दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पान खेती: १५ वर्षसम्म दर्बिलो आम्दानी

बनियानी । झापा अर्जुनधाराका कृषक सामूहिक पान खेतीमा जुटेका छन् । 

उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कट्टा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पान खेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिनुभयो । 

“नेपालमा भारतबाट  पानको पात आयात हुन्छ”, उहाँले भन्नुभयो, “आयत प्रतिस्थापन गर्न समूह नै बनाएर व्यावसायिक पान खेती सुरु गरेका हौँ ।” समूहले भारतको कोलकताबाट ‘बङ्गाली जाजी’ जातको पानको बिरुवा ल्याएर सो खेती सुरुआत गरेको हो ।   

समूहका सदस्य गोपाल शिवाकोटीका अनुसार  नेपालमा आयात हुने पानमध्ये ८० प्रतिशत पान यही जातको रहेको छ । “आयात धेरै हुने भएकाले यही जातको पान खेती गर्न थालिएको हो”, उहाँले भन्नुभयो, “पान आयातलाई घटाउने यो हाम्रो थालनी मात्र हो ।”

आफूहरूले सुरु गरेको पान खेती ठुलो नभए पनि आउने पुस्ता र पान खेती गर्न चाहनेका लागि उपयोगी हुने समूहका अर्का सदस्य कृषक सन्तबहादुर तामाङले जानकारी दिनुभयो  ।

“यसबाट अरूले सिक्ने अवसर मिल्छ”, उहाँले भन्नुभयो, “अरूलाई समेत पान खेतीमा जोड्न सके पान खरिदमा बिदेसिइरहेको ठुलो धनराशि बचत हुन्छ ।”

अन्य खेतीको तुलनामा पान खेती गर्दा सुरुमा अलि बढी नै लगानी हुने भएकाले पान खेतीका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्रलगायतका सरोकारवाला निकायले पहलकदमी गर्नुपर्नेमा आबद्ध कृषकको जोड छ । 

सो कृषक समूहले सुरु गरेको पान खेतीबाट यतिबेला धमाधम उत्पादन हुन थालेको छ । रु १५ लाख लगानीमा सुरु गरेको खेतीबाट मासिक रु एक लाख आम्दानी भइरहेको छ । बिरुवा लगाएको छ महिनाबाटै उत्पादन लिन सकिने पान खेती एक पटक लगाएपछि १५ वर्षसम्म आम्दानी लिन सकिने समूहका सदस्य  त्रिलोचन खरेलले जानकारी दिनुभयो ।

झापा मासिक चार लाख थान पानको पातको माग रहेको उहाँले बताउनुभयो ।  आफूहरूले गर्दै आएको खेतीबाट ८० हजार थान मात्र पात उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । 

“आन्तरिक माग धेरै रहेकाले खेती विस्तार गर्ने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो, “बजारको अभाव छैन, व्यापारी खेतमै आएर अढाई रुपैयाँका दरले पात किनेर लान्छन् ।”

अन्य बालीको तुलनामा राम्रो प्रतिफल प्राप्त हुने पान खेतीमा सरोकारवाला निकायले ध्यान दिन सके आयात प्रतिस्थापनसँगै कृषकका लागि दर्बिलो आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।रासस

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ०१ बजे