आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पोलिटेक्निक प्रतिष्ठान निर्माण सुस्त गतिमा

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–६ चित्रेपानी थालिएको नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको भवन निर्माण सुस्त गतिमा भइरहेको छ । निर्माण अवधि सकिए पनि हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उक्त भवन निर्माण सुरु गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवद्वारा २०६६ सालमा गरिएको भारत भ्रमणका अवसरमा नेपाल र भारतबीच भारत सरकारको अनुदानमा उक्त भवन निर्माण गर्न सम्झौता भएको हो । 

भवन निर्माण गर्न भारत सरकारले ४८ करोड ४८ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो । भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसनले चित्रेपानीमा साढे १७ हेक्टर क्षेत्रफलमा भवन निर्माण गर्न २०७६ भदौ १४ गते सम्झौता गरेको थियो । दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण भारतीय निर्माण कम्पनीले  नेपाली कम्पनी शान्ति आरोग्यलाई भवन निर्माणको जिम्मा दिएको थियो । नेपाली निर्माण कम्पनीले २३ ब्लकमा काम गरिरहेको र अधिकांश भवनको पहिलो र दोस्रो तलाको काम पूरा भएको जनाएको छ ।
 
भारतीय कम्पनीबाट रकम भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको शान्ति आरोग्य निर्माण कम्पनीका प्रबन्धक अभिषेक बरालले जानकारी दिनुभयो । आगामी जुलाई महिनासम्मका लागि निर्माणको म्याद थप गरिएको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : ०३ बजे