दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

तमानको ढाका कपडाले पाएन बजार

गलकोट । तानमा बुनेको ढाका कपडाको विशेषता बेग्लै किसिमको हुन्छ । यसको महत्त्व नबुझ्दा ढाकाप्रति स्थानीयवासीको खासै आकर्षण छैन  । त्यसको प्रत्यक्ष प्रभाव तमान गाउँका महिलालाई पर्न गएको छ ।

चार वर्षदेखि ढाकाका कपडा उत्पादन गर्दै आएका तमानखोला गाउँपालिका–३ तमानगाउँका महिलाले यसको बजारीकरणमा समस्या भएको बताएका छन् ।

उद्यमीले उत्पादन गर्दै आएका ढाकाले बजार पाउन नसकेको हो । सुरु–सुरुमा स्थानीयवासीले चासो दिएर खरिद गरे पनि पछिल्लो समय ढाका कपडा बिक्न छाडेको छ । उत्पादित कपडा गोदाममै थन्किँदा महिला उद्यमी निराश छन् । 

चार वर्षदेखि निरन्तर ढाका कपडा उत्पादन गर्दै आएकी जुनामाया घर्ती बजारमा आएका औजारले बुनेका सस्ता कपडासँग प्रतिस्पर्धा गर्न नसकिएको बताउनुहुन्छ । ढाकाको महत्त्व नबुझ्दा उत्पादनले बजार नपाएको उहाँको बुझाइ छ । चौध जनाले सामूहिक रूपमा कल्याण आमा समूहको भवनमा ढाकाका कपडा बुन्दै आएकामा हाल सात जनामा सीमित भएको घर्तीले बताउनुभयो ।

“हामीले आफ्नै खर्चमा तालिम लियौँ, स्थानीय उत्पादनका रूपमा कोसेली दिन ढाकाका कपडा तानमा बुन्न थालेका हौँ, सुरुमा राम्रै बिक्री भयो, लगानीसमेत उठायौँ”, उहाँले भन्नुभयो, “बिस्तारै हाम्रो उत्पादन बढ्दै गयो, बिक्री घट्दै गयो, महँगो र यसको महत्त्व नबुझ्दा प्रयोग घट्न थालेको छ ।” गाउँपालिकाले बजारीकरण गर्न आवश्यक सहयोग गर्नुपर्ने घर्ती बताउनुहुन्छ । 

ढाकाका कपडाका कारण घरको चुलो चौकोमा सीमित तमानगाउँका महिलाको दैनिकी फेरिँदै गएको छ । ढाकाले बजार नपाउँदा भने उद्यमीमा निराशा छाएको छ ।  ढाका उद्योगले महिलाको आयआर्जनमा टेवा पुर्‍याएको जमुना घर्ती मगरले बताउनुभयो । “ढाकाको चोला, खास्टो, गलबन्दी, पछ्यौरालगायतको व्यापार खस्केको छ, हामी आफैँ गाउँ गाउँमा पुगेर बिक्री गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । व्यापारमा कमी आएपछि कतिपयले ढाका उद्योग छाडेर पुरानै काममा फर्केको अवस्था छ । केही उद्यमीलाई घरबाट असहयोग हुँदा विस्थापित हुनुपरेको घर्ती बताउनुहुन्छ । 

स्थानीय सरकारले बजारीकरण गरे ढाका उद्योग फस्टाउने उहाँहरूको विश्वास छ । ढाका उद्योगमा अहिले ११ तान रहेका छन् । महिलाले उत्पादन गरेको स्विटर, झोला, खास्टो, गलबन्दी, पछ्यौरालगायत ढाकाका कपडा अहिले उद्योगमै थन्किन थालेका छन् ।  समूहका सबैले सुरुआतमा जनही रु ६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेका हुन् । उनीहरूले कपडा बनाउन चाहिने धागोलगायत सामान काठमाडौँबाट ल्याउने गरेका छन् । 

बजार व्यवस्थापनका लागि सरकारले सहयोग गरे आफूहरूलाई थप सहज हुने महिला उद्यमीको भनाइ छ । एउटा सल बुन्न दुईदेखि तीन दिन तथा अन्य कपडा बुन्न झन्डै एक हप्तासम्म लाग्ने गरेको महिला उद्यमी बताउँछन् । एउटा गलबन्दीको मूल्य रु एक हजारदेखि रु एक हजार ५०० तथा एउटा सलको रु एक हजार २०० देखि रु दुई हजार ५०० सम्म पर्छ । रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ५६ बजे