काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, दिउँसोबाट मौसममा सुधार आउने

काठमाडौँ  । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । 

आज दिउँसोबाट मौसममा सुधार आउने र केही दिनका लागि थप वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । अरू प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनेछ । 

पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएको छ ।  

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ २२ गते (शनिवार)
दिउँसो:
देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। 

प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राती: प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

२०७८ माघ २३ गते (आइतबार)
दिउँसो:
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  

राती: प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ माघ २४ गते (सोमबार)
दिउँसो: प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राती:प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 

 

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ४५ बजे