विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज

बागलुङ । यहाँका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ ।

सो उमेर समूहका झन्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन् । 

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाका दस वटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ । 

“हरेक स्थानीय तहमा सातामा दुई बार खोप सेवा सञ्चालन भइरहेको छ, बुस्टर मात्रा पनि त्यसैअन्तर्गत दिइन्छ”, उहाँले भन्नुभयो, “६० वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने भनिए पनि दुवै मात्रा खोप लगाएर ६ महिना पुगेका ६२–६४ वर्ष उमेर समूहलाई पहिलो चरणमा खोप दिन लागिएको हो ।”

उहाँले सरकारी नीतिअनुरूप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने बताउनुभयो । 

यसअघि महामारीका बेला अग्र भागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करिब तीन हजारलाई बुस्टर डोज दिइएको थियो । कोभिशिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् ।

पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिसिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताउनुभयो ।  

बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले आज र मङ्गलवार ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने जनाएको छ ।

नगरको स्वास्थ्य शाखा परिसरबाटै खोप सेवा प्रदान हुनेछ । अरू स्थानीय तहले पनि स्थानीय अनुकूलतामा बार तोकेर खोप अभियान सञ्चालन गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयको आकडाअनुसार जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । खोपको दुवै मात्रा लगाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ ।

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने  दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ रहेको छ । बाह्रदेखि १७ वर्षभित्रका झन्डै २७ हजार बालबालिका र किशोर किशोरीलाई पनि मोडर्ना खोप दिन सुरु गरिएको छ ।

बाह्र वर्षमुनिका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान चलेमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्नेछ ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको स्वास्थ्यकर्मी बताउँछन् । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार पछिल्लो लहरमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून छ । “खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उहाँले भन्नुभयो ।

हाल जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ८४ छ । पछिल्ला दिनमा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या घट्दो छ ।

बिहीबार २२ सङ्क्रमित थपिएका छन् भने ८५ जना कोरोनामुक्त भएका छन् । रासस

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ५३ बजे