सडक यातायात क्रमशः सहजतातर्फ

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : एमसीसी अब पछि धकेल्न मिल्दैन 

काठमाडौँ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) लाई संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति बन्ने अवस्था न्यून बन्दै गएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आफ्नो पुरानै अडानमा टसकामस भएपछि सहमति टाढिएको हो । 

“आजको बैठकमा पनि प्रचण्डले एमसीसी अनुमोदन सङ्घको निर्वाचनपछि सारौँ भन्नुभयो । उहाँले कुनै पनि अवस्थामा अहिलेको संसद्बाट अनुमोदन गर्नु नहुने धारणा राख्नुभयो,” बालुवाटार स्रोतले बतायो। 

जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेका कारण अब पछि धकेल्न नमिल्ने पुरानै अडान दोहोर्‍याउनुभएको थियो। 

“हाम्रो पार्टीले निर्णय गरिसकेको छ, अब पछि हट्न सकिँदैन । भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन्छ” प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । 

सरकारले बुधवार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको थियो । प्रतिनिधिसभा बैठकअघि देउवा, प्रचण्ड र नेकपा एस (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने बताएपछि प्रधानमन्त्री देउवा पछि हट्नुभएको थियो । त्यसपछि बिहीबार बिहान बसेको बैठकमा पनि देउवा र प्रचण्डबीच सहमति जुट्न सकेन । 

एमसीसीका विषयमा बिहीबार बेलुकी पाँच बजे सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच बैठक बस्दै छ । 

एमसीसीलाई संसद्बाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेको छ । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा काँग्रेस एक्लिएको छ । काँग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा हुबहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् । 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : ४९ बजे