आज सरस्वती पूजा: विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै 

काठमाडौँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ ।

यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिनेछ ।

विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको यस वर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन् । 

यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधना गरिँदै छ । 

वसन्त श्रवण 
यस अवसरमा हनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ । 

वसन्त श्रवणको लागि बिहान १०:३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

वसन्त श्रवणमा कवि जयदेवले रचना गर्नुभएको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । यो पाठ १५ श्लोकको रहेको छ । 

आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ । 

वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ । रासस

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ०४ बजे