दिदीलाई कुरकुरे किन्न पठाई भुलाएर सात महिनाको बच्चा अपहरण

धनुषा ।  जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका–७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका–४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् । 

उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेकी थिइन् । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले खोजी कार्य सुरु गरेको थियो । 

प्रहरीले खोज्ने क्रममा जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा मनिषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । मुखियाको साथमा ती बालक समेत २ जना बच्चा फेला परेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिई कुरकुरे किन्न पठाई बच्चा लिई भागेको खुल्न आएको छ ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : ५९ बजे