दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

निषेधाज्ञाको उल्लङ्घन बढ्दै: सडकमा बसेर भोजभतेर

सर्लाही – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड­१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ । 
 
सङ्क्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ । स्थानीयवासी भने निषेधाज्ञा उल्लङ्घन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् । यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रण भन्दा बाहिर छ । यसतर्फ सरोकारवाला निकायले समेत चिन्ता, वास्ता र चासो देखाएको छैन । 

कविलासी नगरपालिका २ पिपरियामा हालै सडकमै बिहे भोजको आयोजना गरिएको छ । सयौंको सङ्ख्यामा उपस्थित भएर स्थानीय भोज खाने कार्यक्रममा सहभागी भएका छन् । सडकमै भोज गर्ने र भोज चलिरहेकै समयमा अतिआवश्यकीय सवारी साधनहरु सञ्चालनमा समेत समस्या सिर्जना हुने गरेको एक एम्बुलेन्स चालक नागेन्द्र साहले गुनासो गर्नुभयो । गाउँका पसल र हाट बजारमा भीडभाड घटेको छैन  । ‘‘प्रशासनले सामाजिक कार्य गर्र्नै परे १५ जनाभन्दा बढी उपस्थित नहुन निर्देशन दिएको छ, तर यहाँ सयौंको सङ्ख्यामा जम्मा हुने गरेका छन्”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाको पालना गराउन कुनै कसर बाँकी नराखिएको दाबी गर्नुभयो ।  ‘‘जनतामा चेतनाको कमी छ, तैपनि हामीले निषेधाज्ञा पालना गराउन लागिपरेका छौँ, सहरी क्षेत्रमा निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको छ, ग्रामीण भेगमा अलि समस्या छ,’’ उहाँले भन्नुभयो । यसमा स्थानीय तह पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।
 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १ : ४१ बजे