सडक यातायात क्रमशः सहजतातर्फ

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको निर्णायक बैठक’ सुरु भएको छ । 

एमसीसीका विषयमा सहमति जुटाउन बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले कुनै निर्णय लिन नसकेपछि आज पुनः बस्ने बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकमा पनि एमसिसी सम्झौताका सम्बन्धमा सहमति जुट्ने सम्भावना भने न्यून रहेको छ ।

यसअघि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको थियो । 

बिहीबारको बैठकमा प्रतिनिधिसभाको बैठक बिना व्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्ने बारेमा छलफल भएको थियो । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्व पङ्क्तिलाई अनुरोध गर्नुभएको थियो।

कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा हुनुहुन्छ ।  तर फागुन १६ गतेभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले सत्ता गठबन्धनमा दौडधुप बढेको छ ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । 

 

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : ४२ बजे