ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

लमजुङ । राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

इँटा लिन जाँदै गरेको ग१त ४४४५ नम्बरको ट्याक्टर बुधवार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ट्याक्टरमामा सवार ३ जना मध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी राइनास नगरपालिका–६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी घर फर्केका छन् ।

इँटा लिन जाँदै गरेको ट्याक्टर अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा छेउमा पुगेको थियो । सडक छेउमा पुग्ने क्रममा सडकबाट लडेर करिब १५–२० मिटर तल सिम्ले खोलामा खसेर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक स्थानीय दीपक परियारलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मीले बताउनुभयो। 

मृतक चिलुवालको शवलाई पोस्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : २३ बजे