जिप्रका काभ्रेको माघ २१ सम्म सेवा स्थगन

बनेपा । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ ।  प्रशासनले  आज यहाँ सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ । 

यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो । 

यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ । पालिकाले सूचना जारी गर्दै वडा नं १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतबार, सोमबार र मङ्गलबार समय तोकिएको छ भने वडा नं ७ दखि १२ सम्मकालाई बुधबार, बिहीबार र शुक्रबार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले जानकारी दिनुभयो । सो पालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधबारदेखि शुक्रबारसम्म सेवा स्थगन गरेको थियो । रासस

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : २९ बजे