भक्तपुरमा प्रधानमन्त्री देउवाको पुत्ला दहन

​​​​​​​भक्तपुर – नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल महिला सङ्घले आज भक्तपुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

पाँच दलीय गठबन्धनको सरकार बनेसँगै पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामाग्रीको अत्यधिक मूल्य वृद्धि भएको साथै तत्काल स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै भक्तपुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो ।  भक्तपुरको सूर्यविनायक चोकबाट निस्केको र्‍यालीले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको थियो ।

वर्तमान सरकारले आफ्नो पक्षमा जनता नभएको आङ्कलन गरेपछि निर्वाचन कुनै पनि हालतमा नगर्ने रणनीति लिएर संविधान तथा लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेपछि  कोरोना महामारीको समयमा आन्दोलन गर्न बाध्य भएको युवा सङ्घका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज राजु लुबञ्जरले बताउनुभयो । परमादेशबाट बनेको सरकारले एक हप्ताभित्र स्थानीय तहको निर्वाचन नगरे देशभर राष्ट्रिय युवा सङ्घले आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी समेत दिनुभएको छ ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर, मापशे सरकार मुर्दावाद, शेरे तेरो पाराले दुःख पाए साराले, यस पालिको हैजा शेरे तँलाई लैजा, नेकपा एमाले जिन्दाबाद, राष्ट्रिय युवा सङ्घ नेपाल जिन्दाबाद, अनेम सङ्घ जिन्दाबाद लगायतका नाराहरू लगाएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : २९ बजे