विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विदेशमा रहेका युवाको सहयोगमा एम्बुलेन्स

टीकापुर । रोजगारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । 

धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्य चौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस् भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् । 

धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताउनुभयो । “यो सहयोग रोजगारीका लागि देश बाहिर गएका युवाको गाउँका नागरिकलाई देखाएको माया हो”, उहाँले भन्नुभयो । विभिन्न देशमा रोजगारी गर्दै आएका यहाँका २२ युवाको आर्थिक सहयोगमा रु ११ लाख ७६ हजारमा एम्बुलेन्स खरिद गरिएको हो ।

एम्बुलेन्सको साँचो बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले एम्बुलेन्स सहयोगका  लागि धन्यवाद दिनुभयो । “एम्बुलेन्स टीकापुर नगरपालिकाको सम्पत्तिका रूपमा जोडिएको छ । पैसा भएकाले होइन समाजसेवा र सहयोग गर्ने मन भएकाले मात्र यो गर्न सक्छन्”, उहाँले भन्नुभयो । हाल नगरपालिकाले रेडक्रसमार्फत सुत्केरी र गर्भवतीलाई सेवा दिन एम्बुलेन्स सञ्चालन गरिरहेको छ । 

टीकापुरमा हाल योसहित आठ एम्बुलेन्स सञ्चालनमा छन् । नगरपालिकाले हरेक वडामा एउटा एम्बुलेन्स सञ्चालन गर्ने योजनाअनुरूप काम गरिरहेको छ ।  रासस

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : २८ बजे