साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चन्द्रागिरि नगरपालिकाद्वारा आफ्नै नयाँ कलात्मक भवनबाट सेवा शुभारम्भ

काठमाडौँ । काठमाडौँ जिल्लाको सबैभन्दा ठुलो नगरपालिकाको रूपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको  छ ।  

उपत्यकाको मौलिक, सांस्कृतिक  एवम् कलात्मक आँखी झ्याल शैलीमा नवनिर्मित  छ तलाको सोही  भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ । 

भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा  नगरवासीले एकीकृत रूपमा पाउने छन् । यस अघि नै पशु सेवा कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा सम्पन्न भइसकेको जनाइएको छ ।  

चन्द्रागिरि– १२  गुर्जुधारामा रहेको  सात रोपनी जमिन मध्ये  तीन  रोपनीमा   प्रशासकीय भवन बनेको छ भने  चार रोपनीमा बाहिरी  बगैँचा लगायतको संरचना निर्माणाधीन छन् । 

काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भन्ज्याङ, वाड भन्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भन्ज्याङका  तत्कालीन गाउँ विकास समिति मिलाएर ‘चन्द्रागिरि नगरपालिका’ बनाइएको थियो । बाल, ज्येष्ठ नागरिक र अपाङ्गता मैत्री नवनिर्मित   भवन  अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा बनेको नगरवासीको ठम्याइ छ  । 

भूकम्प प्रतिरोधी र अग्नि नियन्त्रक उपकरण जटित  सो भवनमा करिब २०० क्षमताको  सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ छ ।  जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभयो । उहाँहरूले  नै विसं २०७६ मङ्सिर ११ गते संयुक्त रूपमा सो भवनको शिलान्यास गर्नुभएको थियो । 

ती दुई  स्थानीय तहका  संयुक्त साझेदारीमा रु २५ करोड लागतमा भवन सहित बाहिरी आकर्षक बगैँचा  सम्पन्न हुन लागेको हो ।  सो रकम मध्ये समन्वय समितिको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले  ठेक्का पाएको सो भवन  सम्झौता अनुसार विसं २०७८ वैशाख भित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।  

नगरपालिकाका १५ वडा मध्ये अधिकांशले  आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएका छन् ।  पछिल्लो समय वडा नं ३ र ४ वडाको नयाँ कार्यालय भवन हाल मात्र निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेलले  जानकारी दिनुभयो  । 

सो अवसरमा नगरप्रमुख गिरीले भन्नुभयो, “नवनिर्मित नगरपालिकाको आफ्नै भवनबाट  एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमिकतामा  थियो । यस कार्यमा सफलता मिलेको छ । ” समन्वय समिति काठमाडौँका प्रमुख  राजवैद्यले महामारीका बीचमा भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा समन्वय समिति र नगरपालिकाका बीचमा सहकार्य जारी रहने जानकारी दिनुभयो । 

कार्यक्रममा नगरपालिकामा कार्यरत कम्प्युटर अधिकृत ९सातौँ तह ० का  सीताकुमारी कार्की र थानकोट अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्मालाई जनही रु ५० हजार नगद सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा १३ औँ साग खेलकुद प्रतियोगितामा चन्द्रागिरि नगर निवासी पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । 

सम्मानित हुनेमा कराँतेमा स्वर्णपदक विजेता प्रवीण मानन्धर, बक्सिङमा रजत पदक विजेता ललिता महर्जन, भलिबलमा रजत पदक विजेता प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा भण्डारी तथा  प्रशिक्षक द्वय कराँतेका  वीरकृष्ण शाही र बक्सिङका दीपक महर्जन हुनुहुन्छ । 

कार्यक्रममा नगर उपप्रमुख लिशा नकर्मीले नगरका विकासका गतिविधिबारे चर्चा गर्नुभएको थियो ।  रासस  

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ११ : ३० बजे