हिमपातले मनाङमा सडकसँगै टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध 

मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रवार रातिबाट रोकिएको छ ।

बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ । धारापानीका स्थानीय थुतेन लामाका अनुसार हिउँ परे पनि दानाक्युसम्म सवारी आवागमन भइरहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ । 

प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बिहीबार दिउँसोदेखि मनाङमा हिमपात भएको बताउनुभयो । उहाँका अनुसार मनाङ, टङ्की मनाङ, हुम्डे, पिसाङ र नार्पाभूमिको नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक र तिमाङ क्षेत्रमा हावाहुरीसहित हिमपात भएको थियो । मनाङमा बिहीबार र शुक्रवार वर्षकै ठुलो हिमपात भएको प्रजिअ आचार्यले बताउनुभयो । 

मनाङको सदरमुकाम चामेमै तीन फिट बाक्लो हिउँ परेको छ । बाक्लो हिमपातले स्थानीयलाई आवतजावत गर्न समेत समस्या भएको छ । हिमपातले मानिस घरबाहिर निस्कन नसकेको र पदमार्ग बन्द भएको बताइएको छ । हिमपातका कारण मनाङको सदरमुकामसहित अन्य क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क समेत अवरुद्ध छ ।

नासों गाउँपालिका ८, ताचैमाथिको मेरपान रिपिटर टावरको रेडियो लिङ्क बन्द भएको छ । हिमपात र हावाहुरीले तालदेखि चामेसम्मको अप्टिकल फाइबर पनि डाउन भएको नेपाल टेलिकम मनाङ शाखाका प्रमुख ङिमा ङिटु लामाले बताउनुभयो । उहाँका अनुसार हिमपातले शुक्रवारदेखि मनाङमा इन्टरनेट र टेलिकमको सेवा अवरुद्ध भएको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ५२ बजे