नक्कली मृत्यु प्रमाणपत्रसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले नक्कली मृत्यु प्रमाणपत्र (डेथ सर्टिफिकेट)सहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौंको टेकु अस्पतालबाट एक डेथ सर्टिफिकेटको लिखत किर्ते गरेको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ई जो ओ ५०९२७७ पासपोर्ट नम्बर भएका चिनियाँ नागरिक वाङयाङलाई पक्राउ गरेको जनाएको छ  ।

प्रहरीले उनको साथबाट ग्रीन सिटी अस्पतालको नामबाट जारी नक्कली डेथ सर्टिफिकेट र पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी कागजपत्र बरामद गरेको छ। 

पक्राउ परेका वाङविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ‘१० ‘किर्ते गर्न नहुने कसूर’मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

वाङविरुद्ध अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति भइरहेको प्रहरीको भनाई छ । 

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : २९ बजे