आज श्रीपञ्चमी हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । यस दिन काठमाडौँको वसन्तपुर दरबारमा राष्ट्र प्रमुखले वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ । कठ्याङ्ग्रिँदो शिशिर ऋतुको उत्तरार्ध भएकोले ऋतुराज वसन्तलाई स्वागत गरिने सन्दर्भको यस दिनलाई विभिन्न ढङ्गले उत्सवमय रूपमा मनाउने प्रचलन छ । सनातन संस्कृतिका हरेक पर्वहरू प्रकृतिसँग सामित्यता राख्दछन् । यस अर्थमा वसन्त पञ्चमी महत्त्वपूर्ण पर्व हो ।
माथि नै उल्लेख गरिएको छ कि, यसलाई श्रीपञ्चमी पनि भनिन्छ । यस दिनलाई सरस्वती पुज्ने दिन मानेर विद्याकी अधिष्ठात्री मानिने देवी सरस्वतीको पूजा गरिन्छ । प्रचलन अनुसार यस दिन शिक्षारम्भ—विद्यारम्भ—अक्षरारम्भ गर्ने गरिन्छ । सनातन मान्यतामा शिक्षा, विद्या, ज्ञानलाई एउटै मानिन्छ । यिनलाई बुझ्ने—बुझाउने माध्यमलाई अक्षर मानिन्छ । आम रूपमा अक्षर भन्नाले स्वर—व्यञ्जन ‘वर्ण’ बुझिन्छ, तर अक्षर भनेको ध्वनिको आकृति वा आकार हो । यस अर्थमा शिक्षा, विद्या शब्द मात्र होइन; शिल्प(सीप) पनि हो भन्ने स्पष्ट हुन्छ । यसरी सरस्वतीको कार्यक्षेत्र शिक्षा र सीप दुवै हो र यी दुवै क्षेत्र श्रमविना प्राप्य छैन । ‘श्री’ भनेको ऐश्वर्य, वैभव, समृद्धि हो । ऐश्वर्य, वैभव, समृद्धि प्राप्त गर्न ज्ञान, सीप, श्रम आवश्यक पर्दछ । अतः सरस्वती पूजाको सम्बन्ध शिक्षा, सीप र श्रमसँग छ । मानव जीवनका सुखको आधार पनि यिनै हुन् ।
हामी पढ्दा श्रीपञ्चमीको दिन विद्यालयमा सरस्वतीको पूजा हुन्थ्यो । हामी लाम लागेर सरस्वतीको फोटोमा घरबाट लिएर गएको फूल, अबिर, फल चढाएर ढोग्थ्यौँ । विद्यालयबाट व्यवस्था गरिएको एक चम्चा बुँदी (बुनियाँ) खान्थ्यौँ र मुख गुलियो पार्थ्यौँ । मनमनै सरस्वती माता ‘मलाई पास गराइदिनुहोस् !’ भन्थ्यौँ र पास हुने वरदान माग्थ्यौँ । माथिल्लो कक्षाका राम्रो स्वर भएका केही दिदी—दाइहरूले सरस्वतीको स्तुति भन्दथे र हामी दुवै हात जोडेर, आँखा चिम्लेर पछिपछि भन्थ्यौँ । स्तुति—सरस्वती वन्दना राम्रो लाग्थ्यो, तर अर्थ जानिँदैन थियो, अर्थ लगाइदिने चलन पनि थिएन । त्यतिबेला गरिने सरस्वती वन्दना अहिले पनि सम्झना छ :
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी । हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ।
यसको भावार्थ हो, हातमा वीणा र पुस्तक लिएकी, वाहनको रूपमा रहेको हाँससँगै रहेकी, जुन सरस्वती देवीलाई म देखिरहेको छु, उनले मलाई विद्या दिऊन् । यसमा उल्लेख गरिएका पुस्तक, वीणा, हाँस अर्थपूर्ण छ । पुस्तकले ज्ञान, वीणाले जीवन र हाँसले उचित— अनुचित छुट्याउने विषयको सङ्केत गरेका छन् । विद्यावान् (विद्वान) जीवन र जगत बुझेको हुनुपर्छ र असल गलत छुट्याउन सक्ने हुनुपर्छ भन्ने तात्पर्य स्पष्ट छ । त्यस्तै,
प्रथमं भारती नाम द्वितीयन्च सरस्वती । तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी ।।
पञ्चमं तु जगन्माता षष्ठं बागीश्वरी तथा । सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।।
नवमं सिद्धिदात्री च दशमं ब्रह्मचारिणी । एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः । जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।
अर्थ: पहिलो नाम भारती हो । दोस्रो नाम सरस्वती हो । तेस्रो शारदादेवी र चौथो हंसवाहिनी हो । पाँचौँँ जगन्माता हो र छैटौँ बागीश्वरी हो । सातौँ कौमारी र आठौँ वरदायिनी हो । नवौँ नाम सिद्धिदात्री र दसौँ ब्रह्मचारिणी हो । एघारौँ नाम चन्द्रघण्टा र बाह्रौँ नाम भुवनेश्वरी हो । जसले यी १२ नाम दिनमा तीन पटक सम्झना गर्दछ, उसको जिब्रोको टुप्पोमा ब्रह्मरूपा सरस्वती बस्दछिन् ।
यसरी मन्त्र भन्दै सरस्वतीको स्तुति गरिरहेको देखिन्छ । तर, सरस्वतीको यस्तो वन्दना गरिरहँदा पनि सरस्वती शब्दको अर्थ, सरस्वतीका नामको रूपमा व्यक्त भएका सामर्थ्यलाई बुझ्ने प्रयत्न गरेको देखिँदैन । सरस्वतीका १२ नामहरू प्रचलनमा छन् । सरस्वतीका यिनै १२ नामको स्तुति गर्ने र गराउनेहरूले पनि यी नाम सरस्वतीका गुण, विशेषता र सामर्थ्य हुन्, सरस्वतीका उपासकहरू(विद्यार्थीहरू)ले प्राप्त गर्ने अभीष्ट हो भन्ने हेक्का राखेको पाइँदैन ।
कति राम्रो भाव ! कति अर्थपूर्ण स्तुति !! तर, ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भनेजस्तो । अहिले पनि सरस्वती पूजाको यो दिन आउँछ, पूजा हुन्छ । टीका चन्दन लगाइन्छ, फल प्रसाद बाँडिन्छ, न अर्थ, न भाव ! अझ विद्यालय शिक्षाभन्दा माथि उठेपछि त यसैलाई अन्धविश्वास, रूढीवाद भनेर उल्याउन थालेको देखिन्छ । हुन पनि हो, यसरी अर्थविना जपिने नामले, गरिने पूजाले परम्परा मात्र वहन गरेको छ र अन्धविश्वास बढाउन मद्दत गरिरहेको छ ।
सरस्वतीका १२ नाम भनिएको छ । यी शब्द मात्र सुन्दा नामका रूपमा मात्र बुझिन्छ । तर, यसको अर्थ खोतल्यौँ भने यी सामर्थ्यका रूपमा देखिन्छन् । यस मन्त्रको माध्यमबाट विद्या प्राप्त गरेको व्यक्तिमा विकास हुने÷हुनुपर्ने विशिष्ट क्षमताको अपेक्षा गरिएको स्पष्ट हुन्छ । सरस्वतीका १२ नामको विषयमा संक्षिप्त विमर्श गरौँ ।
पहिलो नाम ‘भारती’को अर्थ भा (आभा/उज्ज्वलता) +रती (रमाउने/रुचाउने वा पक्षपोषण गर्ने)= भारती अर्थात् सबै प्रकारका अन्धकारमुक्त समाज निर्माण गर्न उन्मुख हुनु यस नामको प्रेरणा हो । दोस्रो नाम ‘सरस्वती’ सरस्+बत्ती अर्थात् रसयुक्त भएकी भन्ने अर्थ लाग्दछ । रस भनेको कुनै पनि विषयको सार हो । सरस्वती शब्दको यस नामले विद्यावानहरूलाई सारयुक्त हुन, खोक्र्याइको अवगुणबाट मुक्त हुन प्रेरणा दिन्छ । पढेलेखेका मानिसहरू सार ग्रहण गर्न र सार सम्प्रेषण गर्ने क्षमताको हुनुपर्ने अपेक्षा यस नाम—शब्दले वहन गरेको छ ।
सरस्वतीको तेस्रो नाम शारदादेवी हो । यसको अर्थ हो शरद ऋतुको जस्तो विशेषता भएको, निर्मल भनिएको हो । जहाँ धुलो—मैलो हुँदैन । जे हुन्छ स्वच्छ, हुन्छ । विद्याबाट मानिसमा यस्तो गुणको अपेक्षा गरिएको हुन्छ । त्यसैले विद्वानहरू तन र मन दुवैमा सफा सुग्घर हुनुपर्दछ भन्ने आशय रहेको देखिन्छ । सरस्वतीको चौथो नाम हंसवाहिनी हो । हंसवाहिनी शब्दको अर्थ त हाँसको सवारी गर्ने भनेको हो । तर यसको तात्पर्य हाँस भनेको पानीमा रहेर पनि पानीबाट नभिझ्ने, राम्रो—नराम्रो, उपयोगी—अनुपयोगी पर्गेल्न सक्ने क्षमतायुक्त हुनु हो । हंस शब्दको अर्थ कसै कसैले प्राण भन्ने पनि लगाउने गरेका छन् । यसरी हेर्दा विद्या प्राण वाहिनी भएको स्पष्ट हुन आउँछ ।
सरस्वतीको पाँचौँ नाम जगन्माता हो । जगत्+माता= जगन्माता । जगन्माताको अर्थ संसारकी आमा हो । आमा भनेको सिर्जनाको मुहान हुन् । यसको तात्पर्य के हो भने विद्वानमा सृजनशील क्षमता हुनुपर्दछ । आमाले नै सिर्जना र पालनपोषण गर्न सक्ने क्षमता राख्ने कुरा कुनै नौलो विषय होइन । यसरी सिर्जना र पोषणमा विद्याको महत्त्व दर्साइएको छ । विद्वानहरूले नयाँ विषय सिर्जना गर्न र त्यसलाई हुर्काउन सक्दछन् भन्ने आशय स्पष्ट छ । सरस्वतीको छैटौँ नाम वागीश्वरी हो । वाक् (वाणी)+ईश्वरी (स्वामिनी)= वाणीकी स्वामिनी, वाणीलाई पूर्णतया नियन्त्रणमा राख्न सक्ने क्षमता हुनुलाई वागीश्वरी भनिएको हो । सरस्वतीका उपासकहरू जे पायो त्यो बोल्दैनन् । भनिन्छ नि ‘शब्दहरू निःशुल्क वा विना मूल्य पाइन्छ, तर यसको प्रयोग भने निकै महँगो हुन्छ ।’ पढेलेखेका विद्वानहरूको वाणी नियन्त्रित हुनुपर्दछ ।
सरस्वतीको सातौँ नाम हो— कौमारी । यसको तात्पर्य पवित्रता, निष्कलङ्क हुनु हो । सरस्वतीलाई सरस्वतीको उपासना गर्नु, पूजा गर्नु वा पढाइबाट पाइने क्षमता मध्येको महत्त्वपूर्ण क्षमता निष्कलङ्क, पवित्र भइरहन सक्नु हो । विद्वानहरू दागी हुनुहुँदैन भन्ने आशय हो ।
सरस्वतीको आठौँ नाम वरदायिनी हो । वरदायिनी भनेको अरूलाई दिन सक्ने हुनु हो । अरूलाई पनि आफूसरहको क्षमतावान बनाउन सक्नु हो । सरस्वतीको नवौँ नाम सिद्धिदात्री हो । आँटेको, चाहेको काममा सफलता प्राप्त गर्नु र अरूलाई पनि सिद्ध गर्न सक्ने बनाउनु हो ।
सरस्वतीको दसौँ नाम ब्रह्मचारिणी हो । ब्रह्ममा विचरण गर्ने शक्ति भएकी भन्ने अर्थ हो । विद्वानहरू शब्द तथा चिन्तनको माध्यमबाट सबैतिर पुग्न सक्ने हुन्छन् । पढे—लेखेका मानिसहरूको चिन्तन एवं उनीहरूले प्रयोग गर्ने शब्दको प्रभाव उच्चकोटिको हुन्छ । चन्द्रघण्टा सरस्वतीको एघारौँ नाम हो । चन्द्र उज्यालो र शीतलताको प्रतीक हो भने घण्टा गतिशीलता र समयको प्रतीक हो । यस शब्दले उज्यालो गरी, स्वच्छ जीवनशैली अपनाउँदै, समयको महत्त्वलाई बुझेर निरन्तर गतिशील हुने अर्थ राख्दछ । सरस्वतीलाई मान्नु भनेको स्वच्छता, समय र समयको गतिशीलतालाई बुझ्नु भनिएको हो । सरस्वतीको बाह्रौँ नाम भुवनेश्वरी हो । भुवन (जगत्, संसार) + ईश्वरी (सर्वोपरि, सबैभन्दा ठुलो शक्ति) = भुवनेश्वरी, संसारको सबैभन्दा ठुलो शक्ति विद्या हो । विद्या भनेको शिक्षा हो, ज्ञानको माध्यम र स्रोत पनि विद्या नै हो । यो विश्वव्यापी विषय हो । यिनै अर्थमा सरस्वतीलाई भुवनेश्वरी भनिएको हो । स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते अर्थात् राजा आफ्नो देशमा मात्र मानिने हुन्छ, विद्वान् सर्वत्र पूजिन्छ । देशको भौगोलिक सीमाना हुन्छ, तर विद्वत्ताको भौगोलिक सीमाना हुँदैन । सरस्वतीका नाम भन्नु नै सरस्वतीका सामर्थ्य हुन् र सरस्वतीको पूजा गर्नु भनेको विद्या—शिक्षाको माध्यमबाट यिनै सामर्थ्यहरू आर्जन गर्ने प्रतिबद्धता हो । सरस्वतीका १२ नामको सधैँ स्मरण गर्नु, सम्झनु या जप्नु भनेको माथि उल्लेख गरिएका सामर्थ्यहरू कहिल्यै नर्बिसौँ भनिएको हो ।
उज्यालोको पक्षपाती हुनु, रसिलो हुनु, सफा–स्वच्छ हुनु, गुण र दोष छुट्ट्याउन सक्ने हुनु, सृजनशील हुनु, बोलीमा नियन्त्रण गर्नु, शुद्ध र निर्मल हुनु, अरूका काममा सहयोगी हुनु, सफलताको बाटोमा अघि बढिरहनु, जगतका बारेमा सोचविचार गर्नु, समयको स्वर बुझ्नु, संसार आफ्नै हो भन्ने सोच्नु र यी सबै अनुसार व्यवहार गर्न सक्ने हुनु, बन्नु, बनाउनु सरस्वतीका उपासकहरूको कर्तव्य हो । यिनै क्षमताहरूको समष्टिलाई सरस्वतीका १२ नाम दिइएको हो । सरस्वतीको पूजा गर्नु कुनै धार्मिक कृत्य होइन, सामर्थ्यको कामना र सम्मान हो । यो स्तुति वा प्रार्थना, ध्यान यी सामर्थ्यको खोजी हो ।
युग बदलिँदो छ । पुराना केही छुट्दै छन्, केही नयाँमा रूपान्तरित हुँदैछन् । मानिसहरूमा केही सत्य बोध छ, केही भ्रम छ । सत्य बोध हुनु राम्रो हो । तर, भ्रमलाई राम्रो मान्न सकिँदैन । त्यो भ्रम के हो भने ‘पुरानाजति सबै अगतिला र नयाँ जति सबै गतिला ।’ यो भ्रमको मात्रा धेरथोर सबैमा भए पनि पढे—लेखेका, आधुनिक, सामाजिक अगुवाहरूमा बढी नै रहेको पाइन्छ । यो वर्ग भ्रममुक्त भएर अघि बढ्न सक्दा मात्र संस्कृति रूपान्तरणको गति साँच्चिकै गतिलो (गतिशील) हुन सक्नेछ । सकारात्मक दिशातर्फको गतिशील यात्राको लागि हामी शिक्षालाई उच्च महत्त्व दिइरहेका छौँ । शिक्षालाई ज्ञान, सीप र क्षमताको माध्यम मान्दै आइरहेका छौँ ।
सरस्वती पूजा सनातन मान्यता र संस्कृति हो । सनातन संस्कृतिको आधार वेद हो । वेदमा सरस्वतीका विषयमा लेखिएका यी सन्दर्भहरूले अन्य पक्षहरू उजागर गर्दछन्—
पावका नः सरस्वती वाजेभिर्वाजिनीवती । यज्ञं वष्टु धियावसुः । सरस्वतीले पवित्र बनाउँछिन्, पोषण दिन्छिन् र उनी बुद्धिमत्तापूर्वक ऐश्वर्यदान गर्छिन् । उनै देवी सरस्वतीले ज्ञान र कर्मद्वारा हाम्रो यज्ञ सफल गराइदिऊन् । चोदयित्री सूनृतानां चेतन्ती सुमतीनाम् । यज्ञं दधे सरस्वती अर्थात् सत्य र प्रिय वचन बोल्न सिकाउने र मेधावीहरूलाई यज्ञका लागि प्रेरणा दिने सरस्वती देवीले हाम्रो यो यज्ञ स्वीकार गरून् र हामीलाई खोजेको जस्तै वैभव दिऊन् । सरस्वती नः सुभगा मयस्करत् अर्थात् सौभाग्यशालिनी सरस्वतीले हामीलाई सुख दिऊन् । यज्ञ भनेको स्वहा, स्वधा भनेर गरिने हवनादि कार्य मात्र होइन । यज्ञ शब्दले उद्यम र युद्ध अर्थ वहन गर्दछ । सन्दर्भ अनुसार युद्धलाई सङ्घर्ष पनि भनिन्छ— सशस्त्र सङ्घर्ष, वर्गसंघर्ष, सामाजिक सङ्घर्ष आदि ।
यसरी बुझ्न सक्दा मात्र सरस्वती, सरस्वती पूजाको अन्तर्वस्तु ठम्याउन सकिन्छ । कुनै पनि शब्दको अर्थ सधैँभरि एउटै लाग्दैन । सबैतिर परिवर्तन—रूपान्तरणको कामना गर्नेहरूले सरस्वती पूजाको सन्दर्भलाई पनि समयसापेक्ष रूपमा बुझ्न, विश्लेषण गर्न र तदनुसार अवलम्बन गर्न आवश्यक छ ।
प्रकाशित मिति : २३ माघ २०७८, आइतबार ११ : १७ बजे
प्रतिक्रिया