सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा छ : महासचिव पोखरेल

सुनसरी – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाएको  टिप्पणी गर्नुभएको छ ।

सुनसरीको धरानमा शनिवार आयोजित प्रेस चौतारी सुनसरीले २४औँ स्थापना दिवसको अवसरमा उहाँले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेकाे समेत आरोप लगाउनु भएको हो  । निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेको र लोकतन्त्र विरोधी काम नगर्न उहाँले सरकारलाई चेतावनी दिनुभएको छ । 

उहाँले भन्नुभयो, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको त अवज्ञा भएको छ नै आयोगको समेत बेवास्ता गरेको छ ।’  

महासचिव पोखरेलले एमालेको बढ्दो लोकप्रियता देखेर परमादेशबाट केपी ओली सरकार हराउने खेल भयो । जसको पीडा मुलुकले अहिले भोग्नु परेको बताउनुभयो । पोख्रेलले भन्नुभयो , ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन ।  यस्तो किन भयो भन्दा मुलुकलाई गलत बाटोमा लैजाने खेल हो ।’

साथै उहाँले छिमेकी देश भारतले सीमानाका लिपुलेक, लिम्पियाधुरामा सडक बनाउन अघि बढ्दा पनि सरकारले कुनै चासो नदिनुले गठबन्धन सरकार जनताको हित विपरीत काम गरिरहेको प्रतिक्रिया दिनुभयो । 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ५ : १६ बजे