कञ्चनपुर। लालझाडी गाउँपालिकाको देखभूली स्वास्थ्य चौकीलाई आज उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ ।
केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन । कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलव्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताउनु भयो । २६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य रु चार लाख ९७ हजार रहेको छ ।
स्वास्थ्य चौकीका अधिकृत लिलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्लुएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखतभूली स्वास्थ्य चौकीमा मात्रै रहेको छ ।
८६ हजार भेडाबाख्रालाई पिपिआर
कञ्चनपुरमा ८६ हजार घरपालुवा जनावर भेडा र बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउनका लागि जिल्लाका नौ वटै स्थानीय तहका बासिन्दाका घरपालुवा जनावर बाख्रा र भेडालाई पिपिआर महामारी रोग विरुद्धमा खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शङ्करदत्त जोशीका अनुसार चालु आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोग विरुद्ध सो खोप लगाइएको हो ।
सुचना अधिकारी जोशीले भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने बताउनु भयो । “चालु आवमा ९० हजार भेडा बाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “दोश्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौं । अभियान निरन्तर जारी रहन्छ ।” एक पटक खोप लगाईसकेपछि ३ वर्षका लागि ढुक्क हुने उहाँको भनाइ छ । रासस
प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार ४ : २६ बजे
प्रतिक्रिया