‘एउटै नाउरको सिकार गर्न २३ लाख’

‘सूर्यका सन्तान’ आदिवासी हायू जनजाति 

१. सामान्य परिचय  
हायू जाति नेपालको एक आदिवासी जनजाति हो । उनीहरू आफूलाई आफ्नो भाषामा ‘वायू’ जाति भन्छन् भने आफूmलाई किरात वायू भनेर चिनाउन चाहन्छन् । गैर हायूले भने उनीहरूलाई हायू भनेर नै चिन्छन् जसका कारण उनीहरू हायू आदिवासी जनजातिबाट परिचित भएका छन् । हायू (वायू) एक छुट्टै मौलिक अस्तित्व र सामाजिक संरचना भएको आदिवासी समुदाय हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल सरकारद्वारा आदिवासीहरूलाई पाँच (५) समूहमा विभाजन गरेर लोपोन्मुख आदिवासी जनजाति समूहअन्तर्गत राखिएको जातिगत समुदाय पनि हो । 

हायूहरूको पुर्ख्यौली विर्ताका रूपमा पूर्वमा रोङखोला, पश्चिममा च्यास्कु खोला, उत्तरमा सुनकोसी र दक्षिणमा मूलडाँडा (टिम्ती डाँडा) रहेको थियो । तर अहिले सो क्षेत्रका अधिकांश हायूहरू भूमिहीन अवस्थामा छन् । यसैगरी उनीहरूको ऐतिहासिक पुर्ख्यौली भूमिका आधारमा लिखूको शिरदेखि सुनकोसीसम्म हालको ओख्रेनी, सुकाजोर र रामेछाप गाविस पर्दछन् । बसोबासका आधारमा सिन्धुली, सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे, सिराहा आदि जिल्लाहरूमा पनि फैलिएका छन् । हायू जातिको आफ्नै मौलिक भाषा छ जुन भाषा भोटबर्मेली परिवारअन्तर्गत पर्दछ । तर, खस भाषाको प्रभावले गर्दा आफ्नो अलग्गै मातृभाषा भए तापनि यो जातिमा बोलीचाली भने एकदमै कम प्रयोग भएको पाइन्छ । यही अवस्था रहिरहेमा हायू जातिहरूको भाषा संकटमा पर्ने देखिन्छ । उनीहरूको भाषा सुनुवार आदिवासी जनजातिको भाषासँग धरै हदसम्म नजिक रहेको छ । 

हायू आदिवासी जनजातिहरूको शारीरिक बनोट मङ्गोलियन मूलका मानिसको जस्तै हुन्छ । उनीहरूको कद मध्यम र धेरै हदसम्म राई, लिम्बू र सुनुवारहरूसँग मिल्दछ । उनीहरूको उचाइ औसत वा मध्यम खालको छ भने कोही कोही भने अग्ला पनि भेटिन्छन् । उनीहरूको नाक प्रायः नेप्टो र मोटो आकारको हुन्छ । कपालको रङ कालो, चिम्सो आँखा, रातो वर्णको छाला हुन्छ । यस कारण रूप रङ र कद नेपालमा रहेका किरात परिवारसँग मिल्दोजुल्दो देखिन्छ ।    

वि.स. २०६८ को राष्ट्रिय जनगणनाअनुसार हायूहरूको कुल जनसङ्ख्या २९२५ उल्लेख छ । स्थलगत विवरण अनुसार कमलामाई नगरपालिका ८८७, रामेछाप नगरपालिका ७५४, गोलन्जोर गाउँपालिका ४१५, काठमाडौँ महानगरपालिका ४१, काभ्रे ४४, मरिण ३५, मन्थली ३१,  दुधौली ३०,  तीन पाटन २२ रहेको छ । सर्लाही, सिराहा, उदयपुर,र सुनसरी, झापा तथा भोजपुर जिल्लामा पनि सानो सानो सङ्ख्यामा हायूहरूको बसोबास गरेको देखिन्छ । सङ्ख्यात्मक हिसाबले सिन्धुली र रामेछापमा हायूहरू बढी रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार हायू आदिवासी जनजातिको साक्षरता स्थिति हेर्ने हो भने ६० प्रतिशत जनसङ्ख्या निरक्षर रहेको देखिन्छ । साथै कुल जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि रहेको उल्लेख छ ।

धार्मिक दृष्टिकोणले हेर्दा हायूहरू किरात संस्कृतिसँग मिल्दोजुल्दो हुनाले उनीहरू आफूmलाई किरात आदिवासी भनेर पनि चिनाउने गर्दछन् । हायू जातिले प्राकृतिक रूपमा नै आफ्ना इष्ट देवी—देवताको पूजा गर्ने हुनाले उनीहरू प्रकृति पूजक हुन् । हायूहरूको आफ्नो पुर्ख्यौली पेसा खेतीपाती नै हो । तर ज्याला–मजदुरी पनि एक अर्को पेसाका रूपमा अपनाएको पाइन्छ । समयको परिर्वनसँगै वर्तमानमा अन्य क्षेत्रमा पनि रोजगार गर्दै आएका छन् । विगतमा रोजगार तथा अन्य कार्यका लागि विशेषतः राई, सुनुवार, भुजेल जातिका रूपमा आफूmहरू रूपान्तरण भए तापनि हाल आएर वायू (हायू) आदिवासी जनजाति हौँ भनी चिनाउनुमा यिनीहरू गौरव गर्छन् ।  

२. जातीय उत्पत्तिको इतिहास
हायू जातिको पुर्खा र पुर्ख्यौली थलोको बारेमा हालसम्म यकिनसाथ भन्न सकिएको छैन । यसै सन्दर्भमा (सत्याल २०३१) का अनुसार “यो हायू जाति कहाँबाट नेपाल आयो, पुर्खा र पुर्ख्यौली थलो कहाँ छ ? केही भन्न सकिन्न । सब अन्धकार छ, पुर्ख्यौली अन्धकार भएझैँ यसका अन्य मान्यताहरू पनि एक किसिमले अन्धकारमा नै विलीन हुन लागेका छन् ।” 

त्यस्तै, हायू जातिको अधिकांश पाका तथा जानकार व्यक्तिहरूबाट आफ्नो पुर्ख्यौली थलोको बारेमा धेरै वर्ष पहिले लङ्का पलङ्काबाट नेपाल प्रदेश गरेका दाजुभाइमध्येको कान्छो भाइ हायू भएको कुरा उल्लेख गरिएको पाइयो (कुसुम, २०४३) यसरी लङ्का पलङ्का कुरा गरे तापनि वास्तविक रूपमा त्यो कहाँ पर्दछ सो बारेमा अनभिज्ञ नै भएको पाइयो । उनीहरूकै आधारलाई मान्ने हो भने त्यो ठाउँ धेरै टाढा हो भन्ने बुझिन्छ भने नेपाल भूमिको दक्षिणी दिशाबाट नेपाल प्रवेश भएको कुरा व्यक्त गर्छन् । 

यस्तैगरी, हायू जातिको वंशावलीका सम्बन्धमा प्रकाश पार्दै (दिवस २०३९) लेख्नुहुन्छ— “किरात इङ्वाका दस भाइ छोराहरूमध्ये किरात राई पूर्वज लुङफेवा, थाङफेवा, याङफेवा, सुनुवार र हायू हुन् । मौखिक वंशावलीमा मंगोललाई ‘स्वायम्भूव मनु’ र ‘सतरूपा’का सन्तान मानिएको छ । मङ्गोल जातिको उत्पत्ति स्थल हेमन्तभूमि (मङ्गोलिया) मा बसोबास गर्ने मङ्गोल स्कन्धका जातिहरू आदि पूर्वज हुन् । ‘स्वायम्भूवमनु’का तीन भाइ छोराहरूमध्ये जेठा मुनाइङ्वा, माहिलो थोबोइङ्वा र कान्छोको थाबोइङ्वा थियो, तर तप्तगिरिको प्रभावले हेमन्तमूमिमा तिनीहरूको सन्तान एकातिर बढ्न र फैलन सकेनन् भने अर्कातर्फ उनीहरू तप्तगिरिको ताप खप्न नसकी अन्य देशमा सर्ने विचार गरी तीन भाइका सन्तान तीनतिर, तीन पक्ष भई फुटे । स्वायम्भूव मनुको पुत्र मनाइङ्वाको पुत्रको नाम किरात वाइङ्वा हो । किरात वाइङवा भारतीय उपमहाद्वीपको उत्तरी र पूर्व हिमालय विशेषतः नेपाल, आसाममा बसोबास गर्ने लामो कपाल भएका आदिम किरात जातिका पूर्वजहरू हुन् ।” 

हायू समुदायमा सुनुवार अर्थात् किरात समूह र हायू दाजुभाइ हो भन्दछन् । त्यस कारण उनीहरूमा सुनुवार र हायू पुर्खाका भाइ भाइ हुन् भन्ने भनाइ छ । त्यसका आधारमा हेर्दा सन् १३२४ मा नबाब गयासुद्दिन तुगलकले हमला गरी सिम्रौनगढ ध्वस्त पार्दा त्यहाँका राजा हरिसिद्धि देवसँग भाग्नेहरूमा सुनुवारहरू पनि थिए । सम्भवतः यिनै सुनुवारहरूसँग हायूहरू पनि रामेछाप आएका हुन् भन्ने ठाउँ‘चाहिँ रहेको छ । (कुसुम, २०४५) 

यसरी नै यस जातिको नामलाई सुनुवार भाषामा अर्थ लगाउँदै (पौडेल २०४४) लेख्छन्— “हायू थरका सम्बन्धमा हिँड्न नसक्दा कस्तो ह.यू. अर्थात् सुनुवार भाषामा ह.यू.को अर्थ ‘पछाडि तलबाट आउँदै छ’ हुन्छ । हायू थर हिँड्न नसक्दा ह.यू. रहेछ भनी बोलाउँदा त्यही ह.यू. अपभ्रंश भएर पछि उसबाट जन्मेका सन्ततिहरूलाई हायू भन्न थालिएको हो । यिनीहरूको पुर्खा सिम्रौनगढबाट आउने क्रममा पाँच जना दाजुभाइ वासस्थानको खोजीमा पहाडको बाटो लाग्ने क्रममा कान्छो भाइ हायूले रामेछापमा आई स्थायी रूपमा बसोबासको केन्द्रबिन्दु बनाएका हुन् । पछि बसाइँ–सराइका क्रममा सिन्धुली, सर्लाही तथा काभ्रे आदि जिल्लाहरूमा समेत स्थायी बसोबासको केन्द्रबिन्दु बनाएको कुरा उल्लेख छ ।” 

हायूहरूको विषयमा सुनुवार वंशावलीमा एउटा किंवदन्ती भने प्रचलित रहेको छ । किंवदन्तीअनुसार परापूर्वकालमा एक राजाका सात वटी छोरी थिए । ती सात मध्येकी अन्तरी मैया सधैँभरि राति राति जङ्गलमा नुहाउन जाने गर्थिन् । उनको यो क्रम धेरै लामो समयसम्म चल्यो । त्यत्तिकैमा एक रात अचानक सूर्योदय भयो र अन्तरी मैया गर्भवती भइन् । यो खबर जताततै फैलियो र राजाले पनि थाहा पाए । त्यसपछि उनकी अविवाहित छोरी गर्भवती भएकोमा अत्यन्तै चिन्तित भए । त्यत्तिकैमा व्यास ऋषिले राजालाई ती कन्याको गर्भ सूर्यदेवको हो चिन्ता लिनु पर्दैन भनेपछि बल्ल राजा ढुक्क भए । कन्याको गर्भ परिपक्व भएपछि त्यसबाट एक पुत्रको जन्म भयो । उनका पनि पाँच पुत्र जन्मिए । ती पाँचै जना ठुला भएपछि सँगसँगै घुम्न निस्किए र तिब्बतसम्म पुगे । त्यहाँ पुगेपछि एक भाइले उतै बस्ने इच्छा गरेकाले उनलाई त्यतै छाडी बाँकी चार भाइ त्यहाँबाट नेपालको भोटतिर झरे । उनै चार भाइमध्येका एक भाइका सन्तान पछि गएर लिम्बू भए । अर्को भाइका सन्तान राई भए । अर्कोका सुनुवार भए र कान्छो भाइ हायू कहलिए । यसरी सूर्यदेवको गर्भबाट आफ्ना पुर्खाको जन्म भएको किंवदन्ती सुनाउँदै हायूहरूले आफूलाई सूर्यदेवका सन्तान भन्दछन् र सूर्यकै पूजा गर्दछन् (बाठा मगर, २०६४) । 

हायूका अन्य दाजुभाइ कहाँबाट अलग भएका हुन् भन्ने सम्बन्धमा प्रयागराज लेख्नुहुन्छ “हायूका चार दाजुहरू साण्डेको उकालो चढेर पौवा डाँडामा पुगे । साण्डेको उकालोलाई पहिले विकट मानिन्थ्यो, अहिले पनि यस्तै छ । त्यसैले त यस्ता कविता सुन्न पाइन्छ:

साण्डेको त्यो विकट पथको सम्झँदामा उकाली ! छोडे क्यारे जगत दुनियाँ हात गोडा फुकाली !!
तिर्खा लागे रूख बथरका पात मोडेर खाऊ ! पेवा भन्छन् घरघर हुँदी माग्न पानी नजाऊ !!

पौवा डाँडामा धेरै बेर बस्दा पनि कान्छो भाइ आइपुगेन र त्यसलाई लिन गए । पाँच भाइ जम्मा भए । कान्छो हिँड्न नसक्ने ठहरिएकाले त्यसलाई त्यहीँ छोडिदिए । जेठा, माहिला, साहिँला र काहिँला भाइ सरासर गएर मन्थली घाट तरे । त्यसपछि जेठा सुरीखोलाको तीर लागे । माहिला खिन्ती खोलातर्फ लागे, साहिँलो र काहिँलो सुदूर पूर्वतिर दूध कोसी तरी उकालो लागे । कान्छा भाइ पनि केही बेरपछि मन्थली तरी रामेछापको मुढाजोरमा गई बसे भन्ने कुरा पाइयो । 

त्यसपछि जेठाका सन्तान सुरेल, माहिलाको सन्तान सुनुवार, साहिँलाको सन्तान राई, काहिँलाको सन्तान लिम्बू र कान्छाका सन्तान ‘हायू’ जातिको रूपमा प्रसिद्ध हुँदै गए भन्ने कुरा उल्लेख छ । साण्डेको भौगोलिक अवस्थिति, पानीको समस्या, बोटबिरुवाको रूपमा बयर र सतिबयर मात्र पाइन्छ । नाक ठोकिने उकालोजस्ता कुरालाई गहिरिएर विचार गर्ने हो भने हायू, राई, सुनुवार, सुरेल र लिम्बूको वासस्थान पनि मिल्दोजुल्दो पाइने हु‘दा यो किंवदन्ती सत्यको नजिक भएको देखिन्छ । 

हायू जातिका बारेमा हड्सनको बेग्लै धारण छ । उनका अनुसार प्रत्येक गाउँ‘को एउटा नेता हुन्छ, जसलाई मझुवा भन्दछन् । तर कसैले मझुवालाई माझी पनि भन्दछन् भन्दै यसको कारणमा आफ्ना माझ एवं बीचमा रहने नेतालाई बीचको वा माझको अर्थमा मझुवा पनि भनेको हुन सक्दछ । साथै, पूर्वी नेपालको माझकिरातमा मझुवा नामको ठाउँ‘ पनि छ । सम्भवतः वायू(हायू)हरू कुनै समय मझुवाबाट अन्यत्र गएर बसेको र त्यसै ठाउँ‘को सम्झनामा आफ्नो नेतालाई मझुवा भन्न थाले भन्ने उल्लेख पाइन्छ । (शर्मा, २०३९)

 

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ११ : ०३ बजे