रचार गरेपनि हत्या भएको धेरैले ठान्दछन् । त्यति बेला ५३ वर्षीय चारु मजुमदार मुटु र उच्च रक्तचापका बिरामी थिए । 

नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन झापा विद्रोहलेसहयोग गरेको धेरैले बुझ्छन् तर त्यो विद्रोह बेढङ्गको थियो, व्यक्ति हत्या थियो भन्ने कम्युनिष्टहरु समेत थिए । हतियारले मान्छे ढाल्नु पर्छ भन्नेहरू र विचारले मान्छेलाई गाल्नुपर्छ भन्नेहरू थिए र अहिले पनि छन् कम्युनिष्ट पार्टीमा । तैपनि झापा विद्रोह नेपाली वामपन्थी राजनीतिमा कोसेढुंगो हो भन्नेहरूको सङ्ख्यामा समेत कमी छैन । 

२०३५ साल पौष ११ गते सीपी मैनाली महासचिव रहने गरी ११ सदस्यीय नेपाल कम्युनिष्ट(माले) गठन गरिएको ऐतिहासिक परिवेश पुस्तकमा समावेश गरेका छन् राधाकृष्णले । हुन त पुष्पलाल महासचिव रहने गरी २००६ साल वैशाख १० गते नै नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । झापालीहरूले उक्त पार्टीलाई कागजी पार्टी ठानेकाले आफूहरूले कार्यान्वयनमुखी कम्युनिष्ट पार्टी बनाउने भनेर नेकपा (माले) बनाएको  पुष्टि गर्ने अनेक तथ्यहरू पेस गरेका छन् । 

झापा विद्रोहकै क्रममा अर्थात् नेकपा(माले) बन्नु अघि नै २०२९ साल फागुन २१ गते सुखानी काण्ड तत्कालीन पञ्चायतले घटाएको अति नै जघन्य नरसंहारकारी घटना थियो । त्यस घटनामा सहादत प्राप्त गर्नेहरू रामनाथ दाहाल,नेत्र घिमिरे,वीरेन राजबंशी,कृष्ण कुइँकेल र नारायण श्रेष्ठ थिए । उनीहरूको कुर्बानीले गर्दा नै झापालीहरूलाई नेकपा (माले) गठन गर्न र तत्कालीन शासक विरुद्ध जेहाद छेड्न प्रेरणा मिलेको हुनुपर्छ भन्ने पुस्तक पढेपछि थाहा हुन आउँछ । 

माथि उल्लेखितसहिदहरुका सन्दर्भमा राधाकृष्णले नलेखिएको इतिहास पुस्तकमा व्यक्ति परिचय गराएका छन् । पुस्तकमा जेल जीवनका रमाइला तथा गहन पक्षहरुका बारेमा मिठासपूर्ण तरिकाले व्याख्या गरेका छन् । कहिलेकाहीँ उनले अरूलाई खुइलाउनका निम्ति अक्षर र लेख सीपको सहारा लिएका छन् । यो देख्दा पक्षपाती भएका हुन् कि भन्ने शंका लाग्छ । 

माओले भनेका छन्–शंका गर तर षड्यन्त्र नगर । तर,मैनालीले अरूलाई ढाल्ने षड्यन्त्र नगरेकै कारणले धेरैबाट उनी ढालिएका छन् । पुस्तक पढेपछि थाहा हुन्छ । देशको पाँचपटकसम्म मन्त्री बनेका राधाकृष्ण मैनालीले राजाको प्रत्यक्ष शासनमा मन्त्री हुन जानु भूल हो भनेर प्रायश्चित गरेका छन् । भनिन्छ नि, उग्र क्रान्तिकारी दक्षिणपन्थी धारमा पतन हुन्छ भनेर । कतै राधाकृष्णको हालत त्यस्तै भएको त होइन भन्नेहरुले खोट लगाउने ठाउँ छन् । झापा विद्रोहका नायक(सो विद्रोहका सचिव) पछि दरबारमा हाजिर हुन पुग्नुलाई कतिसम्मको स्खलन मान्ने ?तर कुरा स्पष्ट लेखेका छन् । बेइमानी गरेका छैनन् । 

सो पुस्तकको पेज नम्बर १७२ मा उनी लेख्छन् –दासदुंगा काण्डमा केपी कै हात थियो भन्नेहरू पनि छन् । तर,मलाई उनको हात छ भन्ने विश्वास रत्तीभर छैन । आफ्नै सहकर्मीप्रति केपीले त्यो तहको हर्कत गरेका हुँदै होइनन् । 

यो अनुच्छेद पढेपछि राधाकृष्ष्णसँग केही कुरा सोध्ने रहर जागेको छ । कहिलेकाहीँ पत्रकारितामा स्रोत लुकाउने नाममा आफैले मनगढन्ते पात्र खडा गरेर समाचारलाई पुष्टि गर्न खोजिन्छ । भनिन्छ–कहिलेकाहीँ देखेर नि केही देखिँदैन,नलेखेर पनि धेरै लेखिन्छ । बोलेर पनि केही बोलिँदैन तर मौन बस्दा पनि धेरै बोलिन्छ । 

तपाईँ आफैले लेख्नु भएको छ–बगुवा पानी शुद्ध हुन्छ,डुलुवा मान्छे बाठो हुन्छ । हो ! तपाईँ डुलुवा नेता हो । त्यही भएर बाठो पनि ।  झापा विद्रोहको नायक हो,माले पार्टीको नेता हो,एमाले भएपछि ठुलो नेता ।२०५४ साल फागुन २१ गते माले बनेपछि नि झनै ठुलो नेता हो । २०५८ फागुन ४ गते एमालेमा समाहित भएपछिको पनि जिम्मेवार नेतै हो । राजाको शासन कालमा समेत शिक्षा मन्त्री भएर देश खाएर शेष पल्टिएको नेता हो । चित्त बुझेर वा नबुझेर माओवादीमा केन्द्रीय सल्लाहकार बनेर नेता भएको सत्य नै हो । फेरि चित्त बुझेर एमालेमा फर्किनु भएको, तर जिम्मेवारहीन नेता हो । यति डुलेर घुमेर,बाठो भएर फर्किनु भएको तपाईँ राधाकृष्ण मैनालीले इमानदार भएर भन्नुस् त दासढुंगा काण्डका नाइके को हुन सक्दछन् ?

नेपालको कम्युनिष्ट इहिासका बारेमा जान्न इच्छुकहरुलाई नलेखिएको इतिहास काफी छ । मिति प्रमाणित होलान्, तर  घटनाको विषयमा अन्य पुस्तकहरूको सन्दर्भ लिनुपर्ने हुन सक्छ । पुस्तकमा सीपी मैनाली,झलनाथ खनाल,माधव नेपाल,प्रदीप नेपाल,मदन भण्डारी,जीवराज आश्रितका बारेमाभन्दा तुलनात्मक रुपमा केपी ओलीका बारेमा धेरै कुरा लेखिएका छन् । 

जेलमा टीवी र अल्सरले थलिएर हड्डी र करङ्गमात्र देखिन्थे । दिसापिसाव गर्न सक्दैनथे । मैले आफै उनको दिसा धोइदिन्थेँ । नुहाइ धुवाइपछि शरीरमा तेल घसिदिन्थें । कहिलेकाहीँ बाडुलीसँगै ह्वाल्ल ह्वाल्ल रगतै वान्ता गर्थे । हामीले घरबाट आएको पैसा बचाएर केपीलाई दैनिक अण्डा खुवाएर तङ्ग्राएका हौं । मित्रताको दरिलो प्रमाण यो भन्दा अरु कुनै हुन्छ र ? पेज नम्बर ७३ मा राधाकृष्णले केपीका बारेमा यति भावनात्मक कुरा लेखेका छन् । पुस्तकमा पढ्दा आजका प्रधानमन्त्री केपी यिनै हुन् र जस्तो लाग्छ । आरकेले अझ थप्छन्–केपीलाई त्यस्तो बेलामा पनि खुर्सानी टोक्नै पर्ने, घिउ नभई नहुने । सिद्धान्तसँग खाना खान सकिँदैन,स्वादसँग मात्र खान सकिन्छ भन्थे रे केपीले ? केपीले यो पुस्तक यतिबेला पढेका भए के सोचे होलान् ?

जेलमा यति माया गर्ने राधाकृष्णलाई केपी ओली देशका वर्तमान प्रधानमन्त्री र पार्टीका अध्यक्ष हुँदा पार्टीमा वा कुनै राजकीय पद किन दिँदैनन् ? हुन त राजनीतिमा सधैँ कहाँ लेनदेन हुन्छ र ? राजनीति त सेवा हो भनेको सुनिन्छ । राधाकृष्ण मैनाली आफू नेता भइसक्दा केपी ओली झापाको घैलाडुवा आदर्श माविमा रामनाथ दाहालको घरमा सेवा गरी पढ्दै थिए । कहाँ सम्भ्रान्त आरके मैनाली, कहाँ अरुको घरमा शरण लिएर पढेका केपी तुलना नै हुन्थेन । कहाँ झापा विद्रोहका पहिलो सचिव,नेता आरके, कहाँ दोस्रो चरणको सचिव केपी ओली ?उमेर,योग्यता र नेतृत्वले गर्दा उनीसँग सायदै तुलना होला । 

त्यही भएर सीपी,आरके र केपी झापाली हौं भन्ने गर्व गर्छन् तर एक आपसमा प्रतिद्वन्द्वी समेत मान्छन् भन्ने पुस्तक पढेर थाहा पाइन्छ । ओलीप्रतिको आवेग कडा छ पुस्तकमा । सीपीले केपीको कुरा सुन्न नचाहने कुरा पनि पढ्न पाइन्छ । झलनाथले महासचिव पद किन छाडे भन्ने रहर लाग्दो ठट्यौली पढ्न जोक्सको अरु किताब किन्न पर्दैन यो पढेपछि । 

कहिलेकाहीँ यो पुस्तक पढिरहँदा कुनै वंशावली पढेको त छैन वा कसैको आलोचनात्मक कृति त पढेको छैन भन्ने मनमा डर लागिरहन्छ । तैपनिआरकेको पुस्तकमाकम्युनिष्ट आन्दोलनबारे पढिरहेको छु भन्ने आत्म गौरव लाग्छ । नेपाली कम्युनिष्ट आन्दोलनका टुटफुट,द्वन्द्व,रस्साकस्सी,हिलो छ्यापाछ्यापका बयान समेत यो पुस्तकमा पढ्न पाइन्छ । 

माओवादी आन्दोलनका नेता प्रचण्ड,मोहन बैेद्य,बाबुराम भट्टराईलाई मात्र होइन, शेरबहादुर देउवा,रामचन्द्र पौडेल,गणेशमान, गिरिजा र किसुनजीका किस्सा समेत पढ्न सकिन्छ पुस्तकमा । जनआन्दोलनताका आएर मनमोहन,साहना प्रधान,निर्मल लामाका बारेमा पनि प्रशस्तै पढ्न पाइन्छ । गणेशमानसँग आरकेको निकटतम सम्बन्ध देखिन्छ । 

२०३५ सालको चैत्र १२ गते सीपी मैनालीको नेतृत्वमा तोडिएको नख्खु जेलका बारेमा धेरै कुराहरू प्रदीप नेपालका रचनाहरूबाट थाहा पाएकै थियौँ । सीपीसँगै १५ जना जेलब्रेक गरेर भागेको ऐतिहासिक घटनाले धेरैलाई उमङ्ग दिने गर्दछ । गोलघरमा बस्दा संस्कृति संरक्षणका लागि देउसी—भैलो खेलेको,सेलरोटी खाएको,दलसिंहबाट फर्सीको तरकारी पकाउने सीप चोरेको,दुई हात चौडाइ र १२ हात लम्बाइको कृषि कर्म गर्न दिने बारीमा जेलरले प्याजका बेर्ना किन निःशुल्क दिने रहेछन् भन्ने रहस्यमय कुरा बुझ्न भने किताब नै पढ्नु पर्ला । 

जे होस् । आरकेले आफूले नलेखेका इतिहास लेखेका छन् । आफ्नो आत्मकथा लेखेका छन् । आफूलाई भक्तपुरे मूला बनाएर लेखेका छन् । आफ्नो बयान गर्न चुकेका छैनन् । सम्पादकहरूले समेत अति नै मिहिनेत गरेका छन् । भाषालाई मिठास बनाइदिएका छन् । सलल बग्ने कथा बनाइदिएका छन् । 

निषेधाज्ञाका बेला घरमै पुस्तक उपहार दिई पढ्न उत्प्रेरणा दिने मनोरोग विशेषज्ञ डाक्टर मनोज ढुङ्गाना र पुस्तक लेखेर दुनियाँलाई नेपाली कम्युनिष्ट आन्दोलनप्रति कौतूहल जागृत बनाउने लेखक एवम् नेता राधाकृष्ण मैनाली दुवैलाई धन्यवाद छ । ​​​​​​​

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  २ : ५५ बजे