सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

प्रजातन्त्र दिवस : लोकतान्त्रिक जीवन शैली र राष्ट्रिय स्वाभिमानका लागि प्रेरणादायी बनोस्

आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस हो ।  वि.स.२००७ साल फागुन ७ मा प्राप्त गरेको प्रजातन्त्रको सम्झनामा हामी यस दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आइरहेका छौँ । यसो गरेर हामीले विगतको कहाली लाग्दो जहानियाँ शासन तन्त्रका विरुद्ध सहादत प्राप्त गर्नुहुने अमर सहिदहरूप्रति सम्मान गरिरहेका छौँ । 

प्रजातन्त्र दिवस मनाइरहँदा हाम्रा ती वीर पुर्खाका योगदानको स्मरण र सम्मान गरिरहेका छौँ । मुलुकवासीको नागरिक हक अधिकारका लागि हाँसी हाँसी मृत्युवरण गर्ने गङ्गालाल, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त चार सहिदहरू, मृत्युदण्डको विकल्पमा चार पाटा मुडेर चार भञ्ज्याङ् कटाइएका ज्युँदा सहिद टङ्कप्रसाद आचार्यहरूका योगदानहरूको सदा स्मरण गरिरहेका छौँ । 

हामीलाई हेक्का हुनुपर्छ, प्रजातन्त्र प्राप्तिको त्यस अभियानको त्यहाँ सम्मको यात्रामा नेपाल आमाका अनेकौँ त्यागी सन्तानले आफूलाई सगौरव संलग्न गराएका थिए । प्रजातन्त्र प्राप्तिको लामो सङ्घर्षका सबै योद्धाहरूलाई सम्झना र सम्मान गर्न हामीले यस दिनको सम्झना गर्नुपर्दछ र गरिरहेका छौँ । 

अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेका छौँ । २००७ साल फागुन ७ मा प्राप्त गरेको प्रजातन्त्रभन्दा हामीले यतिबेला अभ्यास र उपभोग गरिरहेको राजनीतिक व्यवस्था उन्नत छ । तर, त्यति बेलाको अवस्थालाई अहिलेको अवस्थासम्म दाँजेर हेर्ने हो भने त्यतिबेला प्राप्त गरेको प्रजातान्त्रिक उपलब्धिको महत्त्व बुझ्न सकिन्छ । अहिलेको जस्तो सञ्चार, पूर्वाधार, यातायातको सुविधा नहुँदा, मानवअधिकारका पक्षमा अहिले जस्तो आवाज उठाइदिने अन्तर्राष्ट्रिय मित्रहरू नहुँदा निरङ्कुश परिवारतन्त्रसँग लड्नु चानचुने विषय थिएन । तर पनि हाम्रा वीर पुर्खाले निरङ्कुश पारिवारिक जहानियाँ शासनलाई घुँडा टेकाएको बहादुरीपूर्ण उपलब्धिका रूपमा यस दिनको विशेष महत्त्व रहेको छ । 

हामीले राजनीतिक व्यवस्थाका रूपमा सङ्घीय गणतन्त्र र प्रणालीका रूपमा लोकतन्त्र प्राप्त गरेका छौँ । यो व्यवस्था र प्रणाली राजनीतिमा मात्र सीमित हुने विषय होइन । यसलाई राजनीतिक र विचारको स्वतन्त्रताको उपयोग विरोध र समर्थनका नारा—जुलुसमा मात्र सीमित गर्नुहुँदैन । सकारात्मक सोच, सद्भाव, सम्मान र समानताको माध्यमका रूपमा ग्रहण गर्नुपर्दछ । ठुलो सङ्घर्ष र बलिदानबाट प्राप्त यो व्यवस्था र प्रणालीलाई सदुपयोग हामीले सामाजिक न्याय, समानता र समृद्धि प्राप्त गर्नुपर्ने छ । 

राष्ट्रिय प्रजातन्त्र दिवसबाट हामीलाई थप एकताबद्ध हुने प्रेरणा लिनुपर्दछ र सबैले आफूmलाई जिम्मेवार बनाउने प्रण गर्नुपर्दछ । अहिलेको लोकतान्त्रिक गणतन्त्रको राजनीतिक जग २००७ सालको प्रजातन्त्र हो । 

विभिन्न कारणहरूले राजनीतिक व्यवस्था तथा प्रणालीहरूमा परिवर्तन हुनु स्वाभाविक हो, तर प्रजातन्त्र—लोकतन्त्रका अन्तर्वस्तु मुलुकको समृद्धि र जनताको हित हो, राज्यका स्रोतमा सबैको पहुँच र अवसरमा समानता प्राप्त हुनु लोकतन्त्रको वास्तविक उपलब्धि हो ।

राजनीतिक व्यवस्थाको रूपमा प्राप्त गरिएको लोकतन्त्रलाई सार्थक र समृद्ध बनाउन हामी सबैले लोकतान्त्रिक आचरणलाई आत्मसात् गर्नुपर्ने हुन्छ । आपसी विश्वास र सहयोगको भावनाले सिङ्गो समाजलाई लोकतान्त्रिक बनाउन सक्दछ । जननेता मदन भण्डारीले भन्नुभएको छ, समाज, दल र राज्य सबैमा लोकतन्त्र हुनुपर्दछ, अर्थात् सामाजिक जीवनको सबै अङ्ग लोकतान्त्रिक हुँदा मात्र सिङ्गो समाज लोकतान्त्रिक समाज बन्न सक्दछ ।  

सबै नेपालीहरूको साझा आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यो विषय अर्थतन्त्रमा मात्र लागू हुने विषय होइन; शिक्षा, स्वास्थ्य, मनोविज्ञान, आचरण र सिङ्गो जीवनशैलीमा लागू हुने विषय हो । जसरी लोकतन्त्र जीवन जीवनका सबै पक्षमा महत्त्वपूर्ण छ, समृद्धि र सुखको विषय पनि सर्वाङ्गीण विषय हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सन्देशमा ‘प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने र जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत’ मानिनु महत्त्वपूर्ण छ । 

लोकतन्त्रका दुई वटा पक्ष छन्, एउटा राजनीतिक अधिकारहरू प्राप्ति, रक्षा, विकास र उपयोग हो भने अर्को, राष्ट्रिय हितहरूको संरक्षण र सम्वद्र्धन हो । प्रजातन्त्रका विषयमा चर्चा गरिरहँदा राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि गरिएका आन्दोलनहरूमा योगदान गर्नेहरूप्रति उत्तिकै सम्मान र श्रद्धा गरिनुपर्दछ ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले उल्लेख गर्नुभएको ‘२००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको’ विषय सान्दर्भिक छ । 

प्रजातन्त्र—लोकतन्त्रलाई सत्ता प्राप्तिको दाउपेच र सडक आन्दोलनमा पोखिइरहने विषयका रूपमा नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न तथा जीवनशैली र सोचलाई लोकतान्त्रिक बनाउन सदुपयोग गरौँ । 

लोकतन्त्र—प्रजातन्त्र, राष्ट्रिय हित र स्वाभिमानका लागि समर्पित सबैप्रति साँचो सम्मान हुनेछ । प्रजातन्त्र दिवसका अवसरमा हामी सबैले यही प्रेरणा प्राप्त गर्न सकौँ । प्रजातन्त्र दिवसका अवसरमा सबैलाई शुभकामना !

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : ०७ बजे