‘एउटै नाउरको सिकार गर्न २३ लाख’

संग्रहालय: एक विशिष्टीकृत पर्यटन क्षेत्र 

पृष्ठभूमि:
​​​​​​​पर्यटन क्षेत्र धुवाँरहित बहुआयामिक उद्योग हो । नेपालको भौगोलिक, भौगर्भिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक, विविधताहरू नेपालको पर्यटन उद्योगका साह्रै महत्त्वपूर्ण र अनुपम आयामहरू हुन् । यी हरेक क्षेत्र पर्यटकीय दृष्टिले विशिष्ट क्षेत्र हुन् । हामीले हाम्रा यी अद्वितीय तथा अनुपम विशेषताहरूलाई पर्यटन व्यवसायको रूपमा अघि बढाइरहेको भए तापनि अब यसको उच्चतम उपयोग गर्दै नेपालको पर्यटन अर्थतन्त्रलाई तीव्र गतिका साथ अघि बढाउने बेला भएको छ । हामीले जति मात्रामा हाम्रा यी पर्यटनका उत्पादनहरू विश्व बजारमा लैजान सक्छौँ, सोही मात्रामा हाम्रो अर्थतन्त्रले ठुलो फड्को मार्न सक्नेछ । 

नेपाल पर्यटन उद्योगको विशाल मैदान हो । हामी यति बेलासम्म धार्मिक, प्राकृतिक, संग्राहलय, पैदल, ग्रामीण, साहसिक, लगायतका क्षेत्रमा केही पाइलाहरू चालिरहेका छौँ, तर हामीले कुन स्थानमा के कस्ता पर्यटकीय गन्तव्यहरू छन् र भौगोलिक तथा भौतिक परिस्थितिका आधारमा के कस्ता थप पर्यटकीय स्थलहरू बनाउन आवश्यक छ भन्ने बारेमा बृहत्तर पर्यटन गुरुयोजनाका साथ अझै पनि अघि बढाउन सकेका छैनौँ । पर्यटनका विविध आयाममध्ये सङ्ग्रहालय पर्यटन पनि अहिले विश्वको महत्त्वपूर्ण पर्यटनको रूपमा अगाडि बढिरहेको । हाम्रो नेपालमा रहेका सङ्ग्रहालयहरू पनि बिस्तारै पर्यटन क्षेत्रका रूपमा अघि बढिरहेको देखिन्छ । नेपालमा रहेका महत्त्वपूर्ण पर्यटन सम्पदा तथा आवश्यकताका आधारमा थप विशिष्टीकृत सङ्ग्रहालयहरू पर्यटकीय रूपमा विकास गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउने बेला आएको छ ।  

के हो सङ्ग्रहालय र सङ्ग्रहालय पर्यटन ? 
सङ्ग्रहालय भन्ने मानव जीवन र जगतमा पाइएका महत्त्वपूर्ण मूर्त तथा अमूर्त वस्तु तथा सामग्रीहरूलाई व्यवस्थित रूपमा सङ्कलन र प्रदर्शन गरिने भवन हो । जुन स्थान नागरिक तथा पर्यटकहरूको लागि अध्ययन—अनुसन्धान गर्ने, शिक्षा आर्जन गर्ने र अवलोकन एवं मनोरञ्जन प्राप्त गर्ने उद्देश्यका साथमा स्थापना गरिएको हुन्छ । हामीले जब यस खालका सङ्ग्रहालयहरूलाई पर्यटन व्यवसायसँग जोड्दै पर्यटनका आवश्यक पूर्वाधार बनाउँछौँ तब उक्त स्थलमा पर्यटकहरू अध्ययन, अवलोकन, शिक्षा आर्जनका साथै मनोरञ्जन र आर्थिक उपार्जनसँग समेत जोडिन पुग्दछन् । त्यस्ता सङ्ग्रहालयहरूलाई पर्यटन संग्राहलयको रूपमा बुझिन्छ । यस्ता सङ्ग्रहालयहरूले पर्यटन र सङ्ग्रहालय दुवैको महत्त्व बढाउन सक्दछन् । यस प्रकारका सङ्ग्रहालयहरूले मानिसको जीविकोपार्जन र व्यवसायमा समेत सहयोग गर्दै पर्यटन अर्थतन्त्रमा समेत योगदान दिन सक्दछन् । यस खालका सङ्ग्रहालयहरू अहिले विश्वमा पर्यटन सङ्ग्रहालयका रूपमा चिनिने गरेका छन् ।

सङ्ग्रहालयको महत्त्व के हुन्छ ? 
सङ्ग्रहालय पर्यटन एउटा इतिहासको संरक्षण तथा हाम्रा सन्ततिका लागि अमूल्य निधि हुन् । सङ्ग्रहालयहरू निर्माण तथा संरक्षण गर्नु हाम्रो एउटा अहम् दायित्व पनि हो । हामीले हाम्रो देशमा रहेका जीवन र जगतका विविध क्षेत्रमा पाइने सबै अमूल्य सामग्रीहरूको व्यवस्थित रूपमा सङ्ग्रह र संरक्षण गर्ने, तिनीहरूबारे अध्ययन—अनुसन्धान गर्न अति आवश्यक भइसकेको छ । अहिले नै हाम्रा पुर्खा तथा हामीहरूले बाल्यकालमा देखेका र उपभोग गरेका धेरै विषयवस्तुहरू गुमाइसकेका छौँ र यदि कतै पाइए पनि हाम्रा अहिलेका सन्तानहरूलाई देखाउँदा आश्चर्यका वस्तु भइसकेका छन् । यस्ता वस्तुहरू देखेर उनीहरूले त्यसको उपयोग र अनुभव गरेका घटनाक्रमहरू बताउँदा विश्वाससम्म नगर्ने अवस्था आइसकेको छ । हाम्रै देशका विभिन्न भागमा भएका बहुमूल्य वस्तुहरू ज्ञानको अभावमा देखेर पनि चिन्न नसक्ने र त्यसको महत्त्व बुझ्न नसक्ने अवस्था पनि हुन गएको छ । यदि ती वस्तुहरूलाई समयमै चिन्ने, सङ्कलन गर्ने र व्यवस्थापन गर्न सकेनौँ भने ती वस्तुहरू लोप हुने अवस्थामा पुग्दै छन् । तसर्थ हामीले हाम्रा वरिपरि पाइने महत्त्वपूर्ण वस्तुहरू तथा तिनका अवशेषहरूको अझै पनि सङ्कलन र सङ्ग्रह गर्ने कार्यमा ढिलाइ गरियौ भने त्यो हाम्रो निम्ति एउटा पश्चतापको विषय हुनेछ । यसो हुँदा ती वस्तुहरू सन्ततिका लागि अज्ञात भएर जानेछन् । तसर्थ हामीले आगामी दिनमा यी सामग्रीहरू अध्ययन—अवलोकन तथा शिक्षा आर्जन गर्नका लागि हाम्रा सन्तति तथा अध्येताहरूका लागि महत्त्वपूर्ण सङ्ग्रहालय बनाउने कार्यमा थप योजनाबद्ध रूपमा लाग्न अब ढिलाइ गर्नु हुँदैन । 

विश्वका महत्त्वपूर्ण सङ्ग्रहालयहरू:
विश्वमा अहिले जुन स्थानमा विभिन्न विषयका ज्यादै महत्त्वपूर्ण सङ्ग्रहालयहरू छन्, ती स्थानमा अहिले लाखौँ मानिसहरू सङ्ग्रहालयहरूमा रहेका सामाग्रीहरू अवलोकन तथा अध्ययनका लागि जाने गर्दछन् । त्यस्ता सङ्ग्रहालयहरू अहिले विश्वका अत्यन्त आकर्षक पर्यटकीय गन्त्यव्यका रूपमा चर्चित छन् । ती स्थानहरू पर्यटन अर्थतन्त्रका हिसाबले पनि महत्त्वपूर्ण रहेका छन् । हाल विश्वका चर्चित सङ्ग्रहालयहरू The Louvre, Paris, The State Hermitage, The St. Petersburg, The British Museum, London, The Egyptian Museum, Cairo, Uffizi Gallery, Florence, The Metropolitan Museum of Art, New York, Momma Museum of Modern Art, New York The Metropolitan Museum of Art, New York, The Egyptian Museum, Cairo, Uffizi Gallery, Florence, The Vatican Museums, Rome/ Vatican city, Prado, Madrid, National Archaeological Museum, Athens आदि छन् । पर्यटकीय स्थलका रूपमा यी रहेका संग्राहलयहरूमा वर्षेनि एक करोड बढी पर्यटकहरूले अवलोकन तथा भ्रमण गर्ने गरेका छन् । 

चीन भ्रमणमा अवलोकन गरेका महत्त्वपूर्ण सङ्ग्रहालयहरू 
२०७४ सालको माघ महिनामा छिमेकी देश चीनको भ्रमण गर्ने अवसर पाएका थियौँ । सो अवसरमा हामी बेइजिङ र साङसी प्रान्तका केही सङ्ग्रहालयहरू अवलोकन गर्ने अवसर प्राप्तयु गर्‍यौँ । यस क्रममा हामीलाई बेइजिङ भ्रमणको निम्ता गर्दै बेइजिङको भ्रमणको सम्पूर्ण व्यवस्थापन गर्ने संस्था नेपाल—चीन सांस्कृतिक आदान—प्रदान केन्द्रको कार्यालयमा रहेको नेपाली बाजा तथा विविध सांस्कृतिक सामाग्री राखिएका थिए । यस्ता सामग्रीहरू हामीले नेपालमा प्रायः दुर्लभ भइसकेका  छन् । यी सामग्रीहरू देख्दा हामी आश्चर्यचकित भएका थियौँ । हामीले त्यति चासो दिन नसकेका विषयवस्तुहरू कसरी विदेशीहरूले यसको महत्त्व बुझेर चासो राख्दै सङ्ग्रहालय बनाउँदा रहेछन् र त्यसको महत्त्व के हुँदो रहेछ भन्ने मलाई लाग्यो । त्यसै गरी  बेइजिङको एउटा महत्त्वपूर्ण डिजाइनर संस्थाको अफिससँगै भवनमा समुन्द्रमा पाइएका विभिन्न प्रकार र स्वरूपका ढुङ्गाहरू राखिएको सङ्ग्रहालय जो हाम्रा निम्ति कल्पना नै गर्न नसकिने खालका थिए । ती पारदर्शी खालका ढुङ्गाहरूको अवलोकनबाट हामी आश्चर्य र उत्साही समेत भएका थियौँ । यही अवलोकन तथा भ्रमणका क्रममा हामीले विश्व सम्पदा सूचीमा रहेको विश्व प्रसिद्ध सङ्ग्रहालयको रूपमा रहेको ग्रेट वाल त विश्वको आश्चर्य र अनुपम उदाहरण नै हो । त्यस दृश्यको अवलोकन पनि यसै यात्राका क्रममा गरेका थियौँ । हामीले देख्यौँ र सोध्यौँ, यस प्रकारका सङ्ग्रहालयहरूको अवलोकन तथा अध्ययन गर्न दिनमै लाखौँ पर्यटकहरू आउने गर्दा रहेछन्, हामीले थाहा पायौँ । 

त्यसै गरी हामीले चीनको साहसी प्रान्तको बाउची नगरमा रहेको ताम्र युगीन सङ्ग्रहालयको अवलोकन गरियो । यो सङ्ग्रहालय करिब २ घण्टा अवलोकन गर्दा उक्त सङ्ग्रहालयमा ताम्र युगमा साधारण नागरिकदेखि त्यस समयका राजा महाराजाहरूले प्रयोग गर्ने सामाग्रीहरू, औजार उपकरण लगायतका विविध संस्कृति झल्कने सामाग्रीहरू अत्यन्त आकर्षक रूपमा व्यवस्थापन र प्रदर्शन गरिएको देखियो । त्यसै गरी उक्त प्रान्तको सियान सहरमा रहेको टेराकोटा बरियर रहेको विश्व चर्चित सङ्ग्रहालय देखियो । यहाँ सैनदलका बहादुर सैनिकहरूको अलग—अलग अनुहार सहितका मूर्तिहरूलाई सुव्यवस्थित रूपमा राखिएको थियो । यसमा पनि दैनिक रूपमा लाखौँ मानिसहरू ढुङ्गा को अवलोकनका लागि पुग्दा रहेछन् । त्यही स्थानमा विशाल जनसमुदायका बीचमा हामी पनि पर्यटन सङ्ग्रहालयका दर्शक भएका थियौँ । उक्त सङ्ग्रहालयमा विश्वका राजनेताहरू तथा प्रधानमन्त्रीहरू समेत त्यसको अवलोकनकर्ता भएका फोटाहरू समेत त्यहाँ राखिएको थियो ।  

मैलै चीनको यसै भ्रमणबाट वास्तवमा सङ्ग्रहालयहरू पर्यटनका दृष्टिकोणले कति महत्त्वपूर्ण हुँदा रहेछन् र हामीले हाम्रा अनुपम सम्पदाहरूलाई कसरी सङ्ग्रहालयको रूपमा निर्माण गर्दै यसलाई पर्यटन उद्योगको अङ्ग बनाउनु पर्दो रहेछ भन्ने थप ज्ञान प्राप्त गरेँ । 

नेपालमा सञ्चालित सङ्ग्रहालयहरू  
हाम्रो देशमा पनि अहिले इतिहास, कला, सङ्गीत, प्रकृति लगायतसँग सम्बन्धित केही सङ्ग्रहालयहरू पर्यटकीय स्थलका रूपमा विकास हुँदै आएका छन् । हाम्रो देशका अधिकांश सङ्ग्रहालयहरू काठमाडौँ उपत्यकामा छन् । केही सङ्ग्रहालयहरू बिस्तारै उपत्यका बाहिर पनि क्रमशः सुस्त गतिमा स्थापना हुन थालेका छन् । हालसम्म काठमाडौँ उपत्यकामा रहेका सङ्ग्रहालयहरूमा हनुमान ढोकामा रहेको नेपालको इतिहास समेटिएको राष्ट्रिय संग्राहलय, त्यसै स्थानमा रहेको महेन्द्र र त्रिभुवन सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय, हात्तीसारमा रहेको बालकला सङ्ग्रहालय, ठमेलमा रहेको युनिभर्सल आर्ट ग्यालरी सङ्ग्रहालय, बौद्धमा रहेका बुद्ध आर्ट ग्यालरी सङ्ग्रहालय, छाउनी नजिक करिब ५०,००० को सङ्ख्यामा रहेको चराचुरुङ्गी संग्राहलय, बौद्धमा २० जना कलाकारहरूबाट सङ्कलन गरिएको आर्ट ग्यालरी सङ्ग्रहालय, छाउनीकै सैनिक सङ्ग्रहालय रहेका छन् । 

त्यसैगरी काठमाडौँमै नेपाली लोक बाजाहरूको सङ्कलन रहेको सङ्ग्रहालय, एयरपोर्टकै नजिक सिनामंगलमा रहेको हवाई सङ्ग्रहालय, दरबार स्क्वायरमा रहेको ग्लोबल नेपाली संग्राहलय, चाँगुमा रहेको चाँगुनारायण सङ्ग्रहालय आदि छन् । त्यस्तै, पाटनमा रहेको पाटनको ऐतिहासिक सङ्ग्रहालय, भक्तपुरमा रहेका संग्राहलयहरूमा ब्रोन्ज एण्ड ब्रास सङ्ग्रहालय, टोनी हेगन सङ्ग्रहालय, काष्ठकला सङ्ग्रहालय आदि रहेका छन् । उपत्यका बाहिरका सङ्ग्रहालयहरूमा सगरमाथाको नाम्चे बजारमा रहेको शेर्पा सङ्ग्रहालय, धनकुटामा रहेको जनजाति क्षेत्रीय सङ्ग्रहालय, चितवनमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालय, पोखरामा रहेको गोर्खा स्मृति सङ्ग्रहालय, अन्नपूर्ण सङ्ग्रहालय, अन्तर्राष्ट्रिय हिमालय सङ्ग्रहालय, लुम्बिनीमा रहेको लुम्बिनी सङ्ग्रहालय, कपिलवस्तुमा रहेको कपिलवस्तु सङ्ग्रहालय, गोरखामा रहेको ऐतिहासिक गोर्खा सङ्ग्रहालय, धनगढीमा रहेको एयर क्राफ्ट सङ्ग्रहालय आदि छन् । नेपालमा रहेका यी सङ्ग्रहालयहरू क्रमशः नेपालको पर्यटन सङ्ग्रहालयका रूपमा विकास हुँदै आएका छन् । तर यी सङ्ग्रहालय विदेशी तथा नेपालका केही अध्येता र विद्यार्थीहरू बाहेक आम जनमानसमा पुग्न सकेका छैनन् । 

संग्राहलय पर्यटन: हामीले ध्यान दिनुपर्ने क्षेत्र 
विश्व मानचित्रमा नेपाल एउटा महत्त्वपूर्ण गन्त्यव्यको रूपमा क्रमशः विकास र चर्चा हुँदै गएको छ । विश्वबाट अहिले पर्यटकहरू एक पटक नेपाल आएपछि पटक—पटक आउने गरेको र पहिलो पटक आउनेले पनि पुनः आउने वाचा गरेको पाइन्छ । नेपालका प्राकृतिक, धार्मिक तथा अन्य विविध पर्यटकीय आयामहरू नेपालको पर्यटनको आकर्षणको रूपमा रहेका छन् । नेपालको पर्यटनको आकाशमा सङ्ग्रहालय पर्यटन पनि ज्यादै महत्त्वपूर्ण क्षेत्र हो । हामीले विगत लामो समयदेखि यस क्षेत्रमा काम सुरु गरे तापनि यसको विविधीकरण र विशिष्टीकरणतर्फ ध्यान दिन सकेका छैनौ ।

अब हामीले सङ्ग्रहालय पर्यटनका लागि के कस्ता विषयहरू समावेश गर्ने र यी विषयवस्तुहरूलाई कसरी व्यवस्थापन र प्रदर्शन गर्ने भन्ने बारेमा नेपालले एउटा गुरुयोजना बनाउन आवश्यक छ । बिना योजना बनाइने सङ्ग्रहालयले धेरै ठाउँमा एकै किसिमका सङ्ग्रहालयहरू दोहोरिने, हामीसँग सङ्ग्रहालय निर्माणका लागि भएका अपार विषयवस्तुतर्फ आवश्यक ध्यान नजाने, बनाएका सङ्ग्रहालयहरूको पनि विशिष्टीकरण नहुने लगायतका समस्याहरू यस क्षेत्रमा आउन सक्दछन् । त्यस कारण हाम्रो देशका सङ्घीय वा प्रादेशिक सरकारहरूले यसको गुरुयोजनाका बारेमा अब छिट्टै ध्यान दिन आवश्यक छ । सङ्ग्रहालय पर्यटन पनि विश्वमा एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेकोले अब नेपालले पनि यस क्षेत्रतर्फ आवश्यक ध्यान दिनुपर्ने बेला आएको छ । 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ९ : ०४ बजे