सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नगरपालिका र शक्तिकेन्द्रको आर्शिवादमा मेलम्चीमा अवैध हस्पिटल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रका बासीहरू भौगोलिक विकटता र दैविक विपत्तिबाट मात्र पीडित छैनन् राज्यको निरहिताले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा दिनरात ठगिन बाध्य छन् । 

राज्यको उपस्थिति नहुँदा सिन्धुपाल्चोक बासीहरू वर्षौँदेखि अवैध हस्पिटलको मनपरी सहन बाध्य छन्  । अवैधरुपमा सञ्चालन भइरहेको एक हस्पिटलले दिन दुगुना र रात चौगुना ठगिरहे पनि मेलम्ची नगरपालिकाले न त जनताको समस्या सुनेको छ न त देखेझैँ नै गरेको छ । अझ अचम्मको कुरा त वर्षौँदेखि अवैध अस्पताल सञ्चालन भइरहँदा यहाँका स्थानीयहरूलाई त्यसको कुनै सुइँको समेत पाउन सकेका छैनन् । 

कथा हो मेलम्चीमा सञ्चालन भइरहेको गैरकानुनी अस्पताल मेलम्ची हस्पिटलको । हो मेलम्ची हस्पिटल विगत चार वर्षदेखि बिना दर्ता र स्वीकृति सञ्चालन भइरहेको छ । 

अचम्मको कुरा त एक वर्ष अघि मेलम्ची नगरपालिकाले स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका २०७७ जारी गरे पनि उसले आफैले जारी गरेको निर्देशिकाको पालना नहुँदासमेत केही गरिरहेको देखिँदैन ।  

अवैध हस्पिटलले उपचारका क्रममा गरेको लापरर्वाही र मनपरी असुलीको धन्दा बारे निजी हस्पिटलको बदमासी, तीनवटा अस्पतालमा जाँच्दा तीनवटा रिपोट फरक फरक शीर्षकमा चक्रपथ डटकमले यस अघि नै समाचार प्रकाशन गरिसकेको छ । 

हस्पिटलले गरेको अनावश्यक चेकजाँच र नक्कली रिपोटका कारण बिरामीहरूले भोग्नुपरेको सास्तीका विषयमा सनसनीपूर्ण समाचार प्रकाशन भएसँगै मेलम्ची हस्पिटलले आफ्नो कमजोरी ढाकछोप गर्न कर्मचारी तत्काल हटाएको थियो । यस विषयमा पनि चक्रपथ डटकमले चिकित्सक हटाएर कमजोरी लुकाउँदै मेलम्ची अस्पताल,अस्पताल दर्ता नै नभएको खुलासा शीर्षकमा अर्को समाचार प्रकाशन गरेको थियो । 

अस्पताल बिना इजाजत सञ्चालन भइरहेको बारे मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासाइने नै स्विकार्नुहुन्छ । ‘अस्पताल दर्ताका लागि निवेदन आएपनि हालसम्म कुनै स्वीकृति नदिइएको स्वास्थ्य शाखा प्रमुख घोरासाइनेको भनाई छ । 

हस्पिटललाई स्वीकृति दिने वा नदिने कार्यपालिका क्षेत्राधिकार रहेको भन्दै उहाँ हालसम्म नगरपालिकाबाट कुनै निर्णय नभएको बताउनुहुन्छ । ‘निवेदन परेसँगै स्वीकृति दिने नदिने विषयमा राय दिनका लागि अनुगमन समिति बनाइएको र दुई पटक अनुगमन गरे पनि अझै हस्पिटलले पुर्‍याउनु पर्ने मापदण्ड पुरा गरिनसकेकोले कार्यपालिकालाई सिफारिस नगरिएको घौरासाइनेको भनाई छ । 

अस्पताल दर्ताको स्वीकृति नै नपाएको मेलम्ची हस्पिटलले भने आफूले नगरपालिकालाई वर्षौदेखि कर तिरिरहेको र दुर्गम क्षेत्रमा हस्पिटल सञ्चालन गरेर पुण्यको काम गरेको दाबी गरिरहेछ ।  

अस्पतालका सञ्चालक विष्णु खकुरेले स्वंयमले आफ्नो अस्पताल दर्ता नभएको स्विकारे । चक्रपथ डटकमसँग कुराकानी गर्दै प्याकुरेलले आफ्नो बुबाको राम्रो कामले यस क्षेत्रमा लोकप्रियता पाएको भन्दै बुबाकै इच्छा पुरा गर्न अस्पताल चलाएको र कुनै गल्ती नगरेको बताउँछन् । स्थानीयहरू भने प्याकुरेल धेरै क्षेत्रमा हात हालेका व्यापारी भएको र पहुँचकै आधारमा मेलम्चीमा अवैध हस्पिटल चलाइरहेको बताउँछन् ।  

अवैध हस्पिटल सञ्चालन गरी दिउसै रात पार्दै बिरामी चेकजाँचका नाउँमा मनपरी रकम र  बिरामीहरूलाई अनावश्यक  टर्चर दिने उक्त हस्पिटलको कमजोरी र अवैधताका विषयमा सप्रमाण समाचार आइरहेपनि अस्पताल निर्बाध चल्नु रहस्यमय छ । 

लामो समयसम्म मेलम्चीबासीहरुलाई ठगिरहेको मेलम्ची हस्पिटल यत्ति लामो समयसम्म कसरी बिना दर्ता सञ्चालन भयो त ? यति लामो समयसम्म राज्यका आँखा किन पुग्न सकेन त ? । चक्रपथ डटकमको विशेष खोजले हाल मेलम्ची हस्पिटल रहेको ठाउँमा यस अघि चिरञ्जीवी नामको वैध अस्पताल रहेको भेट्यो । चिरञ्जीवी अस्पताल घाटामा भएसँगै उसले आफ्ना सामान बेचेर हस्पिटल बन्द गर्ने  निर्णय गर्‍यो । चिरञ्जीवी हस्पिटलले बेच्न लागेको सस्ता समानमा व्यापारी विष्णु खकुरेलका आँखा परे । खकुरेलले उक्त अस्पतालका समान मात्र किनेनन् समानसँगै त्यही स्थानमा नक्कली अस्पताल खोलेर जनता झुक्क्याउन् सफल बने । स्थानीय जनताको आँखामा अस्पतालको नाम परिवर्तन गरेको जस्तो मात्र देखाएर खकुरेलले वर्षैसम्म मेलम्ची हस्पिटल चलाइरहे  । चिरञ्जीवी हस्पिटलको ठाउँमा मेलम्ची हस्पिटलको बोर्ड टाँसेर गरिएको अवैध कारोबारबारे आजपनि मेलम्चीवासी अनभिज्ञता प्रकट गर्छन्  ।

अस्पतालका बदमासीहरू एकपछि अर्को आउन थालेपनि मेलम्ची बासीहरू अझै उक्त क्षेत्रमा चलिरहेको अवैध अस्पतालबारे बेखबर नै छन् । धेरै जसो स्थानीयहरूको तर्क छ यहाँ त यस अघि नै अस्पताल थियो, नाम परिवर्तन भएको होला । 

मेलम्ची नगरपालिकाले जारी गरेको स्वास्थ्य निर्देशिका २०७७ मा २४ बेडसम्मका अस्पतालहरूले अनिर्वायरुपमा स्थानीय तहसँग हस्पिटल सञ्चालनको लागि अनुमति लिन पर्ने व्यवस्था छ । उक्त निर्देशिकामा २४ बेडभन्दा मुनीका अस्पतालका लागि चाहिने आवश्यक र न्यूनतम मापदण्ड बारे स्पष्टसँग उल्लेख छ । मेलम्ची हस्पिटलका सञ्चालक खकुरेल भने चार वर्ष अघि दर्ताको नाउँमा एउटा कागजी चिर्कटो नगरपालिकामा पेस गरेर कानुनी प्रक्रिया नै नपुर्‍याई मेलम्चीवासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरीररहेका छन् । बिना दर्ता लामो समयसम्म हस्पिटल सञ्चालन भइरहेपनि राज्यको अनुगमन गर्ने निकाय भने अझै निन्द्रामै रहनु रहस्यमय छ । 

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ६ : ०२ बजे