देउवा र प्रचण्डले एमसीसीलाई लेखेको ६ बुँदे पत्र

पार्टी सदस्यलाई बुझाउनेदेखि गठबन्धनले संयुक्त पत्रकार सम्मेलन गर्नेसम्म (पत्रको भावनुवादसहित) :

​​​​​​​​​​​​​​काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयलाई पत्र लेखेर सङ्घीय संसद्बाट पारित गराउने लिखित प्रतिबद्धताको खुलासा भएको छ । 

अमेरिकन सहयोग एमसीसीका बारेमा स्वयं माओवादी अध्यक्ष प्रचण्डले कुनै पत्र नलेखेको सार्वजनिक प्रस्टोक्ति दिइरहेको बेला पार्टी कार्यकर्तालाई एमसीसीका बारेमा बुझाउनेदेखि गठबन्धन आबद्ध दलले संयुक्त पत्रकार सम्मेलन गरेर प्रस्टाउने सम्मका बुँदा उल्लेख गरेर प्रतिबद्धता पत्र पठाएको खुलासा भएको हो ।

न्युज पोर्टल अनलाइन खबरमा पत्रकार खगेन्द्र भण्डारीले सो पत्र सार्वजनिक गरेसँगै मुख्यतः माओवादी अध्यक्ष प्रचण्डले यसअघि पटक पटक एमसीसीलाई पत्र नै नलेखेको जिकिरसमेत झुटो भएको प्रमाणित भएको छ । 

गत असोज १३ गते प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्रमा “हाम्रा पार्टीका सदस्यहरूलाई राम्रोसँग बुझाउन एएमसीसीबाट प्राप्त प्रष्टीकरणलाई सत्ता गठबन्धनका सम्पूर्ण साझेदारसँग छलफल गर्ने” उल्लेख छ ।

यसैगरी, प्रधानमन्त्री तथा नेपाली काँग्रेसको सभापतिको हैसियतमा देउवा र माओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्रमा “एमसीसी अनुमोदनमा सरकारको सकारात्मक धारणा देखाउन गठबन्धन सरकारका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने” समेत उल्लेख छ । 

तर, गठबन्धन अन्य घटक माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चासँग यस विषयमा छलफल गरेर पत्र पठाएको हो वा होइन, त्यो भने खुलाइएको छैन ।

एमसीसीलाई पारित गराउनका लागि चार पाँच महिना आवश्यक रहेको भन्दै देउवा र प्रचण्डले संसद्बाट सम्झौता पारित गराउनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई अविलम्ब आग्रह गर्ने प्रतिबद्धता समेत उल्लेख गरेर असोज १३  गते उक्त पत्र पठाइएको उल्लेख छ ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रूपमा पठाएको पत्र अंशको केही भावानुवाद: 
हामी नेपाली काँग्रेसका सभापति तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रूपमा एमसीसी सम्झौता पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौँ । 

एमसीसी बोर्ड उपाध्यक्ष फातिमा सुमारको हालैको नेपाल भ्रमणका क्रममा एमसीसीबारे विस्तृत रूपमा छलफल गरेका छौँ र संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छौँ । यसलाई अनुमोदन गर्नेतर्फ  नवगठित गठबन्धन सरकारले सबै प्रयत्न गरिरहेको छ ।

नेपाल सरकार एमसीसी अनुदानको पक्षमा रहेको र यसलाई नेपालको आर्थिक विकासमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको तपाईँलाई विश्वस्त पार्न चाहन्छौँ ।

प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि आवश्यक बहुमत प्राप्तिको उद्देश्यसहित एमसीसीप्रति हाम्रो प्रतिबद्धता जनाउन आगामी चार पाँच महिनाभित्र निम्न कार्य गर्न हामी सहमत छौँ :

१. हाम्रा पार्टीका सदस्यहरूलाई राम्रोसँग बुझाउन एमसीसीबाट प्राप्त प्रष्टीकरणलाई सत्ता गठबन्धनका सम्पूर्ण साझेदारसँग छलफल गर्ने,

२. सम्झौता कार्यान्वयन, यसबारे गलत बुझाई र आशङ्का हटाउन नेपाली जनतासँग सार्वजनिक रूपमा सञ्चार गर्न नेपाल सरकारको स्रोत साधनको उपयोग गर्ने, 

३. एमसीसी अनुमोदनमा सरकारको सकारात्मक धारणा देखाउन गठबन्धन सरकारले नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने,

४. सरकारी सञ्चार माध्यमद्वारा सम्झौताबारे वास्तविक सूचना प्रदान गर्ने,

५. सम्झौता चाँडो कार्यान्वयनका लागि प्राविधिक र सञ्चार गतिविधि पूरा गर्न एमसीसी नेपाललाई प्रोत्साहन गर्ने, 

६. एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सभामुखलाई चाँडो टेबुल गर्न संयुक्त रूपमा आग्रह गर्ने ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ११ : ३६ बजे