साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

कर्णालीको यात्राले थकित हैन, चकित छन् प्रतीक ! 

कर्णाली पुग्नुअघि कर्णाली सम्बन्धी लेखिएका पुस्तक पढेर एक वर्ष बिताएका रहेछन् । यो कुरा उनले हालै प्रकाशित ‘त्यो उज्यालो कर्णाली’ नामक पुस्तकमा लेखेका छन् । कर्णालीलाई धेरैले पिछडिएको वा पछाडि पारिएको क्षेत्र ठाने पनि लेखक प्रतीक ढकालले भनेका छन्– यो क्षेत्र त हाम्रो लुकेको स्वर्ग हो, साङ्ग्रिला हो, धर्तीमुनिको अभिलेख हो र समृद्धि प्राप्तिका लागि अनन्त सम्भावनाको बीज हो । यो नै नेपालको एक मात्र त्यस्तो क्षेत्र हो जसले सिङ्गै मुलुककै कायापलट गरिदिन सक्छ । 

यति कुरा उनले जमेर लेखेका छन् । सो पुस्तक पढिरहँदा नियात्रा पढेको मात्र छैन, बरु म नै त्यहीँ उल्लेखित स्थानहरूमा पुगेको छु, हेरेको छु, छामेको छु र विचरण गरिरहेको छु भन्ने महसुस हुने गर्छ । प्रतीक ढकालले शब्दहरूको बान्की मिलाएर लेखेकै कारण पाठकहरूलाई आफ्नो किताबबाट दायाँ—बायाँ हुन दिँदैनन् । त्यो नै उनको विशिष्ट गुण, लेखकीय क्षमता र कुशलता नै हो भन्ठान्छु म । हुन त मैले उनलाई व्यक्तिगत रूपमा चिन्दिनँ । उनलाई चिनेकै उनका केही पुस्तकहरू पढेर हो । जति पढेँ, मन छुने खालका छन् भन्दा मलाई कुनै गारो सारो पर्दैन । 

उनी आफैले लेखेका छन् – त्यो उज्यालो कर्णाली पुस्तक कतै यात्रा, कतै जात्रा बनेको हुन सक्छ । साँचिएकै उनले भनेका कुराहरूले कहिले हँसाउँछन् । कहिले रुवाउँछन् । कर्णालीका पीडालाई नजिकबाट अध्ययन गरेका प्रतीकले अपार सम्भावना समेत केलाएर पुस्तकमा विस्तृत बयान गरेका छन् । पुस्तकमा ऐतिहासिकता छ । भौगर्भिक र भूगोलका कुराहरू छन् । शिक्षा, स्वास्थ्यका कुरा प्रशस्त छन् । कृषि, पर्यटन र पुरातात्त्विक कुराहरूको लामो बयान पाइन्छ पढ्न । संस्कृति, सभ्यता, संस्कार र सिर्जनाका कुराहरूले कर्णालीलाई विराट बनाएको कुरा पुस्तकमा उल्लेख छ । 

कर्णालीमा नपुगेका मान्छेहरूलाई उनले भावनात्मक रूपमा पुर्‍याएका छन् । कर्णालीको चिसो पानी, तातोपानी खुवाएका छन् । त्यहाँका मान्छेहरूसँग मितेरी लगाइदिएका छन् । भोक, रोग र शोकसँग जोडिदिएका छन् । लाग्छ, प्रतीक कर्णालीलाई अरू प्रदेश र राजधानीसँग जोड्ने समन्वयकारी व्यक्ति हुन् । प्रतीक लेखक मात्र होइनन्, बरु देखक हुन् । सर्जक मात्र होइन, स्रष्टा हुन् । 

पुस्तकमा प्रतीक कतै अन्वेषक, कतै अध्येयता, कतै पर्यटक, कतै अभियन्ता जस्तो देखिन्छन्, भेटिन्छन् । कर्णालीको सिञ्जामा पुगेर खस भाषाको जननी क्षेत्रको बयान गरेको भेटिन्छन् । कतै पुराना राजाका बारेमा सोधखोज गर्दै हिँडेका हुन्छन् । त्यहाँका धर्म, संस्कृति, रहनसहन, बोलीचाली, भाषा, परम्परा, रीतिरिवाजका कुराहरू एक एक टिपेर पुस्तक तयार पारेका छन् । कतै यो पुस्तक कर्णाली जानेहरूका निम्ति गाइड बुक नै हो कि जस्तो लाग्दै छ मलाई । 

हुन त उनको खास रुचि वा लेखनको विषय हिमाल र हिमाली यात्रा नै हो । जलवायु परिवर्तनका कारण हिमाल कतै नाङ्गो डाँडोमा रूपान्तरण हुने त होइन ? कालापत्थरका रूपमा देखिने त होइन ? हिमालजस्तै हाँस्ने हिमाली क्षेत्रका नागरिकहरूले कालान्तरमा  कुरूप हिमाल हेरेर रुनुपर्ने त होइन ? त्यतिबेला त्यहाँका बासिन्दाहरू के गर्लान् ? के गरी जीवन बिताउलान् ? संसारभरका पर्यटकहरू हिमालको साटो उजाड अर्थात् हिउँबिनाको हिमालय क्षेत्र हेर्न पुग्लान् ? प्रतीकले यही प्रश्न गरिरहेका छन् सबैसँग । 

लामो समय नेपाल सरकारको निजामती सेवामा रहेर निवृत्त भएका उनले बाँकी जीवन लेखेर नै देशको सेवा गर्ने दृढ अठोट बोकेका छन्, सङ्कल्प गरेका छन् । उनको अठोट वा दृढ सङ्कल्पले नेपाली साहित्यमा नयाँ नयाँ आयामहरू थपिने छन् । पुस्तकले ठाउँ ओगट्ने छन् । पाठकहरूलाई उनकै पुस्तकले तराईदेखि हिमालसम्म घरै बसेर पुर्‍याउने छन् । उनीजस्तो दुःख पाउनु पर्ने छैन पाठकले । उनीजस्तो जोखिम मोलेर हिँड्नु पर्ने छैन पाठकले । भोकै, पानीमा रुझ्दै, पसिना चुहाउँदै अनि कसैका मान, अपमान सहेर हिँड्नुपर्ने छैन कहिले पनि पाठकहरूले । 

कतै कवि भएका छन् प्रतीक । कतै इतिहासकार भएका छन् । कतै गायक पनि । देशका ७६ जिल्ला घुमिसकेका उनलाई घुम्नु, डुल्नु र लेख्नु जत्तिको मज्जा अरू के पो होला र ? यो मेरो निजी अनुमान मात्र हो । हुन त अनुमानको भरमा हनुमान उत्रनु राम्रो होइन । 

उनले कर्णाली पुगेर लेखेको कविता हृदयस्पर्शी लाग्यो । उनी लेख्छन् …

अब एउटै कुराको मात्र डर छ
कहीँ तिम्रो मृत्यु
यो देशका लागि उत्सव नबनोस्
र, आर्यघाटमा 
तिम्रो चिता जलिरहँदा 
मुलुकमा कतै दीपावली नहोस् । 

यो कविताले देशको वर्तमान नेतृत्वलाई वाण हानेको छ । कसेर दनक दिएको छ । पुस्तकमा उनले आफ्ना आक्रोशहरू यसरी नै कवितामा पोखेका छन् । 

सायद २०४०/२०४२ तिर उनी पाल्पाको कृषि कार्यालयमा सुब्बा स्तरको जेटी भएर आएका रहेछन् । पाल्पामा जन्मे, हुर्केको म, त्यतिबेला उनीसँग पाल्पामै भेट्न नपाए पनि त्यो उज्यालो कर्णाली पुस्तकमार्फत यतिबेला भेट्न पाएको छु । अक्षरको नातोले यतिबेला यसरी नै भेट्ने अवसर मिलेको छ । 

पुस्तक पढ्दा रसिलो छ । कतै नबुझेर कसिलो छ । सरल शब्द, सरस वाक्य छन्, तर त्यहाँको रैथाने भाषाले बुझ्न हम्मे हम्मे पर्छ । लाग्छ, उनले कर्णाली जानुभन्दा एक वर्ष अघि त्यहाँका बारेमा लेखिएका पुस्तकहरू मज्जाले पढेँ भनेको सत्य रहेछ । नत्र उनका लँगौटी फुस्काइ दिने थियो कर्णालीले । कर्णालीको यात्रा गरेर थकित छैनन् बरु, त्यहाँको वैभव देखेर चकित छन् प्रतीक ढकाल । 

‘करनाली उन्चलको बयान को गन्न सक्छ र ? पुराना पुराना कुडा को उदिन्न सक्छ र ?’

सायद यो गीतले भनेजस्तै कर्णालीको बयान थोरै समय घुमेर, धेरै शब्दले समेत गर्न कठिन छ । त्यहाँको भूगोल, भाषाले भावनामा केही तरङ्ग ल्याउन भने सक्ने छ । त्यो ‘उज्यालो कर्णाली’ पुस्तक कर्णालीको लागि एउटा सुन्दर उपहार हो । आगोको एक झिल्को जस्तै हो । 

उनको लेखन यात्रा निरन्तर यसैगरी अघि बढिरहोस् । शुभेच्छा । 

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : २० बजे