एमाले लमजुङको पहिलो बैठक घले गाउँमा

लमजुङ । नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो बैठक स्मार्ट भिलेज घले गाउँमा बस्ने भएको छ । 

एमाले लमजुङको पदाधिकारीको बैठकले २८ माघमा क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा पहिलो बैठक बस्ने निर्णय गरेको हो । 

पहिलो बैठकले जिम्मेवारी बाँडफाँट, सचिवालय गठन लगायतको निर्णय गर्ने अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

अहिले जिम्मेवारी बाँडफाँट नभएकाले आफू रहेको भूगोलमा स्थानीय पालिका कमिटीसँग समन्वय गरी पार्टीको काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कोरोना सङ्क्रमण जोखिम रहेकाले उच्च सतर्कता अपनाउँदै नेपाल सरकारले तोकेको मापदण्डमा रहेर पार्टीका काम कारबाही अगाडि बढाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : ०२ बजे