नेपाल एक भूपरिवेष्टित देश भए पनि यो भौगोलिक तथा सांस्कृतिक विविधताले धनी छ । त्यसैले यहाँ बसोबास गर्ने समुदायका लागि प्रकृतिको अपार आशीर्वादका रूपमा प्राप्त हिमाल, उच्च पहाड, चुरे र समथर तराई जस्ता विविध भू–बनोट गौरवका विषय हुन् ।
यहाँ जसरी विविध भू-बनोट छ त्यसरी नै मानवीय विविधता पनि छ जससँग धेरै वेशभूषा, भाषा, धर्म, सांस्कृतिक परम्परा र ज्ञान सीप उपलब्ध छन् । समुद्र सतहदेखि ६० मिटरको उचाइबाट सुरु भएर विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ अर्थात् ८८४८ मिटरको उचाइसम्म फैलिएको हुँदा यस देशमा जैविक विविधता पाइन्छ । यहाँ उष्णप्रदेशीय वनस्पतिदेखि टुन्ड्रा प्रदेशीय वनस्पति र जीवजन्तुहरूको उपलब्धता छ ।
यहाँका प्राकृतिक स्रोत र साधनको दिगो व्यवस्थापन गरी संरक्षण, सदुपयोग गर्न सकेमा देशवासीका लागि मात्र नभई विश्वका जनसमुदायका निम्ति पनि त्यसलाई लाभदायक बनाउन सकिने प्रचुर सम्भावना छ । यहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका उच्च हिमाल मध्ये आठ ओटा अग्ला हिमालले चाँदीजस्तै उच्च शिर झल्काइरहेका मात्र छैनन्, विश्वका पर्यटकहरूलाई मनमोहक दृश्यबाट आकर्षित गरी बर्सेनि लाखौँको राजश्व राज्यलाई उपलब्ध गराएका छन् ।
यिनै हिमशृङ्खलाबाट उत्पन्न कर्णाली, गण्डकी र कोशी नदी यहाँ सुसाइरहेका मात्र छैनन्, यहाँको उर्वर जमिनलाई सिञ्चित गर्न, विद्युत् उत्पादन गर्न तथा पर्यटकीय उद्योगको सम्भावना दिन सदा तत्पर छन् । उच्च हिमाली क्षेत्रमा रहेका बहुमूल्य औषधिजन्य जडीबुटी तथा सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिहरूले यहाँका बासिन्दालाई मात्र हैन, उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्न चाहने जो कोहीका लागि अनन्त अवसरहरू दिइरहेका छन् ।
उच्च पहाडी क्षेत्रका चरन क्षेत्रहरूले पशु व्यवसायबाट दुग्ध उत्पादन गर्न विभिन्न प्रजातिका घाँसहरू उपलब्ध गराइराखेका छन् । यस क्षेत्रमा विभिन्न प्रजातिका गाई वस्तुहरूको राम्रो व्यवस्थापन गरी दूध र दुग्धजन्य पदार्थ उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने मात्र होइन, छिमेकी राष्ट्रहरूमा पनि यसबाट बन्ने परिकारहरू निर्यात गर्न सक्ने ठुलो सम्भावना छ ।
यति मात्र होइन, यस क्षेत्रमा कृषि उत्पादनका परम्परागत विधिलाई परिमार्जन गरी यहाँ पाइने स्याउ, नास्पाती, जुनार लगायत रसजन्य वनस्पति जस्तै डालेचुक (Seabuckthorn) जस्ता प्रजातिलाई उच्च प्राथमिकता दिए यसबाट धेरै आम्दानी गर्न सकिन्छ । मध्य पहाडी क्षेत्रमा उत्तम प्रजातिका डाले घाँसहरू प्रचुर मात्रामा पाइने हुनाले त्यहाँ पशु व्यवसाय सञ्चालन गरी प्रशस्त फाइदा लिन सकिन्छ । यसका साथसाथै जैविक मल प्रयोग गरी स्वास्थ्यकर खाद्यान्न जस्तै फापर, कोदो, जौ, गहुँ ,मकै लगायत अन्न र अन्य नगदे बालीबाट वर्तमान अवस्थामा आफ्नो देशमा रहेको जनसङ्ख्यालाई स्वास्थ्यकर खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्नुका साथै विदेशमा पनि निर्यात गर्न सकिने प्रचुर सम्भावना छ ।
यस क्षेत्रमा फलफूल व्यवसायका साथै माहुरी पालन, माछा पालन, च्याउ खेती, कुखुरा पालन, परेवा पालन तथा तरकारी र नगदे बाली उत्पादनको लागी राम्रो हावापानी रहेको छ । तेज पात (Cinnamomum tamala) र टिमुर (Zanthoxylum armatum) का साथै यहाँ अदुवा, अलैँची, अम्रिसो, आलु, अकबरे खुर्सानी जस्ता नगदे बालीबाट प्रशस्त आयआर्जन गर्न सकिन्छ ।
मध्य पहाडी क्षेत्र र तराईमा पाइने विविध किसिमका बाँस प्रजातिलाई सदुपयोग गरी उद्यमशीलताको विकास गर्न सकेमा यसबाट उत्पादित हस्तकला, घरायसी सामानबाट आत्मनिर्भर मात्र होइन बाहिरी देशहरूमा पनि निर्यात गर्न सकिने राम्रो सम्भावना छ । यसले ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । यसो गर्दा ठुलो लगानी गर्नु पर्दैन अनि परम्परागत ज्ञान र सीपको पनि संरक्षण हुन्छ । हामीसँग अहिले भएको सीपमा अलिकति अरू सीपको तालिम दिने हो भने हामीले बजारको मागलाई सजिलै पूर्ति गर्न सक्ने अवस्था छ ।
तराईका समथर भूभागमा त देशको जनसङ्ख्यालाई खाद्यमा आत्मनिर्भर बनाउन सक्ने उर्वरा शक्ति रहेको छ । त्यहाँको जमिनमा सिँचाइको व्यवस्था गर्न सकेमा धान, गहुँ, मकै, उखु मात्र होइन, उष्णप्रदेशीय फलफूलहरू जस्तै आँप, लिची, केरा, अम्बा, मेवा तथा नरिवल उत्पादनको राम्रो सम्भावना छ । बहुमूल्य औषधिजन्य जडीबुटीले भरिपूर्ण यो क्षेत्र सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिहरू जस्तै मेन्था (Mentha piperita) , लेमनग्रासहरू (Cybopogon species) का साथै रस उत्पादनका लागि बेल (Aegle marmelos) जस्ता वनस्पतिबाट युक्त छ । यसो भएको हुनाले यहाँ परम्परागत कृषि प्रणालीमा सुधार गर्दै वैज्ञानिक कृषि प्रणालीको विकास गर्नुपर्ने अनि कृषि र पशु व्यवसायलाई राज्य स्तरबाट व्यवस्थापन गरी देशभित्र रहेका सीपमूलक जनशक्तिलाई आधुनिक प्रविधिमा दक्ष बनाई रोजगारमूलक कृषि प्रणालीको विकास गर्नुपरेको छ । ।
विश्वमा बढ्दै गइरहेको तापक्रम र त्यसबाट उत्पन्न जलवायु परिवर्तनका असरहरूबाट मात्र होइन, विश्व ध्रुवीकरणको प्रभावबाट नेपाल पनि सङ्क्रमित हुन पुगेको छ । धनी राष्ट्रहरूले गरेको प्रविधि विकासको साथसाथै सहरीकरण, औद्योगीकरण र आणविक भट्टीहरूको स्थापनाका कारण जीवन जगतलाई नै चुनौती दिने हानिकारक हरितगृहग्यासहरू (कार्वनडाइअक्साइड, नाइट्रिकअक्साइड, मिथेन, हाइड्रोफोलोरोकार्बन, परफोलोरोकार्बन, सल्फरहेकजाफलोराइड र पानीका वाष्पहरू) बाट वनस्पति, जीवजन्तु र मानव जीवनलाई सङ्कटमा पारिरहेको अवस्था छ ।
यी ग्यासहरूको प्रभावबाट जलवायुमा पर्न गएको असरका कारण समयमा वर्षा नहुने, सुख्खा खडेरी लामो हुने, कतै अतिवृष्टिबाट बाढी पहिरोका कारण जनधनको क्षति हुन गइरहेको छ भने कतै अनावृष्टिका कारण उत्पादन योग्य भूमि नै मरुभूमिमा परिणत हुँदै गइरहेको छ । जलवायु परिवर्तनका असरहरूले मुख्य गरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधार जस्ता क्षेत्रहरूमा प्रभाव परेको देखिन्छ ।
यसका असरहरू सबैका लागि समान नहुन सक्छन् । धनी राष्ट्रलाई भन्दा गरिब राष्ट्रलाई तथा धनी परिवारलाई भन्दा गरिब परिवारलाई अनि वृद्ध, महिला र बालबालिकाहरूलाई असर बढी पर्न गएको देखिन्छ किनभने वहन क्षमता कमजोर हुनाले यिनीहरू नै बढी जोखिम अवस्थामा रहेका छन् ।
विकसित देशहरूले जलवायु परिवर्तनका असरहरूबाट बच्न र जोखिमलाई न्यूनीकरण गर्न वहन क्षमतामा वृद्धि गरिसकेका छन् भने हाम्रो जस्तो गरिब मूलक जहाँका जनता साँझ र बिहानको हातमुख जोर्ने समस्याबाट ग्रसित छन्, तिनीहरूले जलवायु परिवर्तनका असरहरूबाट बच्न र जोखिमलाई न्यूनीकरण गर्न वहन क्षमतामा वृद्धि गर्ने काम गर्नु टाढाको कुरा देखिन्छ ।
हरित गृह ग्यासहरूको उत्पादनमा हाम्रो खास भूमिका नरहे पनि वा ०.०२७ प्रतिशत मात्र भूमिका रहे पनि जलवायु परिवर्तनका असरहरूबाट सबैभन्दा बढी चाप नेपालले बेहोर्नु परेको देखिन्छ । तापक्रमको वृद्धिले गर्दा बाह्रै महिना हिउँले ढाकिएका उच्च हिमाल आज काला चट्टानका रूपमा परिणत भइरहेका छन् भने हिमतालहरू फुटेर त्यस तलका बस्तीहरू नै बगाउने जोखिम त्यत्तिकै छ ।
हिमनदीहरू बढेर बाढी, पहिरो र नदी कटानको समस्या बढ्दो छ । उच्च हिमालहरू यसरी नै पग्लिँदै जाने हो भने भविष्यमा पानीका स्रोतको अवस्था कस्तो होला, जलविद्युत आयोजना र विद्युत् उत्पादनमा कस्तो असर पर्ला, यसले नेपालका पर्यटकीय क्षेत्रमा कस्तो प्रभाव देखाउला भन्ने विषय जटिल समस्या बनेर हाम्रा सामु उभिएको छ । तापमान वृद्धिका कारण हिमरेखाहरू माथिमाथि सरेको अनि जैविक विविधतामा ह्रास आइरहेको कुरा तथ्यले देखाउँछन् ।
विगत एक दशकदेखिको अध्ययनका अनुसार लामो खडेरी, सुख्खा हावा, कम वर्षाका कारण मध्य पहाडी क्षेत्रका पानीका मुहानहरू दिनदिनै सुक्दै गएका छन् भने आकाशे पानीका भरमा रहेका खेतीयोग्य जमिनहरू बाझिन पुगेका छन् । समयमा वर्षा नहुँदा त्यसले मौसम अनुसारको कृषि प्रणालीलाई नै खलबलाएको छ ।
यसले खाद्य सुरक्षामा सङ्कट देखिन थालेको छ । यति मात्र होइन, खडेरीका कारण विभिन्न किसिमका रोग र किराको प्रकोप अत्यधिक बढेसँगै किटनाशक औषधिको प्रयोग बाध्यकारी बन्न पुगेको छ । पशुपालन व्यवसायमा कमी आएकाले जैविक मलका सट्टा रासायनिक मलको प्रयोगबाट जमिन मात्र बिग्रँदै गएको छैन, मानव जीवन र पशुपक्षीमा समेत जटिल रोगहरू देखिन थालेका छन् ।
यसले कस्तो समाजको सिर्जना गर्ला ? लामो खडेरी, सुख्खा हावा र व्यवस्थापनको कमजोरीका कारण वन तथा जैविक विविधता माथि परेको चर्को असरको ज्वलन्त उदाहरण हो – वि.सं. २०७२ साल फाल्गुण र चैत्र महिनामा लागेको डढेलो, जसले नेपालका धेरै वन जङ्गलहरूको नोक्सानी भयो । वन र वनस्पति, काठ र गैर काष्ठ मात्र होइन यसबाट वन्यजन्तुहरू तथा जैविक विविधताका साथै धनजनको समेत नोक्सानी भयो ।
पहाडी क्षेत्रमा गाउँसँग जोडिएका सामुदायिक वनहरूमा लागेको आगोबाट वन र वनस्पति मात्र होइन, घर गोठ र चौपायाहरू समेत डढेर ठुलो क्षति बेहोर्नु परेको तथ्य हामी सबैलाई जानकारी नै छ । झन्डै तीन दशक लगाएर संरक्षण गरी हुर्काइएका सामुदायिक वनहरू नै वनजन्य उत्पादनको दिगो विकास गरी आत्मनिर्भर बन्ने अवस्थामा समुदाय पुगेकै बेला क्षणभरमा नै खरानीमा परिणत हुनु दुःखदायी कुरा हो ।
यसरी नै अतिवृष्टि भई भूक्षय, पहिरो तथा बाढीका कारण तराईका उर्वर भूमि कटान, डुबान हुनाका साथै भौतिक पूर्वाधारहरू जस्तै बाटो, पुल, नहर, विद्यालय, सामुदायिक भवन तथा जलविद्युत आयोजनाको समेत क्षति भइरहेको छ । यसबाट मानिसको जीवनयापनमा धेरै समस्याहरू थपिँदै गएका छन् ।
नेपालको परिप्रेक्ष्यमा हेर्दा जलवायु परिवर्तनले ल्याएका चुनौतीहरूमा कृषि र खाद्य सुरक्षामा सबैभन्दा जटिल समस्या पर्न गएको देखिन्छ । उर्वर जमिन भए पनि सिचाइका लागि कुलो, नहर आदिको विकास नभइसकेकाले मनसुनी वर्षामा निर्भर बन्न बाध्य कृषि क्षेत्रले समयमा मनसुनी वर्षा नहुँदा मौसम अनुसारको खेती गर्न पाएको छैन । वर्षा धेरै कम हुने हुँदा पानीका मुहानहरू सुक्दै जानाले धेरै स्थानहरूमा पिउने पानीको समेत अभाव देखिएको छ । सिँचाइको अभावका कारण उत्पादन पनि नहुने र पिउने पानीको अभावका कारण पहाडी क्षेत्रका बासिन्दाहरू बसाइँ सर्ने प्रथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बढ्दो देखिन्छ ।
आफ्नो देशमा रोजगारीको अवसर नभएका कारण वैदेशिक रोजगारीमा जाने र कमाएको धनले तराईका बाटोछेउमा तथा सहरमा घडेरी किन्ने प्रचलन बढेको छ । यसका साथै पहाडका सबै जग्गाजमिन छाडेर अन्यत्र बसाइँ सर्नेको लहर पनि कम छैन । आफ्नो पुर्खाले गरेको कृषि पेसालाई त नयाँ पुस्ताले चटक्कै छाडेको देखिन्छ । यसबाट पहाडी क्षेत्रका सुविधा भएका गाउँघरहरू पनि खाली बन्दै गएका छन् ।
घरहरू भत्किने अवस्थामा पुगेका छन् भने खर बारीमा काँढा, खेतबारीमा बनमारा मौलाएको देख्न पाइन्छ । घरका छानाहरूमा झार, आँगनमा सिस्नो, कण्टकारी र दुबो मौलाएको छ भने गोठका छानामा फर्सी, इस्कुस र चुच्चे करेली मौलाएका छन् तर यसको उपभोग गर्ने कोही देखिँदैन । सम्भ्रान्त परिवारका मानिसहरू बेलायत, अस्ट्रेलिया र युरोपमा छन् भने मध्यम वर्गका मानिसहरू काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर जस्ता सहरी क्षेत्रमा बसाइँ सरेको पाइन्छ ।
गरिब परिवारका सदस्यहरू साहुको ऋण धनका कारण घरजग्गा धितोमा राखी श्रम बेच्नका लागि वैदेशिक रोजगारीमा कतार, मलेसिया, दुबई र भारतमा पुगेका छन् । परम्परागत ज्ञान शिल्पका धनी दलित समुदायले आफ्नो सीपको विकास गर्नेतिर त कुरै छोडौँ, निरन्तरता दिनेतर्फ पनि सोचेको छैन । हामी यस्तो अवस्थामा छौँ जहाँ रहेका अवसरहरूलाई न त राज्यले जिम्मेवारीपूर्वक हेरेको छ न त यहाँका बासिन्दाले नै ।
पहाडका कृषियोग्य जमिन बाझिँदै गएका छन् भने काठमाडौँ र तराईका उर्वर भूमिलाई टुक्रा (प्लटिङ) पारेर बेच्ने कामले व्यापकता पाएको छ । वैदेशिक रोजगारीबाट आएको धन घडेरी किन्न अनि घर बनाउनमा खर्च भएको छ । घर बनाउने र भाडामा लगाउने लहर काठमाडौँमा मात्र होइन, देशका विभिन्न साना ठुला सहरमा पनि निकै मौलाएको छ ।
यसबाट समाजमा धेरै नकारात्मक प्रवृत्ति मौलाएको पनि देख्न र सुन्न थालिएको छ । वृद्ध भएका आमाबाबु जसले एउटा सानो झुपडीमा बसी त्यहाँका पाखा पखेरामा खनजोत गरी उत्पादित अन्नपातले ७,८ जना छोराछोरी हुर्काउने, पढाउने काम गरे, आज ती वृद्धहरूको रेखदेख मात्र होइन, गाउँमा मर्दापर्दा मलामी जाने मानिसको पनि अभाव भइरहेको अवस्था छ । बल्लतल्ल तरकारी खेतीतर्फ उन्मुख किसानहरूले पनि कृषि सम्बन्धी राम्रो ज्ञानका अभावमा अत्यधिक रासायनिक मल र विषादीको प्रयोगका कारण आफ्नो स्वास्थ्य मात्र होइन, उपभोक्ताहरूलाई समेत खतरामा पारिरहेका छन् ।
पढेपछि काम गर्न हुन्न, कृषि पेसा त अक्षर नचिन्नेहरूले मात्र गर्ने हो भन्ने गलत सोचाइका कारण सहरमा बस्ने बच्चाहरूलाई आवासीय विद्यालयमा राख्ने, सबै बनावटी खाना खाने प्रवृत्ति हाबी भएको देखिन्छ । हुन त हाम्रा गाउँघरहरूमा राम्रा विद्यालय, हस्पिटल, कलेज र उद्योग कलकारखानाको विकास भएको भए परिस्थिति अर्कै हुन्थ्यो होला ।
आफ्नो देशमा भएका धेरै अवसरहरूको प्रयोग नगरी हामी विदेशकै कमाइ अनि विदेशकै उत्पादनमा भर पर्न थालेका छौँ । यस्तो मानसिकता रहिरहने हो भने भारत जस्तो विस्तारवादी तथा प्रभुत्ववादी देशले फेरि नाकाबन्दी लगाउँदा नेपाली जनताले के खाएर बस्ने होला ? समयमा नै यस्तो तितो सत्यलाई मनन गरी अग्रगामी पाइला नचालेमा भविष्यमा जटिल र विकराल अवस्था नआउला भन्न सकिन्न ।
यस अवस्थालाई निराकरण गर्न राज्य, राजनीतिक पार्टी र जनता स्वयंले पनि नयाँ प्रविधिको विकास गरी, परम्परागत प्रणालीको अनुसरण र विकास गर्दै, विज्ञानको प्रयोग गरी आइपर्ने चुनौतीको सामना गर्दै आफ्नो देशमा भएका अवसरहरूको प्रयोग गर्नु आवश्यक छ । स्रोत र साधनको दिगो प्रयोग गरी आत्मनिर्भर बन्न कोसिस गरौँ । जलवायु परिवर्तनका असरहरूबाट बच्न समयमा नै वहन क्षमतामा वृद्धि गरौँ , हामीसँग धेरै अवसरहरू छन् ।
(लेखक खनाल वन तथा प्राकृतिक स्रोतसाधन व्यवस्थापन विज्ञ हुनुहुन्छ)
प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ८ : १७ बजे
प्रतिक्रिया