आन्तरिक हवाई उडानमा अत्यधिक चाप

दलले कारबाही गरेका व्यक्तिलाई राखेर सदन चलाउने कुरा हुन सक्दैन : एमाले

काठमाडौँ – नेकपा एमालेले कारबाही गरेका १४ गैरसांसदलाई राखेर प्रतिनिधिसभा चलाउन नसकिने बताएको छ। 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले कारबाही गरेका १४ गैरसांसदलाई राखेर प्रतिनिधिसभा चलाउन नसकिने बताउनु भएको हो।  उहाँले दलले कारबाही गरेका व्यक्तिलाई राखेर सदन चलाउने कुरा हुनै नसक्ने बताउनु भएको हो ।  त्यो निर्णय सच्चिनुपर्छ । यदि नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ”, महासचिव पोखरेलले भन्नुभयो ।

छलफलमा स्थानीय तहको निर्वाचन, कोभिडको खोपको अपचलन र एक विभागीय मन्त्रीले हिंसालाई प्रोत्साहन गरेको र उहाँलाई कुनै कारबाही नभएको सन्दर्भमा एमालेले सरकारको ध्यानकर्षण गराएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

बालुवाटारमा आज भएको छलफलमा स्थानीय तहको निर्वाचन, संसद्को गत्यावरोधको अन्त्य तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका विषयमा छलफल भएको हो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमाले महासचिव शङ्कर पोखरेलले सरकार र प्रतिपक्षीबीच सम्वादको क्रम सुरु भएको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले यसलाई निरन्तरता दिने र नियमित छलफल गर्ने सो अवसरमा प्रतिबद्धता जनाउनुभएको उहाँको भनाइ छ । 

    सो अवसरमा प्रधानमन्त्रीले एमालेलाई एमसीसीलगायतका विषय अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । बैठकमा माओवादीका अध्यक्ष प्रचण्डले एमसीसीलाई सङ्घीय निर्वाचन पछाडि मात्रै सम्बोधन गर्ने गरी प्रमुख प्रतिपक्षीसहित आग्रह गरौँ भन्ने धारणा राख्नुभएको महासचिव पोखरेलको भनाइ छ । सो सन्दर्भमा सत्ता पक्षले सरकार र गठबन्धनको तर्फबाट प्रष्ट धारणा राख्न एमालेले आग्रह गरेको थियो । 

    प्रधानमन्त्रीले राष्ट्रिय सरोकारका मुद्दामा छलफल हुने वातावरण बनाउन र संसद्को बैठक नियमित कारबाहीमा प्रवेश गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षीलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको सो आग्रहका सन्दर्भमा एमालेले आफूहरू उपस्थित भएर भाग लिने वातावरण बनाउन तयार भएको र त्यसका लागि आफूहरूले कारबाही गरेका १४ सांसदको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको निर्णयका कारण असजिलो भएको धारणा राखेको थियो । 

   मुलुकमा देखिएको वित्तीय सङ्कटको बारेमा छलफल भएको र सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने एमालेको आग्रह थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहहादुर कार्कीको सहभागिता थियो । 

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ०४ बजे