बागमती प्रदेशको संसदीय समिति सभापतिमा एमालेका तर्फबाट मात्रै उम्मेदवारी 

मकवानपुर । बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

उहाँहरू दुवै जना एमालेका तर्फबाट उम्मेदवार हुनुभएको हो भने दुवै जना काठमाडौँबाटै निर्वाचित हुनुहुन्छ ।

सचिवालयका अनुसार दुवै समितिको आज हुने निर्वाचनमा सत्ता गठबन्धनबाट भने उम्मेदवारी दर्ता भएको छैन । 

आइतबार अपराह्न ५ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । 

वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एक जना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एक जना सभापति चयन गरिने जनाइएको छ । 

अर्थ तथा विकास समितिमा २० र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना मतदाता हुनुहुन्छ । यी दुवै समितिमा एमालेका १२–१२ जना सदस्य रहनुभएको छ । 

अर्थ तथा विकास समितिका सदस्यहरू सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहेका कारण उहाँहरू निर्वाचनमा सहभागी हुनहुने छैनन् । 

अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएसँगै उक्त पद रिक्त थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ ।

प्रदेशसभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन आज मध्याह्न १२ः०० बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन आज दिनको २ः०० बजेका लागि तय गरिएको प्रदेशसभाका सह प्रवक्ता उमेशराज सोतीले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ३१ बजे