कालोपत्र सडक ‘भाइरल’

दमौली । ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ । सडकको बीच भागमा रहेको रुखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ ।

सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ । सडककै कारण यतिबेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयवासीसमेत रहनुभएका  व्यास–११ का वडाध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिनुभयो । 

“शनिबार मात्र तनहुँसुरमा दुई हजारभन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै चर्चामा आउन थाल्यो”, उहाँले भन्नुभयो । 

तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । उक्त मोटरमार्गको ५।६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो । अब ऐतिहासिक तनहँुसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ । हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ ।

कूल रु १० करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो । उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो ।

कालोपत्र सडकमार्फत अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ । उक्त सडकको योजना छनोटका लागि तनहुँ क्षेत्र नं १ का तत्कालीन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ । रासस

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ४५ बजे