प्रधानमन्त्री तथा मन्त्रीहरुद्वारा नै सम्पत्ति विवरण बुझाउन आनाकानी

काठमाडौँ । गठबन्धन सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन आनाकानी गर्दै आएका छन् ।

वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा तथा विभिन्न मन्त्रालयका मन्त्रीहरूले पदमा नियुक्त भएको ६० दिन बितिसक्दा समेत सम्पत्ति विवरण बुझाउन आनाकानी गर्दै आएका हुन् । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्त भएको ६० दिनभित्र तथा हरेक आर्थिक वर्ष सकिएको दुई महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउनुपर्ने प्रावधान छ ।

यसअघिका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर अहिलेको गठबन्धन सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूद्वारा नै सार्वजनिक पद धारण गरेको पाँच महिना बित्दा समेत आफ्नो सम्पत्ति विवरण गोप्य राख्ने प्रयास जारी राखेका छन् ।

विगतमा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमार्फत सबैको सम्पत्ति विवरण सार्वजनिक गर्दै आएको थियो । तर वर्तमान सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त गरेको बताए पनि हालसम्म कसैको पनि सम्पत्ति विवरण सार्वजनिक भने गरेको छैन ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ४० बजे