साफ यू–१७ च्याम्पियनसिप आजदेखि

समाजको पीँधमा रहेका भुइँमान्छेका कथा : पौरखी पात्रहरू

साहित्यका विभिन्न प्रकारका विधाहरू हुन्छन् । हामीले अधिकांश रूपमा पढ्ने र बुझ्ने गरिएको साहित्य भनेको–कथा, कविता, उपन्यास र त्यसभन्दा अलिमाथि गइएछ भने जीवनी विधासम्मलाई साहित्यको परिधिभित्र रहेको मान्दछौँ । तर निबन्ध, व्यक्तित्व परिचय र नियात्रा (यात्रा वर्णन) जस्ता विषयहरू खालि रिपोर्टमा आधारित विषयवस्तुहरू भएका हुनाले त्यस प्रकारको विधामा लेखिएका साहित्यहरूलाई वृहत् वाङ्मयका अर्थमा त साहित्य भनिए पनि विशिष्टीकृत अर्थमा भने साहित्यको कोटीमा गणना गर्न भने पाठकहरूको बानी परिसकेको देखिँदैन । यो कुरा पनि अभ्यासकै क्रममा साहित्य वा गैर साहित्यको  भ्रम निवारण हुँदै जाने छ । यहाँ प्रस्तुत कृतिलाई साहित्यको व्यक्तित्व परिचय विधा अन्तर्गत गणना गरेर त्यसका विषयमा केही लेख्ने जमर्को गरिएको छ । 

जनताको साहित्य दुई प्रकारका देखिन्छन् । पहिलो हक अधिकार प्राप्तिका लागि जनताले गरेका सङ्घर्षहरूको कथा व्यथाहरूको चित्रण भएको साहित्य हुन्छ भने दोस्रो प्रकारको साहित्य जनताको साहित्य । जनताको साहित्यले देश र जनताको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक उन्नयनका लागि गरिएका गतिविधिहरूको चित्रण भएको साहित्य ।

दलबहादुर गुरुङ रुपन्देहीका स्थापित साहित्यकार हुन् । उनी अहिले प्रलेस, नेपाल, रुपन्देहीका अध्यक्ष समेत हुन् । लेखनका क्षेत्र,त्यसमा पनि प्रगतिशील विचारधारामा आधारित भएर उनले थुप्रै रचनाहरू प्रकाशित पनि गरेका छन् । जसमध्ये नसोध मलाई (२०५५), आस्थाका स्वरहरू (२०५६),चिठ्ठी साहिँलीलाई (२०६६),हात्ती करायो (२०६६) र नौ फन्का  (२०६८) अहिले पौरखी पात्र (२०७८) प्रकाशित गरेका छन् । उक्त कृतिहरूलाई समीक्षात्मक दृष्टिबाट हेर्दा निकै मूल्यवान् एवम् आमजनताको जीवन कथासँग प्रत्यक्ष रूपले जोडिएका विषयवस्तुहरू रहेको देख्न सकिन्छ । तिनमा केही आरम्भिक रचनाहरूमा गरिब जनताले भोग्नु परेका गाँस, बास, कपासका समस्याहरूदेखि लिएर शिक्षा,स्वास्थ्य,रोजगारसम्बन्धी अधिकार प्राप्तिको दिशामा गरिएका कथा व्यथादेखि सङ्घर्षरत रूपमा रहेको देख्न सकिन्छ । २०६२÷२०६३ को जनआन्दोलनपछि जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्नतर्फ अग्रगामी विचार प्रदान गर्ने भावधारा बोकेका रचनाहरू पनि यसैभित्र पर्दछन् । 

दलबहादुर गुरुङको साहित्य सिर्जनालाई हेर्दा यी दुवै विषयवस्तुमा आधारित जनताको साहित्य देख्न, पढ्न र बुझ्न सकिन्छ । २०६२÷०६३ पूर्वको गरिएका सङ्घर्षको चित्रणमा उनी प्रतिबद्ध देखिन्छन् भने २०६२÷२०६३ को जनआन्दोलनपछिका रचना चिठ्ठी साहिँलीलाई ,हात्ती करायो,नौ फन्का र पौरखी पात्रमा मुख्य गरेर जनताका जनजीविका र जनजीवनलाई कसरी समृद्ध पार्न सकिन्छ भन्ने विषयवस्तुमा आधारित रचनाहरू छन् । 

जनताको साहित्यले देश र जनताको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकको उन्नयनका लागि गरिएका गतिविधिहरूको चित्रण भएको साहित्य ।

त्यसैले उनको साहित्यिक यात्रा दुई किसिमको पाउन सकिन्छ । जसमा पहिलो जनताले हक अधिकार पाउनका लागि गरेका बलिदानीपूर्ण सङ्घर्षको गाथा कथाहरू पाउन सकिन्छ भने जनआन्दोलन पछिका रचनाहरूमा जनताको जनजीवनमा आर्थिक समृद्धि, राजनीतिक स्थायित्व, प्रगतिशील सांस्कृतिक चेतनाको निर्माण सम्बन्धी विषयवस्तुहरू रहेको देख्न सकिन्छ । दलबहादुरका लेखनबाट जनताको साहित्य यसरी पनि लेख्न सकिन्छ भन्ने उदाहरण भेट्न सकिन्छ । 

पौरखी पात्रको साहित्यिक महत्त्व 
दलबहादुरको कृति पौरखी पात्र उनले साहित्यमा गरेको नयाँ खालको प्रयोग हो । रिपोर्टकै शैलीमा भए पनि यसले जनताको साहित्य यसरी पनि लेख्न सकिँदो रहेछ भन्ने सन्देश दिएको छ । उनको यो प्रयोगलाई देखिसकेपछि म एउटा निष्कर्षमा पुगेको छु – जनताको साहित्य यसरी पनि लेखिँदो रहेछ । यस प्रकारको विधालाई अरूले सामान्य रिपोर्टको कोटीमा पनि राख्लान् तर यसको महत्त्व जनताको साहित्य यसरी पनि लेखिँदो रहेछ र यसरी पनि लेख्नुपर्छ भन्ने रहेको देखिन्छ । 

जनताको साहित्यभन्दा केवल समाजका अन्यायी, अत्याचारी सामन्त र शोषकका विरुद्धमा जनताले गरेको सङ्घर्षको चित्रणलाई मात्र जनताको साहित्य भन्ने गरिन्छ । तर गाथा व्यथाहरूलाई जनताको साहित्य भनेर नमान्ने एक प्रकारको रुढीबादी चरित्र कायमै छ । तर पौरखी पात्र नामक कृतिले व्यक्तित्व परिचयको साहित्यिक विधाका माध्यमबाट पुरै न्याय गरेको छ । जनताको उत्पादनको सङ्घर्ष भनेको तीन वटा कुरामा आधारित हुन्छ । 

पहिलो उत्पादनका साधनहरू स्वामित्व छ त्यसलाई कुन वर्गका जनताले त्यसको उपयोग गर्न पाएका छन् भन्ने कुराले निर्धारित गर्दछ । दोस्रो उत्पादन शक्ति अर्थात् जनताको उत्पादन गर्ने श्रम,सीप र कौशल कस्तो छ भन्ने कुराले निर्धारित गर्दछ । तेस्रो उत्पादन भएको विषयवस्तुको उपभोग अर्थात् बजार व्यवस्था र त्यसबाट आर्थिक मुनाफाहरूमा जनताको अर्थात् उत्पादनकर्ताको हक अधिकार कुन रूपमा स्थापित भएको छ भन्ने कुराले निर्धारित गर्दछ । ठिक यही कुरा दलबहादुरले आफ्नो कृति पौरखी पात्रमार्फत प्रस्तुत गरेका छन् । यस कृतिका पात्रहरू कुनै पनि काल्पनिक होइनन् । ती सबै पात्र जनताको जीवनसँग घनिष्ठ रूपले सरोकार राख्दछन् । तिनीहरूमा आफ्ना जीवन पोषण गर्न मात्र नभएर सामाजिक जीवनमा आफ्नो उद्यमशील कार्यहरूद्वारा अरूका निम्ति पनि प्रेरणादायी छन् । 

उनका कुनै पनि पात्रका क्रियाशीलताले समाजमा उत्पादनशील चेतनाको प्रवाह गर्छ । ग्रामीणस्तरमा प्राप्त हुने साधन,स्रोतको उपयोग गरेर आफू मात्र होइन आफ्नो वरिपरिका परिवेशलाई पनि प्रभावित पार्दछन् । व्यक्ति एक्लै केही पनि गर्न सक्दैन । त्यसलाई आफ्ना निकटवर्ति र अलि फराकिलो परिवेशका व्यक्तिहरूको सहयोग चाहिन्छ । त्यस प्रकारको र विश्वसनीयताको आवश्यकता पर्छ । 

त्यस्तै प्रकारको चरित्र भएका महिला व्यक्तित्वहरूको मात्र क्रियाशीलताको परिचय प्रदान गरिएको हुनाले पनि महिलाजनहरुको पूर्ण सम्मान भएको बुझिन्छ । समाजमा रहेका पींघका मानिसहरूलाई त्यति वास्ता गर्दैनन् । समाजका टाठा बाठा, ठुलाबडा, मानिएका सेलिब्रेटीहरुका विषयमा लेखन गर्दा फाइदै फाइदा हुने बाटोलाई छाडेर समाजको आधारभूत तहका मानिसहरू त्यसमा पनि महिलाजनको उद्यमशीलताका विषयमा साहित्य रचना गर्नुलाई मैले साहित्यमा नयाँ खालको प्रयोग भन्ने ठानेको छु । 

दलबहादुरले यसमा त्यस्ता पौरखी पात्रका विषयमा व्यक्तित्व परिचयका साथ त्यही उद्यमशीलताको वर्णन गरेका छन्  । त्यो व्यक्तित्व परिचय केवल रुपन्देही, पाल्पा र नवलपरासी र गुल्मी जिल्लामा आधारित भए पनि भविष्यमा राष्ट्रिय व्यक्तित्वहरूका विषयमा लेख्नका लागि थप प्रेरणा प्राप्त हुने छ । 

पुस्तकको विषयवस्तु 
२०७६ को चैत्र ११ गतेदेखि नेपालमा कोभिड १९ का कारणले देश पुरै लकडाउन थियो । मुलुक कोभिडले त्राहीमाम् थियो । उपचार पाउन मुस्किल थियो । संसारभर यो रोगको त्रास थियो । स्वास्थ्यकर्मीहरू निडरतापूर्वक जीवनलाई हत्केलामा राखेर बिरामीको उपचार गर्दै थिए । त्यसैमा कवि, कलाकार एवम् लेखकहरू आआफ्ना सिर्जनाहरू पनि गर्दै थिए । अहिले धमाधम कोभिडका दौरानमा सिर्जिएका रचनाहरू प्रकाशित हुँदैछन् । ती सबै कृतिले विगतको पहिलो,दोस्रो लहरको सामना गर्दै अहिले तेस्रो लहरबाट गुज्रिरहेका अवस्थामा पनि सिर्जना र प्रकाशनको क्रम रोकिएको छैन । 

यस्तै विकट परिस्थितिको सामना गर्दै लेखकले भनेका छन्–कोभिडका कारण लकडाउन थियो । नागरिकहरू घरका चार दिवारभित्र बन्देज थिए । रोगले सबैलाई डराउन दिएको थियो । यसै बसिरहन अत्यास लागिरहेको थियो । समाचार सुन्दा मनै खिन्न हुन्थ्यो । लकडाउन डर लाग्दो । के गरूँ, के गरूँ लाग्थ्यो । डुल्ने, घुम्ने  र लेख्ने मान्छे म यसै पिञ्जराको चराजस्तो लाग्थ्यो । के गरूँ, के गरूँ भएको बेला ल्यापटप भयो मेरो साथी । ल्यापटपमा औँला चाल्दै गर्दा एक्कासि उद्यमी महिलाहरूका सङ्घर्षका कथा लेखे के खेर जाला र ? भन्ने लाग्यो । सरसर लेखेँ । स्थानीय अनलाइनहरूमा पठाएँ । ग्लोबल आवाज,श्रीनगर अनलाइन,कलम आवाज,खुल्ला धर्ती,जनसङ्घर्ष,दैनिक पत्रमा ती स्टोरी छापिन थालेपछि प्रतिक्रियाहरू आउने क्रम जारी रह्यो । धेरैले लकडाउनमा फुर्सदको बेला खुबै पढे । धेरै प्रतिक्रिया दिए । फोन सम्पर्कबाटै पौरखी पात्रका सङ्घर्ष र सफलताका कुराहरू टिपेको थिएँ अनि अक्षरहरूमा उनेँ । धेरैले उद्यमी महिलाहरूका बारेमा मात्र स्टोरी किन भनेर प्रश्न गरे । (पृष्ठ ४) 

यसरी पौरखी पात्रको गर्भ कथाका विषय, पुस्तकको भूमिकामा उल्लेख भएको छ । त्यसले नै यो यथार्थ एवम् जीवन्त खालको जनताको साहित्य हो भन्ने पुष्टि गर्दछ । हुन पनि उद्यमी तथा सङ्घर्षशील महिलाहरूको व्यक्तित्वको परिचयले यो कथा लेखन एक प्रकारको साहित्य लेखन हो । जुन सरल, सत्य र व्यक्तिको यथार्थ जीवनमा आधारित छ । 

पहिलोमा कथामा गार्मेन्ट सञ्चालक जमुना सुवेदी पोखरेलका बारेमा चर्चा गरिएको छ । आफै पनि रोगबाट ग्रसित उनले सङ्घर्षबाट रोगलाई हराइ दिँदै आफ्नो उद्यममा सफलता हासिल गरेको कथाले मन छुन्छ । उनको प्रेरणाले धेरैलाई समृद्धिको यात्रातर्फ उन्मुख गरेको देखिन्छ । सानै उमेरमा पितालाई गुमाउनु परेको पीडा, शारीरिक रूपमा अस्वस्थ तैपनि स्नातकसम्मको अध्ययनले आफूलाई नै थप कर्मशील बनाएको बुझ्न सकिन्छ । 

दोस्रोमा रुपन्देही, देवदह निवासी सीता पाण्डेयको तरकारी खेतीसँग जोडिएको कथा छ । आधुनिक कृषि पद्धतिलाई अङ्गालेर नमुना किसान बनेकी सीताले धेरैलाई सिकाउन सक्नेछिन् । रुपन्देही सिद्धार्थनगरकी प्रभा पौडेलले सिलाइ कटाइबाट जीवन मात्र गुजारेकी छैनन्, बरु उनले आफूजस्तै सीपयुक्त, क्षमतावान् र उद्यमी महिला तयार पार्न सक्दो प्रयास गरेकी छन् । 

चौथोमा रुपन्देही, भवानीपुरकी रेनू काफ्लेको जीवन्त कथा छ । सहाराविहीन भएपछि उनले बेकरी उद्यमलाई नै आफ्नो सर्वस्व ठानिन् । दुई छोरीलाई शिक्षादीक्षा दिइन् । आम्दानीको बाटो फराकिलो बनाउँदै समाजमा सफल उद्यमीका रूपमा परिचित भइन् । पाँचौँमा रुपन्देहीको दक्षिण क्षेत्रमा पर्ने धकधई नजिकै रहेकी आविदा खातुनको कुखुरा फर्मबाट धेरै कुरा सिक्न सकिन्छ । परिवारको सहयोग, आफ्नो निरन्तरको मिहिनेतले नै आविदालाई महिला उद्यमीको परिचय दिएको छ । ६२ वर्षीया खातुनले आफ्नो उद्यमबाट मनग्य आम्दानी गरेकी छिन् । 

गायत्री कुर्मीको दुःखको कथा छ । उनले थोरै बाख्रा पालन गरेर परिवार धानेकी छिन् । कोटहीमाई निवासी उनलाई सहयोगको खाँचो देखिन्छ । उक्त कुरा छैटौँ कथामा उल्लेख गरिएको छ । 

सातौँमा अमुवा निवासी रुकु लम्तरीको बङ्गुर पालनको कथा छ । आठौँमा रुपन्देही तिलोत्तमा निवासी शीतल थापाको कथा छ । स्नातक उत्तीर्ण र कृषि प्राविधिक अध्ययनरत उनीबाट सिक्ने सकिने धेरै सीप छन् । 

नवौँमा बुटवल निवासी मीना नेपालीको सङ्घर्षमय कथा छ । ई–रिक्सा चलाएर जीवन गुजारा मात्र चलाएकी छैनन्, बरु उनले तीन जना छोराहरूलाई लालन पालन र शिक्षादीक्षा दिएकी छिन् । श्रीमान् गुमाए पनि हिम्मत, आँट र साहस गुमाएकी छैनन् । दशौँमा मर्चवारकी बोदामी चमारको तीतो तर यथार्थ कथा छ । सुँगुरबाट सुख खोजेकी छिन् । सहारा नभए पनि कसरी जीवन चलाउन सकिँदो रहेछ भन्ने उदाहरण उनै हुन् । 

एघारौँमा प्रहरी सेवाको हवलदारमा निवृत्त रोममाया बलालको रोचक कथा छ । उनले झोला बुनेर साथीहरूलाई समेत स्वरोजगारमा बनाएकी छन् । बाह्रौँमा ठुटे पीपल निवासी कमला घर्ती मगरको साँचो र सङ्घर्षमय कथा छ । अरू महिलाले भन्दा फरक उद्यम रोजेकी छन् उनले । फोटो एवम् भिडियोग्राफीबाट आफूलाई पौरखी महिलाका रूपमा उभ्याएकी छन् । तेह्रौँमा तिलोत्तमा निवासी देवी वाग्लेको पुष्प खेतीका बारेमा लेखिएको छ । आफूजस्तै उद्यमी बनाउने अभियानका नायक हुन् उनी । नेपालमा पुष्प उद्यमबाट विदेश निर्यात हुने रकमलाई रोकेकी छन् उनीजस्ता पुष्प उद्यमीहरूले  ।

सानै उमेरमा पितालाई गुमाउनु परेको पीडा, शारीरिक रूपमा अस्वस्थ तैपनि स्नातकसम्मको अध्ययनले आफूलाई नै थप कर्मशील बनाएको बुझ्न सकिन्छ । 

चौधौँमा वृन्दावन निवासी मौसमी निषादको भैँसी पालनका बारेमा उल्लेख गरिएको छ । पन्ध्रौँमा दिलकुमारी रोका मगरको सङ्घर्षशील कथा छ । तत्कालीन माओवादी आन्दोलनमा लागेर लडाइँमा होमिएकी उनले यतिबेला च्याउ खेतीबाट धेरै महिलाहरूलाई आफूजस्तै स्वरोजगारी बनाएकी छिन् । अन्तर्राष्ट्रिय पुरस्कार विजेता उनको कथाले धेरैलाई नयाँ उद्यमी बन्ने प्रेरणा मिल्छ । 

सोह्रौँमा पाल्पा तानसेन निवासी उमादेवी अर्यालले थालेको नारी सेनेटरी प्याड सञ्चालन,रोजगारी तथा स्वरोजगारीको अवसर र नयाँ उद्यमीका रूपमा आफूलाई उनले चिनाएकी छन् । सत्रौंमा अस्मिता थापाले गाई मात्र पालेकी छैनन् बरु उनले परिवार नै पालेको सुखद कथा छ ।

अठारौँमा सिद्ध बाबा मन्दिर परिसरमा फूलप्रसादी बेचेर जीवन गुजारेकी विष्णुकुमारी घिमिरेको सफलताको कथा छ । उन्नाइसौँ नवलपरासी बर्दघाटकी बुद्धिमाया सुनारको घरेलु उद्यमको कथा मात्र छैन बरु, उनका श्रीमान् र छोरी गुमाउनुको पीडालाई कसरी भुल्न सकेकी होलिन् भन्ने दर्दनाक कथा छ । 

बिसौँमा पाल्पा तिनाउकी गोमा भण्डारीले कागती खेतीबाट मनग्य पैसा कमाउन सकेको सत्य कथा छ । विभिन्न सङ्घसंस्थाबाट समेत पुरस्कृत उद्यमी गोमाले कागती खेतीलाई जीवनभर अङ्गाल्ने योजना बुनेकी छन् । बाइसौँमा इन्द्रावती हरिजनको तरकारी व्यापारको कुरो छ । सन्तानको लालन पालन गरेर बचाएको पैसाले पक्की घर बनाएको सुखद कथा छ ।

तेइसौंमा बुटवलकी सुजन थैवको हस्तकला उद्यमको कथा छ । व्यापार घट्दै गएको,हस्ताकलाप्रति चासो कम भएको उनको गुनासो छ । चौबीसौंमा तिलोत्तमा निवासी कल्पना पाण्डेयले मिल सञ्चालन गरेर दुःख गरेर सफलता हासिल गरेको कथा छ । पच्चीसौंमा खिमकुमारी गुरौंको मुढा बनाउने कलाको कथा छ । एकल महिला उनी,आफ्नो सीप र श्रमबाट बाँचेकी छिन् । समाजलाई सहकारीबाट परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेकी छन् जमुना गिरीले । 

छब्बीसौंमा सैनामैना निवासी लेखा दगामी मगरले घरेलु कपडा बुनेर पैसा कमाएको अनि आफूजस्तै दिदीबहिनीहरूलाई तालिम दिएको कथा छ । सत्ताईसौंमा फेसन डिजाइर लिजा चौधरीको नौलो विषय समावेश गरिएको छ । उनले धेरै महिलाहरूलाई आफ्नै उद्यममा समावेश गरेकी छन् । अट्ठाइसौँमा मनकुमारीका मनका कुराहरू छन् । नेपालमा पछिल्लो पटक भित्रिएको ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टेको सञ्चालक हुन् उनी । पाहुनाहरूको स्वागत सत्कार र संस्कृतिको संरक्षणबाट आफ्नो र गाउँको परिचय उनले पाल्पाको तिनाउ सुकेतालबाट दिएकी छन् । 

उनन्तीसौंमा बुटवल नजिकै चरङ्गेकी आशाले कार चलाएर कमाएको कथा छ । तीसौंमा फर्साटिकरमा रहेकी यमुनाले चुराबाट कमाएको कुरा छ । एकतीसौंमा शुद्धोदनकी सिर्जनाले माछा पालन गरेर आफ्नो उद्यमलाई उकासेको कथा छ । देश विदेशसम्म पुगेकी उनले समाजमा आफूलाई नमुना उद्यमी बनाउँदै छिन् । 

बत्तीसौंमा तिलोत्तमाकी पार्वती गिरीको अचार उद्योग,सुरुआत,सङ्घर्षका दिन र सफलताका कथालाई दुरुस्तै उल्लेख गरिएको छ । तेत्तिसौँमा बुटवलको एक विद्यालयमा कला अध्यापन गर्ने सुमित्रा राना,सुत्पराईको ललितकलाको विषयवस्तुहरू उल्लेख गरिएका छन् । चौंतीसमा खुमा बुढाको कलात्मक कथा छ तर उनी यतिबेला हामी माँझ छैनन् । पैंतीसौंमा गैडहवाताल नजिकै रहेकी खबीसराको खुद्रा पसलको कुरा छ ।

अड्तीसौंमा च्याउ खेती गर्ने युवा उद्यमी दीपा भट्टराईको सफलताको कथा छ । उन्चालीसौंमा लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेकी मिहिनेती माधुरीको कृषि कर्ममा गरेको उन्नतिको चर्चा छ । 

पुस्तक प्रकाशनका विषयमा 
दलबहादुरले समाजको पीँधमा रहेका र कसैले त्यति चर्चा परिचर्चा गर्न पनि नरुचाइएका विषय महिला उद्यमीहरूका विषयमा लेख्ने जुन साहस देखाए भो त्यो आफैमा सुन्दर सिर्जना हो । यस प्रकारको लेखनले अरूलाई पनि प्रेरणा प्रदान गर्छ । यसभन्दा पहिले पनि महिलालाई मात्र केन्द्रबिन्दु बनाएर पनि कैंयौं पुस्तकहरू प्रकाशित भएका छन् । जसमा राजनीतिका क्षेत्रमा सङ्घर्षशील महिलाहरूका विषयमा लेखिएका विषयवस्तुहरू छन् । 

त्यसैगरी अर्को सर्वप्रथम महिला भनेर पनि पुस्तक प्रकाशित भएको छ । जसमा नेपाली जनजीवनमा आफ्नो क्रियाशीलताले गर्दा महिला प्रथम भनेर लेखिएको थियो । अहिले यो पौरखी पात्र पुस्तकको प्रकाशन महिला उद्यमशीलता प्रवर्द्धन नेपालले गरेको छ । जसको नेतृत्व रुपन्देही, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले गरेकी छन्  । उनको टिमलाई हार्दिक कृतज्ञता प्रकट गर्नै पर्दछ । 

दलबहादुर गुरुङको मूल लेखन रहेको पौरखी पात्रलाई अङ्ग्रेजी अनुवाद शिक्षा प्रेमी एवम् लेखक माधवकुमार पौडेलले गरेका छन् । यसो गर्दा यो पुस्तक अन्तर्राष्ट्रियकरण भएको छ । पुस्तकले नयाँ आयाम थपेको छ । 

पहिलो कुरा त उद्यमशील महिलाजनहरूका विषयमा यति राम्रो लेखन गर्नु नै महिलाहरूप्रतिको उच्च सम्मान हो भने दोस्रोमा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने संस्थाले स्थापनाको छोटो समयमै यति गहन तथा राम्रो पुस्तक प्रकाशन गरेर सबैलाई जानकारी प्रदान गरेपछि  सबैलाई प्रेरणा मिलेको छ । यो पुस्तकले समृद्धिको यात्रामा ठुलो योगदान पुराउने विश्वास गर्न सकिन्छ । 

(लेखक गोपी गुरुका नामले परिचित प्रगतिवादी साहित्यका प्रभावशाली लेखक, मार्क्सवादी दर्शनका ज्ञाता, प्रगतिशील लेखक सङ्घ, नेपाल, केन्द्रीय समितिका उपाध्यक्ष हुनुहुन्छ ।) 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ४२ बजे