लागुऔषधसहित भारतीय नागरिक पक्राउ

बनियानी । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा  भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई  १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बीओपी) ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ३० बजे