एनपीएलको ट्रफी सार्वजनिक

प्रचण्ड–माधव : कम्युनिष्टतिर धारे हात, काँग्रेसतिर जम्ला हात

नेपालको कम्युनिष्ट आन्दोलनमा पटक–पटक ऐँजेरु पलाउने चलन हटेको छैन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष के पी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई आफूसरहको हैसियत दिएर पार्टी एकतामा सामेल गराए पनि प्रचण्डसँग माधव नेपाल र बामदेव गौतमको अप्राकृतिक साँठगाँठले कम्युनिष्ट एकता भङ्ग हुन पुग्यो । आफ्नो निहित स्वार्थका कारण आम नेपाली जनताको भावना विपरीत एकीकृत कम्युनिष्ट आन्दोलन तितरबितर बनाउन प्रचण्ड र माधव लागेको अब कहीँ कतै छिपेको छैन । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा नेकपा (एमाले) ले अङ्गीकार गरेको विचार जनताको बहुदलीय जनवादलाई हुबहु स्वीकार गरिएको थियो । प्रचण्डले बोकेर ल्याएको माओवादलाई छोडिएको थियो । एमालेले अङ्गीकार गरेको साङ्गठनिक ढाँचालाई स्वीकार गरिएको थियो, माओवादी सैनिक प्रकारको सङ्गठनलाई अस्वीकार गरिएको थियो । 

एमाले कब्जा गर्ने मनसुबा राखेका प्रचण्डले ’एकता’ अवधिभर  विचारको पक्षमा कुनै बहस पैरवी गरेनन् । बरु निरन्तर पदको बार्गेनिङ गरिरहे । कहिले आलोपालो प्रधानमन्त्रीको फण्डा निकाले भने कहिले शक्तिशाली एकल अध्यक्षको । प्रचण्डको बखेडामा माधव नेपाल र बामदेव गौतमले आगोमा घ्यू थपिरहे । पन्ध्र वर्ष पार्टी सत्ता समाले पनि पार्टी सत्ताप्रति माधव नेपालको अतृप्त भोक र बर्दियाबाट संसदीय निर्वाचनमा आफू हारेको बामदेवको झोँकको कारण प्रचण्डलाई साढेलाई रातो छाता देखाएर भड्काएसरह ओलीविरुद्ध भड्काइयो ।  

वर्षौँ वर्ष लगाएर निर्माण गरेको आफ्नो राजनीतिक धरातल छोडेर, एमालेले बनाइदिएको व्यक्तित्वलाई चकनाचुर पारेर माधव नेपालले कुन नैतिकता र धरातलमा राजनीति गर्न खोजेको हो ?

एकताबद्ध भइसकेको नेपालको कम्युनिष्ट आन्दोलनबाट प्रचण्ड त अकारण भागे नै, उनकै पछिपछि माधव नेपाल पनि लुरुलुरु लागे । प्रचण्ड र माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न खोजे पनि नेता कार्यकर्ताले त्यो स्वीकार गरेनन् । वाम आन्दोलनका अधिकांश नेता कार्यकर्ता एमालेको गौरवशाली लाल झण्डामुनि गोलबन्द रहे, विभाजनको पक्षमा लागेनन् । के पी शर्मा ओलीको बहुआयामिक नेतृत्व र एमालेको परिपक्व विचारले नै देशको कायाकल्प हुनसक्छ, प्रचण्डको जस्तो चटके कार्य शैली र माधव नेपालको पिछलग्गु कार्यशैलीले केवल बर्बादीमात्र निम्त्याउँछ भन्ने निष्कर्ष आम वाम मतदाताको रहेको छ ।

प्रचण्ड र माधवले जति टाल्न खोजे पनि आगामी वर्ष सबै तहको निर्वाचन सम्पन्न होइसक्नेछ । नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले) सँग पूर्णरूपेण सम्बन्ध विच्छेद गरेका उनीहरू आफ्नो अस्तित्वको लागि नेपाली काङ्ग्रेससँग जम्ला हात गरेर आगामी निर्वाचनहरूमा केही सिटको भीख मागिरहेका छन् । ’आमा, मलाइ त्यही केटी चाहियो’ शैलीमा नेपाली काङ्ग्रेससँग चुनावसम्म गठबन्धनको रोड्याईं गरिरहेछन् ।  

प्रचण्ड र माधव नेपाल आगामी निर्वाचनमा नेपाली काङ्ग्रेससँग गठबन्धन गरेर एमाले विरोधी मोर्चा बनाएर जनतासमक्ष गए निःसन्देह जनताका केही यक्ष प्रश्नको सामना गर्नु पर्नेछ ।

के हजारौँ जनताको बलिदान र अरबौँको भौतिक क्षति गरेर चलाइएको ’जनयुद्ध’ आफ्नो परिवार र केही आसेपासेको राजनीतिक र आर्थिक भविष्यको सुरक्षाका लागि नेपाली काङ्ग्रेसजस्ता दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिसँग निर्लज्ज जम्ला हात गर्नका लागि थियो ?

के प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) ले मान्दै आएको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवादले देशको कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गर्न र आफ्नो स्वार्थका लागि प्रतिक्रियावादीसँग अवाञ्छित साँठगाँठ गर्न सिकाउँछ ?

के नेपालको कम्युनिष्ट आन्दोलनले निर्माण गरेका नेता र विचारप्रति धारे हात लगाएर, विचार शून्य भएर  देश र जनताको हितमा कुनै एजेण्डा बनाउन नसक्ने प्रचण्डजस्ता नेतालाई जनताले कतिन्ज्यालसम्म कम्युनिष्ट नेताको रूपमा मानिरहने ?

वर्षौंवर्ष लगाएर निर्माण गरेको आफ्नो राजनीतिक धरातल छोडेर, एमालेले बनाइदिएको व्यक्तित्वलाई चकनाचुर पारेर माधव नेपालले कुन नैतिकता र धरातलमा राजनीति गर्न खोजेको हो ?

नेकपा (एमाले) र सो पार्टीको मूल नेतृत्वलाई कमजोर बनाउन नेपाली काङ्ग्रेसको नेतृत्वमा गठबन्धन बनाउने ’किङमेकर’ आफू नै भएको ठान्ने माधव नेपालको वर्तमान भूमिकाले देशले के पायो ? कि धेरै कुरा गुमायो ?

विगतमा नेपाली काङ्ग्रेस शक्तिमा हुँदा उसले नेपालका वाम शक्ति र खास गरी नेकपा(एमाले)लाई पेलेको माधव नेपालले बिर्सेका हुन् ? अहिले उनले नेपाली काङ्ग्रेसलाई जतिसुकै जम्ला हात र ताबेदारी गरे पनि उसको स्वार्थ पूरा भएपछि माधव नेपालको समूहको हालत के होला ?

नेपालको धरातलीय यथार्थमा आधारित भएर एमालेको नेतृत्वमा हुर्केको विश्व कम्युनिष्ट आन्दोलनकै नवीन विचार जनताको बहुदलीय जनवादप्रति माधव नेपालको के धारणा हो ? के उनी यो विचारको विकल्पमा अर्को कुनै ’ओजस्वी’ विचार निर्माण गर्छन् ? कि उनी नेपाली काङ्ग्रेसलाई क्रान्तिकारी शक्ति र एमालेलाई प्रतिक्रियावादी शक्ति देखाउने ’नवीन’ विचारको खोजीमा छन् ? कि नेपाली काङ्ग्रेसको काखमा बसेर कम्युनिष्ट आन्दोलन र समाजवादको गफ मात्र दिइरहन्छन् ?

यी यस्ता यक्ष प्रश्न हुन् जसको उत्तर प्रचण्ड र माधव नेपालसँग छैन । बरु शक्तिशाली कम्युनिष्ट आन्दोलनलाई अकारण विखण्डनमार्फत कमजोर बनाउने कलङ्कको टीका उनीहरूले जीवनभर लगाइरहनुपर्नेछ ।    

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ०१ बजे