ह्योल्मो सोनाम ल्होसार

​​​​​​​ह्योल्मोहरुको बसोबास 
ह्योल्मो आदिवासी जनजातिहरू भूमि पुत्रको रूपमा सदियौँदेखि ह्योल्मो (हेलम्बु, ह्योल्मो शब्दको अपभ्रंश) क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् । ह्योल्मो क्षेत्रले सिन्धुपाल्चोकको उत्तर–पश्चिम भेग, नुवाकोट जिल्लाको माथिल्लो पूर्वी–उत्तरी भेग तथा रसुवा जिल्लाको पूर्वी–दक्षिण भेगको बहुत क्षेत्रलाई ओगटेको छ । यो क्षेत्रमा अझै पनि ह्योल्मो आदिवासी जनजातिहरूको नै बाहुल्यता रहेको छ । यहाँ मात्र नभई ह्योल्मो आदिवासी जनजातिहरू ह्योल्मो क्षेत्र भन्दा बाहिरका जिल्लाहरुः कास्की, लमजुङ, चितवन, गोरखा, इलाम तथा केही मात्रमा अन्य जिल्लाहरूमा पनि बसोबास गर्दै आइरहेको भेट्टिन्छन् भने जीविकोपार्जन र अरू विभिन्न करणले बसाई सराई गरी अन्य जिल्लाहरूमा बसोबास गर्दै आइरहेको पाइन्छ ।

सोनाम ल्होसारको ऐतिहासिक महत्त्व
ल्होसारको शाब्दिक अर्थ हो नयाँ वर्ष । नेपालमा महायान बौद्ध धर्मलम्बीहरुले मनाउने चाडहरू मध्ये ल्होसार एक महत्त्वपूर्ण चाड हो । यो पर्वले धार्मिक, ऐतिहासिक तथा सामाजिक पक्षहरूको आवश्यक जानकारी लिन मद्दत पुग्दछ । सामान्यतया: नेपालमा तमु ल्होसार, सोनाम ल्होसार तथा ग्याल्बु ल्होसार मनाउँदै आएको पाइन्छ । यी ल्होसार पर्वहरू मध्ये सोनाम ल्होसारले आफ्नो छुट्टै महत्त्व बोकेको छ । 

खासगरी ह्योल्मो समुदायका मानिसहरूले शताब्दीऔं अघिदेखि मनाउँदै आएको मुख्य पर्व सोनाम ल्होसार हो । यो पर्व हिमाली जातीको चन्द्रमास पात्रोमा आधारित हुन्छ । ६० वर्षको लुनार चक्रमा आधारित यो पर्वको एक चक्र १२ जनवारहरूले बनेको हुन्छ, जसमा ५ वटा तत्त्व (खम)हरू समेत समावेश हुन्छ र हरेक तत्त्वहरूको अघि स्त्री (म्हो) वा पुरुष (फो)को उपसर्ग दिएको हुन्छ । 

वर्षको गणना: मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बनेल नाममा गरिन्छ जसमा जल, काठ, अग्नि, भूमि र फलाम गरी पाँच तत्त्वहरूको समावेश गरिएको हुन्छ र प्रत्येक १२ वर्षमा यो चक्र दोहोरिन्छ । ६० वर्षमा पर्ने राप्च्युङ उत्सव विशेष धूमधामका साथ मनाइन्छ । सोनाम ल्होसारको प्रारम्भ पहिलो महिनाको पहिलो दिनदेखि आरम्भ हुने भएता पनि यो ल्होसार मनाउन सुरु भनेको अन्तिम महिनाको २९ औँ दिन अर्थात् औंसीको अघिल्लो दिनदेखि हुन्छ । यो वर्ष छ्यु–फो ताग्–ल्हो अर्थात् जल पुरुष बाघ वर्ष पर्दछ ।

यो पर्व माघ महिनाको परेवा देखि पूर्णिमासम्म मनाइन्छ । यस महिनामा हिमपातले गर्दा कृषकहरूलाई काम गर्न पनि सम्भव नहुने र अन्नहरूको समेत भण्डारण गरेर राख्ने उपयुक्त समय भएकाले ल्होसार पर्व मनाउने प्रचलनको सुरुआत भएको पाइन्छ ।  

सोनाम ल्होसारमा गरिने क्रियाकलापहरू
सोनाम ल्होसार माघ महिनाको शुक्ल प्रतिपदाबाट सुरु हुने गर्दछ । अत्यन्तै आनन्द र उल्लास पूर्वक मनाइने ह्योल्मो जनजातिको यो चाड पारिवारिक मिलनको प्रतीक पनि मानिन्छ । देश परदेशमा गएका परिवारका सदस्यहरू पनि ल्होसारमा एकै ठाउँ एकत्रित हुने गर्दछ । सोनाम ल्होसार माघको जाडोमा पर्ने भएको हुँदा प्रायः सबै जसो ह्योल्मोहरु फुर्सदमा नै हुन्छन् । अझ यो समयमा कहिले कहीँ त हिउँले ढपक्क ढाकेर ल्होसारलाई सुनमा सुगन्ध बनाइ दिन्छ । बाहिर बाक्लो हिउँ परेको होस्, भित्र इष्ट मित्रहरू जम्मा भएर खानपिन गर्दै जमेर नाचगान गर्नमा व्यस्त हुन्छन् । वर्ष भरिको सारा दुःख पिर भुलेर एक अर्कामा हाँसो र खुसी बाँडचुँड गर्ने अवसर पनि हो यो सोनाम ल्होसार चाड । 

ल्होसार आउनु भन्दा लगभग ८/१० दिन अगाडिदेखि नै ल्होसारको तयारी गरिन्छ । घर आँगनको सरसफाइ देखि लिएर रक्सी, चिउरा, चामल, पिठो र लुगाफाटाको जोरजामसम्म सबै ल्होसार पूर्व नै तयार पारिन्छ । ल्होसार पूर्वको कृष्ण त्रयोदशीसम्ममा सरसफाइ सबै सिकाइन्छ र चतुर्दशीको दिन चुल्हो वा अगेना माथिको धुवाँ सोहोरेर दोबाटोमा फाल्ने गरिन्छ । र त्यो बेलुका क्हुथुक्पा (नौ थरीको अन्न राखेर बनाइने परिकार, क्वाँटी जस्तै) खाइन्छ । 

ल्होसारमा ह्योल्मो आदिवासी जनजातिले बनाइने विशेष प्रकारको परिकार भनेको बाबर हो । यो बाबर पनि ल्होसार पूर्व नै तयार पारिन्छ । यसलाई बनाउनको लागि चामललाई राम्रोसँग धोएर पानी फाली एक दुई घण्टासम्म सफा डालो वा सफा कपडामा राखिन्छ । हातले माड्दा पनि चामल सजिलै कुड्किने भएपछि ढिकी वा घट्टमा लगेर पिसिन्छ । यो चामलको पिठोलाई ह्योल्मो भाषामा कुदुङ भनिन्छ । बाबर बनाउनु पहिले कुदुङमा पानी राखेर राम्रोसँग मुछ्नु पर्दछ । यसरी मुछ्दा पानी बढी तातो प्रयोग गरे बाबर कुड्किने वा टुक्रिने सम्भावना रहन्छ त्यसैले सकेसम्म मन तातो वा चिसो पानी प्रयोग गर्नुपर्दछ । मुछिसकेको कुदुङमा पातलो बनाउन पानी थप्दै डाडुले चलाउँदै जानुपर्दछ । पातलो बनाए पछि चुल्होमा तताई राखेको तेलमा डाडुले बिस्तारै दूर (पातलो कुदुङ) राखिन्छ । एक दुई मिनेटमा नै गोलाकार बाबर तयार हुन्छ । यसरी तयार पारिएको बाबर सेलाए पछि अलि कडा बन्दछ र सजिलै टुक्रिने तथा फुट्ने क्रम हुँदैन । गोलाकार बाबरलाई थालमा फूल आकारमा सजाइन्छ यसैलाई द्हेर्का भनिन्छ ।औँसीको बेलुकासम्ममा सबै प्रकारका तयारी पुरा गरिन्छ । घर भित्रका सबै सदस्यहरू व्यस्त देखिन्छन् ।

​​​​​​​

प्रतिपदाका दिन बिहान शुभ साइत जुराएर घर आँगनमा द्हार्सिङ (ध्वजा) उठाइन्छ । यसको उचाइ साधरणतया घरको उचाइ अर्थात् धुरीभन्दा अग्लो नै हुनुपर्दछ । यसको पूर्ण रूप दिन आवश्यक थप सामाग्री भनेको द्हाच्र्यो (कपडामा छापिएको बुद्धका बचनहरू), खोर्लो (ध्वजाको शिरमा राखिने चक्रं), स्याम्फुप (गोलाकार चक्रमा राखिने विशेष प्रकारको कपडा) र राल्डी (चक्रमाथि राखिने खड्ग) हुन् । द्हार्सिङ उठाउनु अघि जमिनमा गाडिने एक डेढ फुट छोडेर पनि २÷३ फुटसम्म खाली भाग छोडी द्हाच्र्यो द्हार्सिङमा लगाइन्छ र द्हाच्र्यो भन्दा माथि शिरमा चक्र र चक्रमाथि खड्ग लगाइन्छ । गोलाकार चक्रमा स्याम्फुप लगाइन्छ । यसरी एउटा ध्वजा पूर्ण रूपमा तयार हुन्छ । यो शुभ साइत बिहान ५ बजे देखि लिएर दिउँसो ११÷१२ बजेसम्म जति बेला पनि हुन सक्छ । बिहान ४÷५ बजे देखि उठेर परिवारका कुनै सदस्य पूजाको तिर लाग्छन्, कोही चोखो पानी लिन जान्छन् जसलाई क्ष्युवी भनिन्छ र कोही द्हार्सिङ तयार पार्न तिर लाग्छन् । क्ष्युवी लिन जाँदा धारामा ह्यार्का लगाइ धूप बालेर मात्र चोखो पानी भर्ने गरिन्छ । 

प्रतिपदाको बिहान सबेरैदेखि घर भित्र महिलाहरू खानाको परिकार बनाउन तिर व्यस्त हुन्छन् । बाहिर द्हार्सिङ तयार भए पछि शुभ साइत पारेर उठाइन्छ । द्हार्सिङ उठाइसके पछि घर भित्र पूजा गरेर सेर्किम गरिन्छ । यो पूजा पनि सके पछि स–परिवार जम्मा भएर द्हेर्का (थालमा सजाइएको बाबर र अन्य खाने कुरा) अगाडि राखेर मर्यादित ढङ्गमा आफूभन्दा ठुलाबाट ह्यार्का (टिका) लगाई मेलाम थापिन्छ । द्हेर्का खाई सके पछि द्हर्सिङ क्ष्येपा (ध्वजा पूजा)को लागि टोलका सबै जना जम्मा भएर प्रत्येकको घर दैलोमा पालैपालो द्हर्सिङ क्ष्येपा गरिन्छ । टोल भरिका मानिसहरू द्हर्सिङ क्ष्येपामा सरिक भएर नाच्दै गाउँदै टोल परिक्रमा गरिन्छन् । यो पूजा सूर्यास्त हुनु अगावै सम्पन्न गरिसक्नु पर्ने हुन्छ । प्रतिपदाको पहिलो बेलुका गाउँको प्रमुख लामा वा ज्येष्ठ नागरिकको घरमा मेलाम थाप्न जाने गर्दछ । त्यसपछि प्रत्येक दिन प्रत्येक घरमा पालैपालो जम्मा भएर नाचगान र विभिन्न परिकारहरू खाई रमाइलो गर्ने गरिन्छ, जसलाई कुरिम्बा भनिन्छ । कुरिम्बा खाँदा विशेष गरेर छ्याङ लू गाइन्छ । सबै जना बसेर स्वरमा स्वर मिलाई गाइने यस प्रकारका गीतहरू महिला पुरुष दुवै तर्फकाहरुले पालैपालो गाउने गर्दछन् । यी छ्याङ् लूहरु अति नै भावपूर्ण हुन्छन् । 

साँझ पख यसरी टोलकै रमझममा बिताए पनि बिहान र दिउँसो चाहिँ आफूभन्दा ठुलाहरूका घरमा मेलाम थाप्न (आर्सीवाद लिन) जाने गरिन्छ । यो क्रम: प्रतिपदादेखि पूर्णिमासम्म पनि चल्दछ । ह्योल्मो आदिवासी समुदायको नयाँ वर्ष तथा महान् चाड २१४९औँ छ्यु–फो ताग्–ल्हो ह्योल्मो सोनाम ल्होसार अर्थात् जल पुरुष बाघ वर्षको शुभ अवसरमा सम्पूर्ण ह्योल्मो, देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण आमा–बुवा, शुभचिन्तक, दाजुभाइ तथा दिदी–बहिनीहरूमा प्रेम, सद्भाव, सुख, शान्ति, समृद्धि  सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ५३ बजे