राहदानी विभागको अनलाइन फर्म कीर्ते गर्ने तीन पक्राउ

​​​​​​​काठमाडौं – प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेशीशहर नगरपालिकाका ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका ३६ वर्षीय यमबहादुर थापामगर रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताएका छन् ।

उनीहरूको साथबाट ४० हजार नगद, एक थान कम्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ९ : ३६ बजे