सिभिल हस्पिटलको लापरबाहीबारे मेडिकल काउन्सिलले छानबिन गर्ने

काठमाडौँ।  नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरबाहीका कारण मृत्युवरण गर्नुभएका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानबिन गर्ने भएको छ । 

श्रमजीवी पत्रकार सङ्घ नेपालसँग बुधवार काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले के कति लापरबाही भएको हो सोको विषयमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

छानबिनका लागि काउन्सिलको टिमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाइ छ । 

टिभी टुडे टेलिभिजनमै कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधवार राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो । पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा पुर्‍याए पनि पैसा नभएका कारण त्यहाँबाट फर्काइएको थियो । 

पत्रकार सङ्घ र सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् । 

सङ्घले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै सिभिल अस्पतालमा धर्ना दिँदै आएको छ ।

सङ्घले सिभिल अस्पतालले आफूखुसी छानबिन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ । 

सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरबाही गर्दा उहाँको मृत्यु भएको सङ्घको भनाइ छ ।

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गर्नुभएको थियो । 

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ । रासस

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : १३ बजे