‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हजुरबाको जनैको साँचो, हजुरआमाको सुर्के थैली र मुलुकमा देखिएको तरलताको अभाव 

अहिले हाम्रो देशको अर्थतन्त्रलाई हाम्रा हजुरबाहरूले जनैमा झुन्ड्याएको साँचो र सिराने छेउमा राखेको टिनको बाकस (ट्याङ्का)सँग तुलना गर्न सकिन्छ । केटाकेटीमा कहिलेकाहीँ बाले जनैमा झुन्ड्याइरहेको त्यो साँचो पाए बाको ट्याङ्काभित्र के के छ ? हेर्न पाइन्थ्यो भन्ने कौतुहलता हामी सबैलाई भएको हुनुपर्दछ । कहिलेकाहीँ हजुरबालाई साँचो दिनुहोस् न, एकपल्ट टयाँङ्काभित्र के छ ? हेर्न मन छ भन्यो भने देखाउनु हुन्न, के छ ? के छ ? त्यहाँभित्र । तिमीहरूलाई कौतुहलता भइरहोस् भन्ने बाहरूको जवाफले हामी वाक्क हुन्थ्यौ । हुन पनि हो, हामीले नदेख्दासम्म बाको ट्याङ्काभित्र रुपैयाँ, सुन—चाँदी टन्नै होला भन्ने भ्रम परिरहन्थ्यो । 

तर यदि बाको जनैको साँचो पाइयो र त्यो ट्याङ्का खोल्न अवसर मिल्यो भने त्यहाँ केही नहुन पनि सक्थ्यो । त्यसैले त्यहाँ केही नहुँदा पनि केटाकेटीले हेप्छन् र भए पनि केटी केटीले पैसा मागेर हैरान बनाउँछन् वा हजुरबासँग बाकसमा छँदैछ, हामीले किन दुख गर्नुपर्‍यो भन्ने भावना केटाकेटीमा विकास नहोस् भनेर नै बाले जनैको साँचोलाई जतन गरेको हुनुपर्छ भन्ने अनुमान सहज गर्न सकिन्थ्यो । 

हजुरबाको त्यो ट्याङ्कामा के छ, के छ ? टन्नै रुपैयाँ भए पनि त्यो बाहिर आउने होइन, अनि हामी केटाकेटीका हातमा रुपैयाँ कसरी परोस् ? हाम्रो आफ्नै कमाइ पनि छैन । बाले ट्याङ्का खोलेर रुपैयाँ नबाँडुन्जेल र वर्षौँदेखि सुर्के थैलीमा राखेको पैसा दसैँको टीकामा हजुरआमाले दक्षिणा नदिउन्जेल हाम्रा हातमा पैसा पर्ने कुनै गुन्जायस थिएन । त्यसबेला मात्रै, जुन दिन बाले छिमेकी बसाइ जाने भए भने उनीहरूको खेतबारी किन्न र अलि तिर्न सक्ने मानिसलाई तमसुक गरेर ऋण दिने बेलामा मात्रै बाको ट्याङ्का खुल्थ्यो । 

अहिले हाम्रो मुलुकमा देखिएको तरलताको अभावलाई पनि बाको ट्याङ्का र हजुरआमाको सुर्के थैलीसँग तुलना गर्न सकिन्छ । सरकारको पुँजीगत खातामा पैसा छ, खर्च गर्न सकिरहेको छैन । आयात अकल्पनीय रूपमा बढिरहेको छ । हामीले बाह्य देशहरूबाट वस्तुहरू किन्नका लागि डलर, भारु, युरो खरिद गर्नै पर्‍यो । जसका कारण हाम्रो विदेशी मुद्राको सञ्चितिमा पनि अकल्पनीय घाटा पुगेको छ । 

मुलुकको अर्थतन्त्र कसरी ओरालो लागेको छ भन्ने कुराको प्रमाणका लागि अरू धेरै तथ्यहरू पेस गर्न पर्दैन । मात्रै हाम्रो देशको आयात, निर्यात र त्यसबाट सिर्जित व्यापार घाटाको अवस्थाको विश्लेषण गरे पुग्छ । 

राष्ट्र बैङ्कले विदेशी मुद्रा बेचेर किनेको नेपाली रुपैयाँ राष्ट्र बैङ्कमै थन्किएको अवस्था छ । त्यो पैसा ल्याण्डिङ हुन सकिरहेको छैन । विप्रेषणका रूपमा बाहिरबाट आउने मुद्रा पनि विदेशमै भर्चुअल करेन्सी वा किप्टो करेन्सीमा लगानी हुनाले उतै रोकिन थालेको छ । 

हाम्रो देशमा रहेका २७ वटा कमर्सियल बैङ्कहरू, २० वटा विकास बैङ्कहरू र ५० को हाराहारीमा रहेका वित्तीय संस्थाहरूको कोर क्यापिटल ल्याण्डिङ हुने काममा मौद्रिक नीतिले रोक लगाएको छ । क्रेडिट र डिपोजिटको अनुपात सबै बैङ्कहरूको हेर्ने हो भने लगभग ९० को हाराहारीमा पुगेको अवस्था छ । 

त्यसपछि बैङ्कहरूले थप ऋण प्रवाह गर्ने अवस्था छैन । बजारमा बैङ्कहरूबाट ऋण प्रवाह नहुँदा तरलताको अभाव हुने नै भयो । पुँजी बजारमा मौद्रिक नीतिले लगाइदिएको १२ र ४ करोडको कर्जा सीमा र त्यसको मिलानका कारण पनि तरलता प्रवाहमा सङ्कट देखिएको हो । 

कोरोना एउटा कारण हुन सक्ला, तर बाह्य लगानीलाई आकर्षण गर्न सरकार पुरै असमर्थ छ । पर्यटकहरूको आगमन बेस्सरी घटेको अवस्था रहेको छ । सरकारले गर्ने भनेर बजेटमा तोकिएका विकास आयोजनाहरू प्रायः ठप्प छन् । पैसा आउने वैदेशिक अनुदानदेखि अन्य सबै स्रोतहरूमा कमी आएको अवस्था छ । 

सरकार पुँजीगत खातामा रहेको पैसा बाहिर ल्याउन किन सकिरहेको छैन वा चाहिरहेको छैन ? यसको कारण खरिद ऐनलाई मात्रै दोष दिएर पन्छन मिल्दैन । हाम्रा हजुरबाहरूको जनैमा झुन्ड्याएको साँचोजस्तै सरकार खरिद ऐनको साँचो झुन्ड्याएर मौनता साधिरहेको छ । जसका कारण मुलुकमा तरलताको गम्भीर अभाव देखिएको छ । 

मुलुकको अर्थतन्त्र कसरी ओरालो लागेको छ भन्ने कुराको प्रमाणका लागि अरू धेरै तथ्यहरू पेस गर्न पर्दैन । मात्रै हाम्रो देशको आयात, निर्यात र त्यसबाट सिर्जित व्यापार घाटाको अवस्थाको विश्लेषण गरे पुग्छ । 

अकल्पनीय व्यापार घाटा 
आफ्नो उत्पादन प्रणालीमा आधारित नभई आयातमा निर्भर हुने देशको अर्थतन्त्र सबल हुनै सक्दैन । अहिले हाम्रो देशमा देखिएको तरलताको अभावको एउटा प्रमुख कारण भनेको अकल्पनीय आयात हो । नेपाल सरकार अर्थ मन्त्रालयको अर्थ बुलेटिन (२०७८) अनुसार आर्थिक वर्ष २०७८÷७९ को मङ्सिर महिनासम्म मात्रै कुल वस्तु आयात गत आर्थिक वर्षको सोही अवधिको आयातको तुलनामा ५९.५ प्रतिशतले वृद्धि भई रु. ८ खर्ब ३८ अर्ब ४१ करोड पुगेको छ । तर गत आर्थिक वर्षमा यो आयात ५ खर्ब २५ अर्ब ५० करोड मात्रै रहेको थियो । 

यही अनुपातमा आयात वृद्धि भएको अवस्थामा पौष र माघ महिनाको समेत अनुमान गर्ने हो भने अहिले हाम्रो देशको आयात १० खर्ब नाघिसकेको अनुमान गर्न सकिन्छ । हाम्रो देशको कुल आयात ५९.६ प्रतिशत भारतबाट र १४.६ प्रतिशत चीनबाट र बाँकी अन्य देशहरूबाट भएको छ । तर यो आर्थिक वर्षको सोही  अवधिको हाम्रो निर्यात हेर्ने हो भने मात्रै १ खर्ब २ अर्ब ९२ करोड मात्रै रहेको छ । आयात र निर्यातको यो स्थितिलाई हेर्ने हो भने भन्सार विभागका अनुसार हाम्रो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.७ प्रतिशतले वृद्धि भई ७ खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ । तर यो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिमा मात्रै ४ खर्ब ७५ अर्ब ४४ करोड रहेको थियो । 

हाम्रो जस्तो सानो अर्थतन्त्र (४२ खर्ब कुल ग्राहस्थ उत्पादन) भएको देशमा ८  महिनाको व्यापार घाटा लगभग साढे ७  खर्ब पुग्छ भने त्यहाँ हाम्रो आर्थिक प्रणालीको दोष छ । अहिले हाम्रो मुद्रा बजारमा तरलताको अभाव हुनुमा लगभग साढे ८ खर्बको आयात हुनु पनि एउटा प्रमुख कारण हो । 

हामीले वस्तुहरू आयात गर्दा हाम्रो नेपाली मुद्राले भारतीय मुद्रा, चिनियाँ युआन, अमेरिकी डलर र जुन देशबाट वस्तुको आयात गरिने हो, त्यही देशको मुद्रा राष्ट्र बैङ्कबाट खरिद गरिन्छ । नेपाली मुद्राले विदेशी मुद्रा खरिद गरेर आयात गरिएका वस्तुहरूको मूल्य तिर्दा हाम्रो विदेशी मुद्राको सञ्चिति एकातिर घटिरहेको हुन्छ भने राष्ट्र बैङ्कमा विदेशी मुद्रा खरिद गर्दा थन्किएको हाम्रो नेपाली मुद्रा समयमै ल्याण्डिङ हुन नपाउँदा बजारमा तरलताको अभाव सिर्जना हुन्छ, अहिले त्यही भइरहेको छ । 

हामीले आयात गरिएका वस्तुहरूलाई यदि हाम्रो उत्पादन प्रणालीमा परिवर्तन नगर्ने हो भने आयात प्रतिस्थापन हुन सक्दैन । हामीले यही अनुपातको व्यापार घाटा बेहोरिरहनु पर्नेछ र यो व्यापार घाटाले आर्थिक रूपमा देशलाई कङ्गाल बनाउने र राजनीतिलाई समेत अस्थिर बनाइरहने छ । 

त्यसैले, हामीले हाम्रो आर्थिक नीतिमा परिवर्तन गरेर हाम्रो उत्पादन प्रणालीलाई परिवर्तन गर्न सक्नुपर्दछ । अहिले हाम्रो मौद्रिक र वित्तीय नीतिले गाउँ र सहरको, गरिब र धनी बीचको आर्थिक खाडल अझ ठुलो बनाइरहेको छ । 

गलत नीतिकै कारण अहिले हामी जन्मिएका हुर्किएका घरहरू खण्डहर बनेका छन्, हामीले श्रम पोखेर उत्पादन गर्ने पाखा बारी र टारी खेतहरू बाँझो बनेर कर्ण फूल र बनमारा झाङिगएका छन् । कुडेमा दूध उम्लिए झैँ अहिले सहरका घरजग्गाको भाउ उम्लिएको छ । जसले हाम्रो उत्पादन प्रणालीमाथि धावा बोलिरहेको छ । मुलुकमा कार्यान्वयनमा रहेका समग्र वर्तमान नीतिहरूले सीमित मानिसहरूलाई अवसर र पहुँच प्रदान गर्ने र बहुसङ्ख्यक मानिसहरूलाई पहुँच र अवसरबाट बाहिर राखिरहेको छ । 

यसरी देशको अर्थतन्त्र उँभो लाग्दैन । अब हामीले हाम्रो देशलाई समृद्धिको राष्ट्रिय आकाङ्क्षासँग जोड्ने अर्थात् समाजवाद उन्मुख देश बनाउने हो भने हाम्रो जमिनको वर्गीकरण प्रणाली, जमिन प्रयोगको नीति बनाउनेदेखि आर्थिक, सामाजिक नीति र हाम्रो सोच र दृष्टिकोण रूपान्तरण सहितको आफ्नै मौलिक धरातलको जगमा उभिनु पर्दछ । वर्तमान कटपेष्टबाट निर्माण भएका आर्थिक प्रणाली, योजना निर्माणको प्रक्रिया, वित्तीय र मौद्रिक नीति लगायत समग्र नीतिहरू नै परिवर्तन गर्न सक्नु पर्दछ । 

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ११ : १७ बजे