प्रधानमन्त्रीको शपथविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ ।

बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै दायर गरेका रिटको पेशी प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा तोक्नुभएको हो ।

प्रधानमन्त्रीले वैशाख ३१ गते सपथग्रहण गर्ने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएको र त्यो पर्दैन भनेको विषय संविधानको वर्खिलाप रहेको भन्दै शपथ  बदर गर्न सर्वोच्च अदालतमा विभिन्न सात वटा रिट परेका छन् ।

त्यस्तै सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादी मन्त्रीहरुलाई दोस्रो पटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दावीसहित परेका रिटमाथि पनि प्रधानन्यायाधीश जबराकै इजलासमा सुनुवाई हुँदैछ । 

सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १० : ५९ बजे