साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा

काठमाडौँ  – नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ तर विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ ।”

सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’का बारेमा  चर्चा सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो– “बालकृष्ण सम राणा वंशमा जन्मिएता पनि प्रजातन्त्र, न्याय र समानताका साथै देश र जनताप्रति सधैँ चिन्तित रहेको पाइन्छ ।” उहाँले सम नाटक, कविता लगायतका विधाका विशिष्ट साधक हुनुका साथै चित्रकारिता र अभिनयका क्षेत्रमा पनि उत्तिकै विशिष्ट रहेको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा प्रा.डा. पौडेलले सम बहुमुखी प्रतिभाका धनी भएको बताउनुभयो । उहाँले भन्नुभयो– “नाटक लेखन, कविता लेखनका साथै नाटक निर्देशन र अभिनयमासमेत समको विशिष्ट योगदान रहेको पाइन्छ । समको नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान रहेको छ ।” 
कार्यक्रममा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गर्नुभएको थियो । 

कार्यक्रमका सभाध्यक्ष तथा नेपाली शिक्षा परिषद्की अध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताउनुभयो । 

प्रज्ञा परिसरमा अवस्थित बालकृष्ण समको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धा अर्पण गरिएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो । 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १० : ५४ बजे