राजमार्गमा दृष्य एक, पीडा अनेक

एमसिसीविरुद्ध भ्रम फैलाउने काम भयो : प्रवक्ता डा महत

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । 

शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पद ग्रहण एवं सम्मान कार्यक्रमलाई शनिवार साँझ सम्बोधन गर्नुहुँदै उहाँले एमसिसीका बारेमा प्रायोजित रूपमा फैलाइएको भ्रम चिर्न आवश्यक छ भन्नुभयो । 

एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठुलो सहयोग रहेको जनाउँदै उहाँले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने छ भन्नुभयो  ।उहाँले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उहाँले बताउनुभयो । 

फरक प्रसङ्गमा उहाँले काँग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी  स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गर्नुभयो  । उहाँले भन्नुभयो, “विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी काँग्रेस नै हो ।”

कार्यक्रममा भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, जेसिजका नेतृहरू तारा गुरुङ, प्रमिशा काफ्ले लगायतले बोल्नुभएको थियो । यसअघिका जेसिजका अध्यक्ष इन्द्रलाल श्रेष्ठको समितिले मसिना गुरुङको समितिलाई पद हस्तान्तरण गरेको थियो ।रासस 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ५५ बजे